वि.सं.२०८३ भदौ २८ आइतवार
Dish Home Long Ad
कैलाली–लखिमपुर खिरी नेपाल–भारत सीमा क्षेत्रमा सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

कैलाली । ‎नेपाल–भारत सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कैलाली–लखिमपुर खिरी सीमा क्षेत्रमा सीमा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौती, अवैध गतिविधि नियन्त्रण तथा दुई देशका सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

‎भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लामा भाद्र ५ गते शुक्रबार भारतीय सशस्त्र सीमा बल (SSB) नं ३ बटालियनको आयोजनामा भएको बैठकमा SSB नं ३ बटालियनका कमान्डेन्ट प्रमोद देवरानीको नेतृत्वमा भारतीय पक्ष तथा नेपाल पक्ष जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द र सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी लगायत नेपाल–भारततर्फका प्रतिनिधिको सहभागिता रहेको थियो।

‎बैठकमा लागूऔषधको तस्करी नियन्त्रण, आवश्यक सुरक्षा सूचना आदान–प्रदान, मलखादको अवैध ओसारपसार नियन्त्रण, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश तथा घुसपैठ रोकथाम लगायतका विषयमा छलफल भएको थियो। साथै, सीमा स्तम्भहरूको नियमित अनुगमन तथा अतिक्रमण भएका स्थानमा दशगजा क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि दुवै पक्षबीच समन्वय तथा सहकार्य बढाउने निर्णय भएको छ।

‎समग्रमा, बैठकले सीमा अपराध नियन्त्रणसँगै दुई देशका स्थानीय सुरक्षा निकायबीच निरन्तर समन्वय, सूचना साझेदारी र संयुक्त प्रयासलाई प्राथमिकता दिँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा तथा व्यवस्थित आवागमन कायम गर्ने आधार थप बलियो बनाएको देखिन्छ।

सम्बन्धित खवर