काठमाडौँ । एउटा कार्यक्रमका लागि सेवा बन्द गरिँदा आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका सयौं बिरामी उपचारबाट वञ्चित भए । राष्ट्रपति भण्डारीले भने शिक्षण अस्पतालबाट करिब ५ किलोमिटर दूरीको प्रज्ञा प्रतिष्ठानमा आईओएमको कामको प्रशंसा गरिन् । समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, ‘आईओएमबाट उत्पादित जनशक्तिले दूरदराजमा सेवा पुर्याएकामा प्रशंसा गर्दछु ।’ निर्धारित साढे १२ बजेअघि नै अस्पतालका चिकित्सक, नर्स, कर्मचारीलगायत आगन्तुकले समारोह हल भरिभराउ थियो ।
उता अस्पताल आइपुगेका बिरामी सेवा बन्द भएर घर फर्कंदै थिए । करिब एक घण्टा ढिला गरी कार्यक्रममा आइपुगेकी राष्ट्रपति डेढ घण्टा बसेर फर्केकी थिइन् ।
उनी सहभागी हुने आईओएमको ५० औं वार्षिकोत्सव कार्यक्रमका लागि ओपीडीलगायत शिक्षण अस्पतालका सेवा बन्द गरिएको थियो । उक्त समारोहमा आईओएमका चिकित्सक, प्राध्यापक, कर्मचारी सहभागी थिए । अस्पतालमा आकस्मिकबाहेकका ओपीडीलगायत सेवा बन्द गरिँदा बिरामी उपचारबाट वञ्चित भए । ओपीडीमा दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा पाउँदै आएका थिए । आईओएमकी डिन दिव्या सिंह शाहले राष्ट्रपति आउने कार्यक्रमका लागि आइतबारको सम्पूर्ण सेवा बन्द गरी समारोहमा सहभागी हुन निर्देशन दिएकी थिइन् । तर उनको निर्देशनको विरोधपछि बिहानी सिफ्टको सेवा चालु राखेर दिउँसोको मात्रै बन्द गरिएको हो ।

दिवा सेवा शुक्रबार र सार्वजनिक बिदामा पनि बन्द हुन्छ । गत शुक्रबार बिहानी सेवा र शनिबार पनि पूर्णरूपमा सेवा बन्द रहेकाले आइतबार दिउँसो उपचारमा आएका बिरामी थप मर्कामा परेका हुन् ।
अस्पतालका नाक, कान तथा घाँटी रोगका विशेषज्ञ प्रा।डा।ढुण्डी पौडेलले कार्यक्रमको नाममा कुनै पनि हालतमा स्वास्थ्य संस्था बन्द गर्न नहुने बताए । ‘सेवासहितको वार्षिकोत्सव कार्यक्रम मनाउन सकिन्थ्यो । अहिले गरेको बन्द नजिर नबनोस्,’ उनले भने, ‘बन्दले अपरेसन गर्नुपर्ने र नयाँ बिरामीहरू बढी मर्कामा परेका छन् ।’ वार्षिक क्यालेन्डरमा बिदा दिनेबारेमा समावेश नभएको र तत्काल गर्दा टाढाबाट आएका बिरामी बढी मर्कामा परेको उनले सुनाए । ‘हालसालै स्वास्थ्यकर्मीमाथि हातपात भएमा ३ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था भएर आएको छ,’ उनले भने, ‘उपचार नपाएका बिरामीको भने कसले जिम्मेवारी लिने रु’ उनले बिरामीलाई मर्का नपर्ने गरी वैकल्पिक व्यवस्था गर्नुपर्ने औंल्याए । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा।भगवान कोइरालाले पनि अस्पतालको सेवा बन्द गरेर कार्यक्रम गर्न नमिल्ने बताएका छन् । ‘पूर्वनिर्धारित कार्यतालिका भएको भए बिरामीलाई अग्रिम जानकारी दिन सकिन्थ्यो,’ उनले भने, ‘तत्काल बन्द गर्ने निर्णयले बिरामी प्रत्यक्ष मारमा परेका छन् ।’ उनका अनुसार ओपीडी बन्द भएसँगै त्यसको प्रत्यक्ष असर आकस्मिक कक्ष ९इमर्जेन्सी० मा पनि परेको छ । ओपीडीबाट हुने सामान्य उपचार सेवासमेत दिनुपर्दा इमर्जेन्सी कक्षमा भीड लागेको छ ।
त्रिवि शिक्षण अस्पतालका सहायक निर्देशक डा।सन्तकुमार दासले दिवा सत्रमा बिरामी थोरै आउने भएकाले मर्का नपरेको दाबी गरे । ‘५० औं वार्षिकोत्सव मनाउन अर्को ५० वर्ष कुर्नॅपर्छ,’ उनले भने, ‘दिवा सेवाका लागि आएका बिरामीको उपचार आकस्मिक कक्षमा पनि भएको छ ।’ सेवा बन्द हुँदा सबभन्दा बढी मर्कामा गर्भवती महिला पर्ने स्त्रीरोग विशेषज्ञ डा।लता वज्राचार्यले बताइन् । ‘ओपीडी बन्द हुँदा रगत बग्ने, बच्चा पाउन लागेका, योनिबाट पानी बगेका बिरामी मर्कामा पर्छन्,’ उनले भनिन्, ‘बच्चा चलेको, बच्चा बस्ने जाली फुटेका, पाठेघर वरिपरि संक्रमण भएका, रिंगटा लागेका बिरामी पनि मर्कामा परेका छन् ।’ शिक्षण अस्पतालसहित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, गणेशमान सिंह नाक, कान तथा घाँटी अध्ययन प्रतिष्ठान, बीपी कोइराला लायन्स सेन्टर नेत्र अध्ययन, सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टर, आयुर्वेद टिचिङ अस्पतालको सेवा पनि बन्द थियो । सन् १९७२ मा चिकित्सा शिक्षाको प्रमाणपत्र तह पठनपाठन गराउने उद्देश्यले ३ सय शय्याको अस्पतालसहित आईओएमको स्थापना भएको थियो । १९७६ देखि स्नातक नर्सिङको पढाइ थालेको आईओएममा हाल चिकित्सा शिक्षाका ४४ विधासहित विद्यावारिधि तहसम्मको अध्ययनरअध्यापन हुन्छ । आईओएमअन्तर्गत ७ वटा आंगिक क्याम्पस र १५ सम्बन्धनप्राप्त निजी मेडिकल कलेज सञ्चालनमा छन् । हालसम्म २४ हजारभन्दा बढी डाक्टर, नर्ससहित चिकित्सा क्षेत्रका जनशक्ति तयार पारिएको डिन शाहले बताइन् । बल्खुमा त्रिविले उपलब्ध गराएको ३ सय रोपनी क्षेत्रमा अतिविशिष्टकृत सेवासहित शिक्षण अस्पताल विस्तारको गुरुयोजना तयार भएको छ ।

