वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
प्रम ओलीलाई भारत भ्रमणको औपचारिक निम्तिो, चीनको दुई पटक भ्रमणपछि भारतको पालो
Prabhu Bank AD

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री ओलीलाई औपचारिक रुपमा भारत भ्रमणको निम्तो दिएका छन् । भ्रमण तीन दिनको हुन सक्ने स्रोतले जानकारी दिएको छ । भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक घोषणा गर्ने सहमति गरेका छन् ।

बिहान ९ बजे भारतीय वायुसेवाको विशेष विमान ‘आईएफसी ३१ मार्फत काठमाडौं आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव मेहेन्द्र राजभण्डारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए ।

विमानस्थलबाट सिधै बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेका उनले सवा ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।

परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सामान्यतः भारतीय प्रधानमन्त्रीले उच्चस्तरीय औपचारिक भेटवार्ता दिल्लीको हैदरावाद हाउसमा गर्ने परम्परा भए पनि यसपालि ओली–मोदी भेट बिहारको बोधगयामा हुने तय भएको छ ।

बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन (१७ सेप्टेम्बर) भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।
ओली ३० असार २०८१ मा प्रधानमन्त्री नियुक्त भएयता नै भारत भ्रमणका लागि प्रयास भइरहेको थियो । तर, भारतीय पक्षबाट निम्तो आएको थिएन । यद्यपि, दुईपटक विदेशमा ओली–मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई समेत नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ओलीसँग भेट गरेपछि विदेशसचिव मिश्री लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । त्यहाँबाट उनी १ः४५ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगे । भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले निकट छिमेकीका रुपमा भारतका प्रगतिबाट नेपालले समेत लाभ हासिल गरेको बताए ।
स्रोतका अनुसार, ‘नेपाल अझ बढी लाभान्वित हुन चाहन्छ, एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ,’ पौडेलले भने, ‘नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’को नेपाल सराहना गर्दछ ।’

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रही आएको भन्दै दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको समेत बताएका छन् ।

राष्ट्रपति कार्यालयबाट सिधै बुढानीलकण्ठ पुगेर मिश्रीले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे । भेटवार्ताको तस्वीर सार्वजनिक गर्दै देउवाले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताएका छन् ।

‘हाम्रो छलफल आपसी विश्वास, सद्भाव र क्षेत्रीय समृद्धि तथा स्थायित्वप्रति आकांक्षमा आधारित नजिकका र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन केन्द्रित रह्यो,’ उनले भनेका छन् ।

देउवालाई भेटेर भारतीय विदेशसचिव नेतृत्वको प्रतिनिधि मण्डल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेको थियो । करिब आधा घन्टासम्म चलेको भेटमा प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमण पहिल्यै हुुनुपर्ने बताएको उनको सचिवालयले जनाएको छ ।
‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता दिन आउनु भएकामा भारतीय विदेशसचिवलाई धन्यवाद दिनुभयो,’ स्वकीय सचिव गंगा दाहालले प्रचण्डको भनाइ उदृत गर्दै भनिन्, ‘म प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा गरेका राम्रो कामको निरन्तरता, त्यसको सकरात्मक प्रगति होस् र दुई देशबीचको सम्बन्धमा नयाँ कुराहरू होस् ।’

प्रचण्डसँग भेटवार्ता सकेर मिश्री अपराह्न ४ बजे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगे । मन्त्रालयमा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता भयो ।
त्यसक्रममा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्व दिँदै आएको बताउँदै एक महत्त्वपूर्ण विकास साझेदारका रुपमा गरेको सहयोगप्रति धन्यवाद दिए । भेटका क्रममा उनले पछिल्लो समय दुई देशबीच भएका द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इङ्गेजमेन्ट’प्रति खुशी व्यक्त गरिन् ।

राणाले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका माध्यमबाट पारस्परिक लाभ पुग्ने बताइन् ।

‘रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्छ,’ उनले भनिन्, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउनुपर्छ ।’

राणाले नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा समेत जोड दिइन् । यस भेटका क्रममा मन्त्री राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिएको उनका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

‘पछिल्लो समयमा प्लाइउड, स्टिल लगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरू र बिआइएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि उहाँले कुरा उठाउनुभयो,’ पाठकले भने ।

मन्त्री राणाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ लाभ पुग्न सक्ने भन्दै आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा सहकार्य गर्ने कुरामा जोड दिइन् ।

भारतीय विदेशसचिवले मिश्रीले पनि उच्चस्तरीय भ्रमणबाट आधुनिक युगमा दुवै देशबीचको प्रगति एवं विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने बताएका थिए ।

परराष्ट्रमन्त्री राणासँग भेटपछि मिश्री होटल द्वारिकाज पुगेका थिए । होटलमा केही समय बसेर पौने ६ बजे उनी समकक्षी अमृतबहादुर राईले आयोजना गरेको रात्रि भोजमा सहभागी हुन सोल्टी होटल पुगे । त्यहीँ राईसँग उनको दुईपक्षीय भेटवार्ता भयो ।

भेटका क्रममा प्रधानमन्त्रीको भ्रमणका विषयमा उठ्न सक्ने एजेण्डाहरूबारे सामान्य छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
मिश्रीको भ्रमण टोलीमा भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनका अतिरिक्त सचिव मुन्नु महावर, प्रधानमन्त्री कार्यालयमा कार्यरत् कुटनीतिज्ञ प्रियंका सोहनी, नर्थन डिभिजनका डेपुटी सेक्रेटरी तुषारांशु शर्मालगायत १२ जना रहेका छन् । अतिरिक्त सचिव मुन्नु ६ महिनाअघि पनि काठमाडौं आएका थिए । डेपुटी सेक्रेटरी शर्मा नेपाल, भूटान लगायतका छिमेकी मुलुक हेर्ने जिम्मेवारीमा छन् ।

जानकारहरूका भनाइमा एक वर्षसम्म प्राप्त हुननसकेको भारत भ्रमणको निम्तो यसपटक प्राप्त हुनुमा एक, मोदीको ‘वैदेशिक नीति असफल भएको’ भाष्य चिर्ने प्रयास । दुई, पछिल्लो भारत–पाकिस्तान युद्ध र बदलिएको क्षेत्रीय भूराजनीति । र तीन, विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा ओलीसँग भेट भइरहँदा मोदीले बेहोर्नु परेको अप्ठेरो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रम केपी ओलीका लागि चीनमै भारतीय समकक्षी र चिनियाँ राष्ट्रपति दुवैलाई भेट्ने दुर्लभ संयोग जुरेकोले एससीओको सम्मेलनमा आफै जान लागेका छन् । उक्त सम्मेलनमा रसियासहित अन्य २० भन्दा धेरै देशका राष्ट्र र सरकार प्रमुख सामेल हुँदैछन् । र, पाकिस्तानका प्रधानमन्त्रीसँग पनि साइडलाइन वार्ता तय भएको छ ।

ओलीका लागि दुई ठूला छिमेकीको नेतृत्वलाई एकै मञ्चमा भेट्ने अवसर एसीओ सम्मेलनले जुराउँदैछ । उक्त सम्मेलनमा भाग लिएर भदौ सेप्टेम्बर ३ मा फर्किएपछि मात्रै ओली भारत जाने छन् । त्यही सम्मेलनमा ओलीले मोदीसँग साइडलाइन वार्ता गर्ने अवसर पाउनेछन् । भ्रमणका मुख्य एजेन्डा दुई नेताले त्यहाँ पनि तय गर्न सक्ने स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री भएयताको १४ महिानामा ओलीले भारतको औपचारिक भ्रमण गर्न पाएका छैनन् । यसअघि परम्परागत रुपमा नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण भारतबाट गर्थे । तर यो परम्परा पूर्व प्रधानमन्त्रीहरु टंकप्रसाद आचार्य, कीर्तिनिधि विष्ट, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनालसँगै हालका प्रम ओलीले पनि तोडिसकेका छन् । ओलीले अमेरिका र चीनपछि मात्र भारतको भ्रमण गर्ने भएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि र गत डिसेम्बर (२–४) मा चीन भ्रमणको क्रममा बिआरआई परियोजनामा सम्झौता गरेपछि प्रम ओलीसँग चिढिएको भारत नक्सा विवाद दुई देशबिचको सीमा व्यवस्थापन समितिले टुंगो लगाउने तर भ्रमणको क्रममा राजनीतिक तहमा नउठाउने सहमति भएपछि नै भ्रमण तय भएको स्रोतको दावी छ ।

भारतीय विदेश सचिव मिश्रीले आज विहान दश बजे नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देललाई आर्मी हेडक्वार्टरमा भेटेर सुरक्षासम्बन्धी सरसामानहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । भारतसँग ६० प्रतिशत अनुदानमा किनिएका हातहतियारको नेपालले भारतलाई तिर्नुपर्ने ४ अर्ब २७ लाख ऋण रहेको छ । त्यो ऋणलाई पूर्ण अनुदानमा परिणत गराउन नेपाली पक्षले लविइङ गरिरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय