काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थीले पास गरेका छन् । ननग्रेड (एनजी) ल्याउने विद्यार्थीले असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।
बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेका छन् ।
कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । यो विषयमा १ लाख ९ हजार ५२७ जनाको ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था गरिएको छ ।
नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन पनि सक्ने परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।
पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ ३ जना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित १२ कक्षाको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

