वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
नेपालमा ३४ हजार एचआईभी संक्रमित
Prabhu Bank AD

 

 

प्रज्ञा तिम्सिना

काठमाडौ । सन् १९८१ मा अमेरिकाका इम्युनोलोजिस्ट डा माइकल गटलिब र उनको टोलीले रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर अनौठो स्वास्थ्य समस्या भएका ५ जना बिरामी भेटे। डा माइकलको टोलीले अध्ययन गर्दा लस एन्जलसका उनीहरूमा दुर्लभ प्रकारको निमोनिया ९निमोसिस्टिस कारिनी निमोनिया० देखिएको पाइयो। यस्तो निमोनिया सामान्यतया कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई मात्र लाग्छ। उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढाउने कोषहरू नै कम रहेको पाइयो।

अध्ययनका क्रममा उनीहरूमा दुर्लभ किसिमको क्यान्सर समेत देखियो। डा माइकलले यस्तो स्वास्थ्य समस्या कुनै सामान्य रोगका कारण नभई एउटा नयाँ प्रकारको भाइरसका कारण भएको पत्ता लगाए। माइकलले आफूले गरेको अध्ययन सन् १९८१ मा अमेरिकाको सेन्टर फर डिजिज कन्टेल एन्ड प्रिभेन्सन ९सीडीसी० मा प्रकाशित गरे। यसलाई एड्स सम्बन्धी पहिलो वैज्ञानिक रिपोर्ट मानिन्छ। यस रिपोर्टपछि एड्स संसारभरका वैज्ञानिक, स्वास्थ्यकर्मीको चासोको विषय बनेको थियो।

उनको अध्ययनले चिकित्सा क्षेत्रलाई नयाँ स्वास्थ्य संकटबारे जानकारी दियो। जसले एचआईभी÷एड्स रोगबारे अनुसन्धानको थालनी गर्न र उपचार विधि विकास गर्न सहयोग पुर्‍यायो। प्रारम्भमा यसलाई ‘समलैंगिक सम्बन्धी रोग’ भनिएको थियो। किनभने यो मुख्यतः समलिंगी पुरुषहरूमा देखिएको थियो। संक्रमण समलिंगी पुरुष बाहेक अन्यमा पनि देखिएपछि मात्र सन् १९८२ मा सीडीसीले एड्स ९एक्वायर्ड इम्युनोडेफिसियन्सी सिन्ड्रोम० भनेर नाम दियो।

सन् १९८३ मा फ्रान्सका वैज्ञानिक ल्युक मोन्तानियर र सन् १९८४ मा अमेरिकी वैज्ञानिक रबर्ट गालोले एड्सको रोग एउटा नयाँ भाइरस एचआईभी ९ह्युमन इम्युनोडिफिसियन्सी भाइरस० का कारण लाग्ने पत्ता लगाए।

एचआईभीको उत्पत्ति पश्चिम मध्य अफ्रिकामा भएको र यो सम्भवतः २० औँ शताब्दीको सुरूवाततिर चिम्पान्जीको शरीरबाट मानिसमा सरेको भनेर विभिन्न अध्ययनहरूमा उल्लेख छ।

पश्चिमी अफ्रिकामा सन् १९०० दशकको सुरुमा चिम्पान्जीको मासु ९बुसमिट० का लागि सिकार गर्ने गरिन्थ्यो। सिकार गर्ने, मासु काट्ने वा पकाउने क्रममा चिम्पान्जीको रगत वा शरीरका तरल पदार्थ मानिसको शरीरमा प्रवेश गर्दा एचआइभी संक्रमण सरेको हुन सक्ने वैज्ञानिक दाबी छ।

एड्सको स्रोत उत्पत्ति कंगोको बेसिन क्षेत्रमा पत्ता लागेको थियो। जहाँ सिमियन इम्युनोडेफिसेन्सी भाइरस ९एसआईभी० हुने प्रजातिका चिम्पान्जीहरू पाइन्छन्। त्यहाँबाट मानिस र चिम्पान्जीबीचको प्रत्यक्ष सम्पर्कले एचआईभी संक्रमण सुरु भएको वैज्ञानिकहरूको ठहर छ। वैज्ञानिकहरूका अनुसार यो भाइरस चिम्पान्जीमा उत्परिवर्तन भएर मानिसमा सरिसकेपछि एचआईभी ९ह्युमन इम्युनोडेफिसेन्सी भाइरस० बनेको हो। भाइरस मानिसको शरीरमा पुगेपछि, यौन सम्पर्क, संक्रमित रगतको प्रयोग र संक्रमित आमाबाट बच्चामा सजिलै सर्न थाल्यो। जसले गर्दा एचआइभी एड्स विश्वव्यापी रूपमा फैलियो।

सन् १९८० देखि १९९० को बीचमा एचआईभी एड्सका कारण लाखौँ मानिसको मृत्यु भयो। त्यसैले त्यसबखत यो रोग समाजमा कलंक र डरको विषय बन्यो। सन् २००० मा संयुक्त राष्ट्रसंघले एड्सलाई मानवताको प्रमुख चुनौती मान्दै विभिन्न कार्यक्रम सुरु गर्‍यो।

विश्व स्वास्थ्य संगठनले डिसेम्बर १ का दिन सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थाल्यो। विश्वभरका मानिसहरूलाई एचआईभी र एड्सको बारेमा जनचेतना फैलाउन, संक्रमित व्यक्तिहरूका अधिकार रक्षा गर्न र एचआईभी रोकथाम र उपचारको महत्त्व बुझाउनका लागि यो मनाउँदै आइएको हो।

अफ्रिका महादेशमा एचआईभी÷एड्सको संक्रमण सबैभन्दा बढी देखिएको थियो। विश्वभरका सबै संक्रमितहरूको ७० प्रतिशतभन्दा बढी संक्रमित अफ्रिकामा छन्। विशेषगरी महिला र किशोरकिशोरी यसबाट बढी प्रभावित छन्। यस्तै अमेरिका, युरोप, एसिया महादेशमा पनि एचआईभी फैलिएको छ। सन् २०१० देखि भने रोगबारे बढ्दै गएको जनचेतना, परीक्षणदर र औषधिका कारण संक्रमितको संख्या कम हुँदै गएको छ।

सन् २०१० मा बनेको प्रि–एक्सपोजर प्रोफिलेक्सिस नामक एचआईभी संक्रमणको सम्भावना कम गर्ने औषधिको प्रयोगले पनि संक्रमण रोक्न सहयोग गरेको थियो। एचआईभी नभएका तर यौन सम्पर्क वा सुइको औषधि प्रयोगबाट एचआईभीको सम्पर्कमा आउने उच्च जोखिममा रहेका मानिसहरूमा पनि यो औषधि प्रयोग गरियो। सन् २०२० सम्ममा एचआईभी संक्रमणको दर कम गर्न र मृत्यु घटाउन ठूला सफलता प्राप्त भएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा २३ प्रतिशत एचआईभी संक्रमित उपचारको दायराबाहिर रहेको जनाएको छ। केन्द्रले गत वर्ष सन् २०२४ मा ५६९ जना एड्सका कारण मृत्यु भन्दै बिरामी उपचारको दायरामा नआउँदा एचआईभी संक्रमणको जोखिम कम गराउन समस्या रहेको जनाएको छ।

केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण भएको अनुमानित तथ्यांक छ। जसमध्ये २६ हजार ३७२ संक्रमितहरूले एन्टिरेट्रोभाइरल एआरभी उपचार लिइरहेका छन। जुन कुल संक्रमितको ७७ प्रतिशत हो। ६४ जिल्लाका एआरटी केन्द्रमा निःशुल्क रूपमा उपचार सेवा दिँदै आएको डा शर्माले बताए। चिकित्सकका अनुसार एचआईभी एक संक्रमण हो। एड्स यस संक्रमणको अन्तिम चरण हो।

एचआईभी वा एड्सको प्रारम्भिक चरणमा देखिने लक्षण भनेको २ देखि ४ हप्तासम्म लगातार ज्वरो आउने, टाउको दुख्ने, थकान महसुस हुने, शरीरका जोर्नी दुख्ने, शरीरका गाँठागुठी सुन्निने हुन्छ। दोस्रो चरणमा भने स्पष्ट लक्षणहरू देखिँदैन। तर, संक्रमण भने बढ्दै जान्छ र पहिचान हुन सकेन भने रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउँदै लैजान्छ। यो अवस्था वर्षौंसम्म पनि रहन सक्छ।

एचआईभी संक्रमित व्यक्तिका रोगको लक्षणलाई व्यवस्थापन नगर्ने हो भने यसले एड्सको रूप लिँदै जान्छ। तेस्रो चरणमा गम्भीर लक्षणहरू देखिन्छ। बिरामीको रोग प्रतिरोधात्मक शक्ति निकै कम हुँदै गई बारम्बार ज्वरो आउने, शरीरबाट अत्यधिक पसिना आउने, तौल कम हुँदै जाने, पखाला लाग्ने, श्वास फेर्न गाहो हुने र क्यान्सर समेत हुने हुन्छ। अन्तिममा बिरामीको मृत्यु हुन्छ।

तर, एचआईभीको समयमा नै परीक्षण गरेर एआरटी औषधिको सेवनले रगतमा भाइरसको लोडलाई न्यूनतम स्तरमा झार्न सकिन्छ। जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र एड्स हुने सम्भावना कम गराउन सकिन्छ। चिकित्सा विज्ञानले एचआईभी भाइरसलाई पूर्ण रूपमा निको बनाउने उपचार पत्ता लगाउन सकेको छैन। यद्यपि, नियमति औषधि सेवन गर्ने हो भने एचआईभी संक्रमित व्यक्ति लामो र गुणस्तरीय जीवन बाँच्न सक्छन्।

एचआईभी एड्स बिरामीको सम्र्पकमा जाँदा वा सँगै बस्दा, खाँदा, खेल्दा भने सर्दैन। रगतको माध्यमबाट सर्ने हुँदा सुई वा सिरिन्जको जथाभावी प्रयोग नगर्ने, इन्जेक्सनबाट ड्रग्स प्रयोग नगर्ने, सुई र सिरिजको प्रयोग नगर्ने, असुरक्षित यौन सम्पर्क नगर्ने, एचआईभी संक्रमित महिला गर्भवती भए चिकित्सक सल्लाहमा मात्र बच्चा जन्माउने गर्दा एचआईभी एड्सबाट बच्न सकिन्छ।

एचआईभी भाइरसका कारण बिरामीको रोग प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जाने कारण उनीहरूलाई अन्य रोगहरूले सजिलै लाग्ने गरेको छ। एचआईभी भएका व्यक्तिलाई क्षयरोग लाग्ने सम्भावना निकै बढी हुन्छ। धेरै बिरामीको क्षयरोगका कारण नै मृत्यु हुने गरेको छ। यस्तै विभिन्न ब्याक्टेरियल, भाइरल संक्रमण फोक्सोको संक्रमण, निमोनिया, मस्तिष्कको झिल्लीमा हुने संक्रमण र क्यान्सरको पनि उच्च जोखिम हुन्छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर