काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना बढिरहेका बेला सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सम्बोधन गर्दै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री साहले पछिल्ला केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको उल्लेख गर्दै सरकार उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्रिय रहेको बताउनुभएको छ। उहाँका अनुसार विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टदेखि ७७ वटै जिल्ला कमान्ड पोस्टसम्मलाई सक्रिय बनाइएको छ।
उहाँले असोज ८ गतेदेखि प्राप्त विवरणअनुसार बाढी, पहिरो, चट्याङ, हावाहुरी तथा अविरल वर्षासँग सम्बन्धित घटनामा मानवीय क्षति भएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेको उपचार तथा बेपत्ता नागरिकको खोजी र प्रभावित नागरिकको उद्धारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ।
प्रधानमन्त्री साहले बाढी तथा पहिरोका कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्नुभएको छ। विभिन्न राजमार्ग तथा सडकखण्डमा आवागमन प्रभावित भएको भन्दै क्षतिग्रस्त संरचना तथा सडकको मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।
यसैगरी, ठूला नदीमा पानीको बहाव बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रधानमन्त्री साहले आग्रह गर्नुभएको छ। विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने कार्यमाथि निगरानी राखिएको पनि उहाँले बताउनुभएको छ।
प्रधानमन्त्री साहले विपद्को सामना गर्न सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा नागरिक सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै “धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ” भन्ने सन्देश दिनुभएको छ। उहाँले अन्त्यमा नागरिकलाई “सुरक्षित रहौँ, सतर्क रहौँ” भन्दै सचेत रहन आग्रह गर्नुभएको छ।


