वि.सं.२०८३ वैशाख ३ बिहीवार
Dish Home Long Ad
लुम्बिनीमा ५० उद्योग स्थापना गर्न चिनियाँ कम्पनीको प्रस्ताव
Prabhu Bank AD

काठमाडौं । लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित चिनियाँ कम्पनी चिङ्सङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारसँग विकास सहकार्य प्रस्ताव अघि सारेको छ। कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारी दिँदै समझदारी पत्र (एमओयु)मा हस्ताक्षरका लागि प्रस्ताव गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले १ फेब्रुअरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाउनु भएको पत्रमार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्द्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको छ।
उक्त पत्रमा लुम्बिनी प्रदेशको आधिकारिक भ्रमण गर्ने र त्यस अवसरमा प्रदेश सरकारसँग हस्ताक्षर गर्ने प्रस्ताव समावेश छ। चिङ्सङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडको प्रतिनिधिमण्डलले १ फेब्रुअरीमा लुम्बिनी प्रदेशको भ्रमण गरेको थियो। भ्रमणका क्रममा प्रदेशका नीतिगत प्राथमिकता, औद्योगिक सम्भावना, लगानीमैत्री वातावरण तथा दीर्घकालीन विकासका विषयमा प्रदेश सरकारसँग प्रत्यक्ष छलफल गर्ने उद्देश्य रहेको जनाइएको छ।
प्रस्तावित समझदारी पत्रमा तीन प्रमुख क्षेत्रलाई सहकार्यको आधार बनाइएको छ। पहिलो, औद्योगिक विकासअन्तर्गत लुम्बिनी प्रदेशभित्र ५० वटा उत्पादनमूलक उद्योग तथा कारखाना स्थापना गर्ने प्रस्ताव छ। यसले प्रदेशमा रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको उपयोग र दिगो आर्थिक वृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कम्पनीले उत्पादनमूलक उद्योगमार्फत प्रदेशको औद्योगिक आधार विस्तार गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ।
दोस्रो, नेपाली उत्पादनको विकास, उत्पादन तथा ब्रान्डिङमा सहकार्य गर्ने प्रस्ताव गरिएको छ। उच्च गुणस्तरका नेपाली उत्पादनलाई व्यावसायिक रूपमा विकास गर्दै मूल्य अभिवृद्धि गर्ने र लुम्बिनी प्रदेशलाई राष्ट्रिय ब्रान्डिङ गरिएको उत्पादनको केन्द्रीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ। यसले स्थानीय किसान, उद्यमी र साना तथा मझौला उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
तेस्रो, चीनमा नेपाली उत्पादनको निर्यात प्रवद्र्धनलाई सहकार्यको महत्वपूर्ण पाटो बनाइएको छ। चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्ने, द्विपक्षीय व्यापार सम्बन्ध सुदृढ बनाउने र नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्य पत्रमा उल्लेख छ।
कम्पनीले चीनको विशाल बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण, नेटवर्क र बजार पहुँच उपलब्ध गराउने जनाएको छ।
लुम्बिनी प्रदेश सरकारसँगको सम्भावित सहकार्यलाई दीर्घकालीन र परिणाममुखी बनाउने उद्देश्य रहेको भन्दै कम्पनीले प्रदेश सरकारको मार्गदर्शन, सहजीकरण र सहकार्य अपेक्षा गरेको जनाएको छ। पत्रमा उल्लेख भएअनुसार प्रस्तावित समझदारी पत्रमा हस्ताक्षर भएपछि परियोजना कार्यान्वयनका स्पष्ट ढाँचा, लगानी संरचना र कार्य योजना तय गरिनेछ।


प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीका अनुसार लुम्बिनी प्रदेशमा औद्योगिक विकास र विदेशी लगानी आकर्षण सरकारको प्राथमिकता सूचीमा छ। विशेष गरी कृषि, उत्पादनमूलक उद्योग, प्रशोधन उद्योग र निर्यातमुखी उत्पादनमा लगानी भित्र्याउने नीति लिइएको छ। यस्तो अवस्थामा चिनियाँ लगानी समूहबाट आएको प्रस्तावलाई गम्भीरतापूर्वक अध्ययन गर्ने तयारी भइरहेको छ।
लुम्बिनी प्रदेश भौगोलिक, सांस्कृतिक र आर्थिक दृष्टिले रणनीतिक महत्त्व बोकेको प्रदेश हो। भारतसँग खुला सीमा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको अवस्था, औद्योगिक कोरिडोर र विशेष आर्थिक क्षेत्र सेजका योजनाले प्रदेशलाई लगानीका लागि आकर्षक बनाउँदै लगेका छन्। यस्तो पृष्ठभूमिमा ५० वटा उद्योग स्थापना गर्ने प्रस्तावलाई सम्भावनाको रूपमा हेरिएको पूर्व मन्त्री पन्थीले जनाउनुभयो।
अर्थविद्हरूका अनुसार यदि प्रस्तावित सहकार्य कार्यान्वयनमा गयो भने यसले प्रदेशको औद्योगिक संरचनामा गुणात्मक परिवर्तन ल्याउन सक्छ। रोजगारी सिर्जना, आयात प्रतिस्थापन, निर्यात वृद्धि र स्थानीय उत्पादनको बजार विस्तारमा सकारात्मक प्रभाव पर्न सक्ने उनीहरूको विश्लेषण छ। तर यस्ता सहकार्यमा स्पष्ट कार्य योजना, पारदर्शिता र दीर्घकालीन प्रतिबद्धता आवश्यक हुने उनीहरू बताउँछन्।
प्रदेश सरकार र चिङ्सङ ९हाइनान० इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडबीच हुने सम्भावित समझदारी पत्रलाई लुम्बिनी प्रदेशको औद्योगिक विकास यात्रामा नयाँ अवसरका रूपमा हेरिएको युवा उद्योगी यादव भण्डारी बताउनुहुन्छ। आगामी दिनमा प्रदेश सरकारको निर्णय, छलफलको नतिजा र एमओयुको अन्तिम स्वरूपले यो प्रस्ताव कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्नेछ।
हालका लागि कम्पनीको औपचारिक प्रस्ताव र भ्रमण योजनाले लुम्बिनी प्रदेशमा विदेशी लगानी, उद्योग स्थापना र अन्तर्राष्ट्रिय व्यापारको सम्भावनाबारे नयाँ बहस सुरु गराएको र यसले सकारात्मक सन्देश दिएको युवा उद्योगी सुमन बस्याल बताउनुहुन्छ।
चीन र मलेसियाका लगानीकर्ताले रुपन्देही केन्द्रित रहेर सञ्चालन हुने उद्योग क्षेत्रमा आफ्नो प्रविधि र आर्थिक लगानीका लागि तयार रहेको जनाएका छन्। उनीहरूले दक्षिणी छिमेकी देश भारत र अन्य युरोपियन देशहरूमा समेत लगानीका लागि प्रशस्त सम्भावना भएको जनाउँदै यसको वातावरण रुपन्देही भएकाले आफूहरू त्यसका लागि तयार रहेको जनाएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल, कच्चा सामग्री ल्याउन सहज, तापक्रमका हिसाबले पहाडको नजिक र जनशक्ति पाउन समेत सहज, ढुवानीको सहज वातावरण भएकाले यो क्षेत्रबाट उत्पादन गरेर निर्यातको प्रशस्त सम्भावना देखेको आफ्नो अध्ययनले देखाएको उनीहरूको धारणा छ।
प्रदेश सरकारसँग यसबारे अघि बढेका उनीहरूले यहाँका उद्योगीहरूसमक्ष यसको वातावरणका विषयमा छलफल थालेका छन्। मलेसियाका स्टेवार्ड चोङ, चीनका जोएसन छिन, भेलिरिन क्वीन, मार्क लाइकको टोलीले यो क्षेत्रमा अस्तव्यस्त रहेको फोहोर प्रशोधन गरेर धेरै वस्तु उत्पादन गर्न सकिने र त्यसको ठूलो परिणाममा निर्यात गर्न सकिने सम्भावनासहित रुपन्देहीमा आएको जनाएका छन्।
उनीहरूले रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका विभिन्न क्षेत्रहरुमा यसको गहिरो अध्ययन गरी यस्तो निचोड निकालेको जनाउँदै स्थानीयले समन्वय गरेर कानुनी झन्झटमा नपारे प्रविधि र लगानीमा साथ दिने जनाएका हुन्।
लुम्बिनीका पूर्व मन्त्री तथा प्रदेश सांसद विष्णु पन्थीको साथ यस क्षेत्रका विभिन्न सम्भाव्यता अध्ययन गरेका उनीहरु यहाँको वातावरणबाट प्रभावित भएका हुन्। यो टोलीको नेतृत्व गरेका मलेसियाको जेबीसी र जेडीएफका अध्यक्षसमेत रहेका स्टेवार्ड चेनले यति ठूलो सम्भाव्यता रहेको स्थानमा बस्ने नेपालीले आयात गर्ने नभई निर्यात गर्ने वस्तु उत्पादन गर्नुपर्ने जनाउनुभयो।
‘दक्षिणी क्षेत्रमा यति ठूलो जनसंख्या भएको छिमेकी देश छ, यहाँ यति ठूलो सम्भाव्यताको क्षेत्र छ उद्योगहरूका लागि, अब तपाईँहरूले बाहिरबाट सामान ल्याउने होइन पठाउने योजना बनाउनुहोस्, प्रविधि र लगानीको वातावरण हामी मिलाउँछौँ, सधैभरी आयात गरेर हुँदैन, अब निर्यात गर्ने वस्तु ठूलो मात्रामा उत्पादन गर्नुस्, भारतपछि युरोपियन मुलुकमा पठाउनुपर्छ’ उहाँले भन्नुभयो।
‘भारतसँग बोर्डरमा कुनै समस्या छैन, उत्पादन गरेका सामग्री निर्यातको योजना बनाउनुपर्छ, चीन, मलेसिया, युरोपमा भएका लगानीकर्ताहरुले यहाँ धेरै सम्भावना देखेका छन्, यहाँको वातावरण बनाएर अब औद्योगिक क्षेत्रमा ध्यान दिनुपर्छ’ स्टेवार्डले भन्नुभयो ‘अन्तर्राष्ट्रिय विमानस्थल छ, ढुवानीको सहजता रहेछ, अब यसमा ढिलाइ नहोस्।’
उहाँले नेपालबाट भारत निर्यात के के भएका छन् र अब के हुन सक्छन् भन्ने विषयमा पनि गहिरो अध्ययन गरेको जनाए। उनीहरूको भ्रमण टोलीलाई संयोजन गरेका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थीले कानुनी अल्झन नदिएर लगानीको वातावरण बनाउन सके यस्ता खालका लगानीकर्ताहरु धेरै रहेको बताउँदै यसको वातावरण सबै मिलेर बनाउनुपर्ने जनाउनुभयो।
‘चाइनिज, मलेसियनसहित विश्वका धेरै देशका लगानीकर्ताहरु यहाँको प्रशस्त सम्भावना देखेर लगानीका लागि तयार छन्, तर यहाँ साना साना स्वार्थका कारण हुने विवादमा उनीहरु जोडिन चाहदैनन्’ उहाँले भन्नुभयो–‘अहिलेको टोलीले फोहोरमैला प्रशोधनको ठूलो योजना लिएर आएको छ, अहिले सबै पालिकामा ठूलो चिन्ताको विषय बनेको फोहोरबाटै उनीहरूले प्रविधिको प्रयोगबाट विभिन्न उत्पादनको योजनालाई अघि सारेका छन्, हामीकहाँ कामभन्दा धेरै विरोध र हल्ला भएर समस्या भएको हो, अब लगानीको वातावरण बनाउनुपर्छ।’
यो टोलीले रुपन्देही उद्योग संघको टोलीसँग यहाँ आएर लागनीको वातावरणका विषयमा पनि लामो छलफल गरेको छ। संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले लगानी अध्ययनका लागि आएको टोली यहाँको वातावरण हेरेर निकै सन्तुष्ट भएको र अब यसका विषयमा सबैले चासो दिएर समन्वय गर्नुपर्ने जनाउनुभयो।
‘चिनियाँ र मलेसियन लगानीकर्ताको टोलीले यहाँ लगानी गरेर निर्यात गर्न सकिने विषयमा हामीसँग मिहिन छलफल चलाएको छ, यसमा हामीहरू निकै प्रभावित भएका छौँ अब यस्तो उत्साहित लगानीकर्तालाई कसरी यहाँ ल्याउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्र र तीन तहका सरकारले विशेष योजना बनाउनुपर्छ’ उहाँले भन्नुभयो।
संघका महासचिव रहेका युवा उद्योगी सुमन बस्यालले यसरी आएका विदेशी उद्योगीहरुसँग सहकार्य र्गेर नै अघि बढ्न सकिने जनाउनुभयो। ‘स्पष्ट योजना लिएर प्रविधि र लगानीको ढाडस दिनेहरुबाट हामीले केही न केही लिनसक्नुपर्छ, यो निकै सकारात्मक पक्ष हो’ उहाँले भन्नुभयो –‘अहिले विश्वका धेरै देशका लगानीकर्ताहरुले निर्यातको सम्भावना भएका ठाउँहरुमा अध्ययन गरेर नै लगानीको योजना बनाएका हुन्छन्, सायद उनीहरूको पनि यही नै होला, यसमा ढिलाइ गर्नुहुँदैन।’
बस्यालले टोलीसँग संघले द्विपक्षीय सहकार्य गरेर अगाडि बढ्ने विषयमा प्रस्ताव राखेको र उनीहरूले त्यसलाई सहज रूपमा लिएको जनाउनुभयो।

Prabhu Bank AD

सम्बन्धित खवर