वि.सं.२०८३ असोज २५ आइतवार
Shivam
Dish Home Long Ad
TaTa
औसत कथालाई ‘दिव्य’ अभिनयको प्राण: ३७ वर्षका दिव्यदेव कसरी बने ५८ वर्षका ‘बा’?

-विद्रोही
काठमाडौँ। एउटा अब्बल फिल्मले कलाकारको उचाइमा दरिलो ईट्टा थप्ने कुरा त स्वाभाविक नै हो। तर कहिलेकाहीँ कमजोर वा औसत कथा भएका फिल्मले पनि कलाकारको विशिष्ट अभिनयकै कारण सम्झनलायक जीवन पाउँछन्। त्यसको पछिल्लो उदाहरण बनेको छ— हरि लम्साल निर्देशित फिल्म ‘बा एक योद्धा’।

फिल्ममा एउटा बाले आफ्नो परिवार जोगाउनका लागि गर्ने त्याग र कठोर संघर्षको कथा बुनिएको छ। कथामा धनबहादुर नामक पात्रले घरै बेच्न लागिपरेका मुख्य पात्र रुद्रप्रसादलाई भन्छन्, “यो घरमा तपाईंको प्राण अडिएको छ।” तर सिङ्गो फिल्म नियाल्दा लाग्छ, यस फिल्मको प्राण भने घरमा होइन, रुद्रप्रसादको भूमिकामा बाँचेका अभिनेता दिव्यदेवको अभिनयमा अडिएको छ।

३७ को उमेरमा ५८ को परिपक्वता
३७ वर्षीय दिव्यदेवका लागि आफूभन्दा २१ वर्ष जेठो (५८ वर्षीय) पूर्व-अहेब रुद्रप्रसादको भूमिका निभाउनु निकै जोखिमपूर्ण अवसर थियो। तर, उनले केवल बाहिरी आवरणमा मात्र होइन, पात्रको मनस्थिति, शारीरिक हाउभाउ र उमेरले ल्याउने शिथिलतालाई यति गहिरोसँग पर्दामा उतारेका छन् कि दर्शकले उनको उमेरलाई सहजै विश्वास गर्छन्।

फिल्मभरि दिव्यदेव न कतै लाउड सुनिन्छन्, न त उनको अभिनय अतिरञ्जित नै लाग्छ।

गम्भीर शारीरिक भाषा: खुसी हुँदा उनको ठडिने शीर र दुःख वा अत्तासिँदा झुक्ने गर्धनले पात्रको जीवनमा आइरहेको आरोह-अवरोहलाई स्पष्ट पार्छ। कुनै अपराधमा मुछिएर प्रहरी चौकी जाँदै गर्दाको उनको मर्मस्पर्शी चालले दर्शकका आँखा सहजै रसाउँछन्।

मेटाफोरिकल क्षणहरू: काठमाडौँ पुगेर ठूलो पीडामा जमिरहेका बेला चुरोटको सहारा खोज्दै भौँतारिएको दृश्य होस् या वियोगका बेला आँखाले बोलेका मौनता—दिव्यदेवले यो काल्पनिक पात्रलाई पर्दामा नयाँ जीवन दिएका छन्।

अब्बल अभिनय, तर कथामा थुप्रै गुनासा
मुख्य अभिनेताको अभिनय जति सशक्त छ, फिल्मको कथा र लेखन भने उत्तिकै अलमलमा परेको देखिन्छ।

मध्यान्तरसम्म गाउँले जीवन र पारिवारिक द्वन्द्वमा सुस्त गतिमा बगेको फिल्म मध्यान्तरपछि भने अचानक ‘सस्पेन्स र क्राइम’तर्फ मोडिन्छ। यसले गर्दा दर्शकले एउटा लयमा हेरिरहेको कथा एकाएक अर्कै संसारमा पुगेको महसुस हुन्छ।

फिल्मका अन्य केही कमजोर पक्षहरू:
१. अस्वाभाविक र कठोर पात्रचित्रण: छोरा-बुहारीले बा-आमाप्रति गर्ने चिसो व्यवहारको पछाडि बलियो कारण स्थापित गर्न सकिएको छैन। बुहारीको भूमिकालाई आवश्यकताभन्दा बढी नकारात्मक बनाइएको छ।
२. आमाको ओझेल परेको चरित्र: बालाई ‘योद्धा’ बनाउने चक्करमा नेपाली समाजमा आमाले निर्वाह गर्ने कठिन र संघर्षपूर्ण भूमिकालाई नजरअन्दाज गर्दै परम्परागत (स्टेरियोटाइप) सहायक पात्रमै सीमित राखिएको छ।
३. परिस्थितिको बनावटीपन: मुख्य पात्र रुद्रप्रसादले नयाँ छोरा बनाउने प्रसङ्ग टुप्लुक्क आइपुगेजस्तो लाग्छ, जसले बलिउड फिल्म ‘बागवान’को झल्को दिन्छ।

संगीत, संवाद र प्राविधिक सन्तुलन
कथामा त्रुटिहरू भए पनि फिल्मका प्राविधिक पक्ष र सहकलाकारको अभिनयले यसलाई बलियो आड दिएका छन्।

संवादको काव्यिक मिठास: फिल्मका संवादहरू पात्रअनुकूल र सान्दर्भिक छन्। छोराले किनेको बाइक बेचेर पनि हेल्मेट मायाले घर फर्काउने बाको संवाद होस् या छोरीसँग सुस्केरा हाल्दै बोल्ने— “तिमीहरूको खुसीको लागि कहिले हात्ती बनियो, कहिले घोडा बनियो… हुँदाहुँदा कुकुर पनि बन्नुपर्यो” भन्ने पंक्ति, संवादहरू कविताजस्तै सुनिन्छन्।

संगीत र छायांकन: फिल्मको ब्याकग्राउन्ड म्युजिकले भावुक दृश्यहरूमा प्राण भरेको छ। गाउँ छाड्ने बेलाको ‘ड्रोन सट’ले घर छाड्दै गरेका पात्रहरूको कारुणिक मनोदशालाई सुन्दर ढङ्गले कैद गरेको छ।

सहकलाकारको साथ: आमाको भूमिकामा देखिएकी झरना थापा, परिपक्व छोरीको रूपमा सुहाना थापाका साथै सागर खनाल, सुप्रज्ञा शर्मा र शिशिर शिवाकोटीको अभिनयले फिल्मलाई स्वादिलो बनाएको छ।

निष्कर्ष
‘चिसो एस्ट्रे’ जस्ता फिल्मबाट आफ्नो अभिनय क्षमता सिद्ध गरिसकेका दिव्यदेवले ‘बा एक योद्धा’ मार्फत आफूलाई पुनः अब्बल अभिनेताका रूपमा प्रमाणित गरेका छन्। कमजोर र असङ्गत कथाका बाबजुद एउटा सशक्त कलाकारले कसरी सिनेमालाई सम्झनलायक बनाउन सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ यो फिल्म।

Agni

सम्बन्धित खवर