वि.सं.२०८३ कात्तिक ७ शुक्रवार
Shivam
Dish Home Long Ad
TaTa
मेजरको परिचयसहित खाद्यान्न सस्तोमा उपलब्ध गराइदिने व्यक्ति पक्राउ

काठमाडौ । मेजरको परिचयसहित खाद्यान्न सस्तोमा उपलब्ध गराइदिने व्यक्ति पक्राउ पर्नेमा सप्तरीको दौलतपुर–१ घर भई हाल सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुर बस्ने ५३ वर्षीय गोपाल कार्की भन्ने राजकुमार राउत रहेका छन् । उनले धुलिखेल नगरपालिका–२ का रामचन्द्र पौडेललाई उनकै पसलमा पुगेर आफू नेपाली सेनाको मेजर भएको बताएका थिए । पाँचखालस्थित ब्यारेकमा रासनका सामान बढी भएकाले सस्तो मूल्यमा उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारे । राउतले सामानको सूचीसमेत बनाएर मोलतोल गरेका थिए ।

सामान खरिदका लागि पौडेल पैसा निकाल्न तयार भएर बनेपा आए । कृषि विकास बैंकको खाताबाट ३ लाख ३९ हजार रुपैयाँँ निकाले । राउतले बा २० च ३२५५ नम्बरको कार भाडामा लिएर पौडेललाई साथमा राखी रबिओपी हुँदै बनेपा ल्याए । बैंकबाट रकम निकालेपछि पौडेलले पोको कारको पछाडिको भागमा राखे । त्यसपछि सामान राखिएको स्थान देखाउने भन्दै उनलाई राउतले कारबाट झारे । बनेपा नगरपालिका–७ स्थित तरकारी बजार क्षेत्रमा सामानबारे आलटाल गर्दै गर्दा उनी कारतर्फ फर्किए र ३ लाख ३९ हजार रुपैयाँँको पोको लिएर फरार भए ।

अनुसन्धानका क्रममा राउतले बनेपा चारदोबाटोमा पार्किङ गरेर राखिएको शिवशरण मानन्धरको कार ४ हजार रुपैयाँँमा भाडामा लिएर ठगीका लागि प्रयोग गरेको खुलेको छ । राउत यसअघि पनि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । पाँच वर्ष कैद सजाय भुक्तान गरी २०८२ फागुनमा जिल्ला कारागार मोरङबाट छुटेका थिए । जेलबाट छुटेको एक महिना नबित्दै ठगी कार्यमा सक्रिय भएको अनुसन्धानबाट खुलेको छ ।
यसअघि एउटा मुद्दामा चार वर्ष कैद र ४० हजार रुपैयाँँ जरिवाना तथा अर्को ठगी मुद्दामा तीन वर्ष कैद र ३० हजार रुपैयाँँ जरिवाना तोकिएको थियो । प्रहरीका अनुसार राउतले २०८२ चैत २० गते धुलिखेल नगरपालिका–२, रवि देउरालीस्थित रूपा किनारा स्टोरमा पुगेर सञ्चालक रामचन्द्र पौडेलसँग भेट गरेका थिए । आफू पाँचखाल ब्यारेकमा बस्ने मेजर भएको र पसलका लागि खाद्यान्न सस्तोमा मिलाइदिने भन्दै विश्वासमा पारेका थिए । अदालतमा पेश गरिएका राउतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

 

Agni

सम्बन्धित खवर