वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भारतको सिक्किममा पनि १० नेपालीको मृत्यु भएको आशंका
Prabhu Bank AD

विराटनगर । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ ।

इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् ।
‘टिष्टामा आएको बाढीपछि उहाँहरु आफन्तसँग सम्पर्कविहीन हुनु भएको छ । सरकारबाट तदारुकताका साथ खोजी आवश्यक भयो,’ फियाकले भने ।

बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सेन बहादुर कार्की ‘सानु’, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए ।

‘दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको छ । उता सम्पर्क स्थापित भएको छैन । सिक्किमका मिडियामा हामीले खबर गरेका छौँ,’ पोखरेलले भने, ‘प्रहरीसँग सम्पर्क हुने अवस्था पनि छैन । बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुनै सकेको छैन ।’

बीबिसीका अनुसार असोज १६ गते मङ्गलबार रातीबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो ।

बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो ।

रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५–२० फिट सम्मले जलसतह बढेको बताएका थिए । नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप जटिल बनेको बताइएको छ ।

सीडब्ल्यूसीका अनुसार अधिकारीहरूले केही सैन्य गाडी हिउँको लेदोमा डुबेको बताएका थिए । कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक रोकिएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन् । त्यसमध्ये इलामका स्थानीय पनि रहेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर