वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको जोखिम, उच्च जोखिममा काठमाडौं उपत्यका
Prabhu Bank AD

काठमाडौं । बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।

अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना छ । त्यसैले काठमाडौंका नदीहरुको बहाव बढ्दै गएर सतर्कताको तह नजिक पुगेको छ । बाढीको सतह अझै बढ्ने सम्भावना भएकाले आज बेलुका र भोलिसम्मका लागि विशेष सतर्कता जरुरी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘काठमाडौंको हकमा विष्णुमती, बागमती, मनोहरा, नख्खु सबै नदीहरुमा बाढी सतर्कताको तह नजिक पुगेको छ, त्यस हिसाबले यी क्षेत्रमा सतर्कता अपनाउनु पर्नेछ,’ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले भने, ‘आज बेलुका र भोलि विशेष सतर्कता जरुरी छ ।’ डुबान भइरहने र बाढी आउने क्षेत्रमा विशेष गरी नदी किनारमा यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन् ।

यी जिल्लामा छ उच्च जोखिम

विभागका अनुसार अहिले बागमती प्रदेशका चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लामा वर्षा मध्यमबाट भारीतर्फ उन्मुख छ । यसैगरी मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरीमा पनि वर्षा भारीतर्फ उन्मुख छ । ‘अहिलेसम्म वर्षाले खतराको तह पार गरिसकेको त छैन तर त्यसको नजिक छ,’ पराजुलीले भने ।

विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।

यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ ।

साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।

यसैगरी गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् । कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय