वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
इलाम उपनिर्वाचन : पहिचानवादीको अन्तिम परिक्षा
Prabhu Bank AD

राजेश विद्रोही
१५ बैशाखमा उपनिर्वाचन हुँदैछ । दलबलका साथ राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका छन । खासगरी इलामको निर्वाचनमा यतिखेर सबैको ध्यान केन्द्रित हुन पुगेको छ । किनकि यहाँको निर्वाचन पहिचानवादी र गैरपहिचानवादीबीच जुँगाको लडाई बन्न पुगेको छ । पछिल्लो समय पहिचानवादी आन्दोलनको केन्द्र बनेको पूर्वी नेपालमा हुदै गरेको यो उपनिर्वाचन पहिचानवादीका लागि अन्तिम परिक्षा नै हो ।

एउटा सिटको हार जीतले खासै अर्थ नराखे पनि परम्परागत दलहरूका लागि पनि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । नयाँ पुराना सबै राजनीतिक दलले रैथाने उम्मेदवारलाई नै प्राथमिकतामा राखेर प्रतिस्पर्धामा उत्रिएका छन । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह लिम्बू थेगिम, नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूबीच कडा प्रतिस्पर्धाको छनक देखिएको छ ।

कोशी प्रदेशको नामाकरणसँगै जन्मिएको पूर्वी पहिचानको आन्दोलन यतिबेलाको परम्परागत र नयाँ राजनीतिक दलहरुको लागि ठूलो चुनौतीका रुपमा खडा छ । जुन राजनीतिक दलहरूले आजसम्म जनतालाई पहिचान दिन सकेनन ति राजनीतिक दलले पहिचानवादीहरुको इतिहास, संस्कृति, पहिचान र अधिकारको रक्षा कसरी गरिदेलान? तर निर्वाचनलाई ध्यानमा राख्दै उनीहरू आफूलाई असली पहिचानवादी पक्षधरको दाबी गरिरहेका छन । पहिचानवादी समुदायका केही मानिसहरू पनिउनीहरुकै हनुमान बनिरहेका छन । उनीहरुमै आफ्नो मुक्तिको मार्ग देखिरहेका छन । बिना संघर्ष र बलिदानले आजसम्म केही नपाएको इतिहास छ । मधेसी जनता यस मामिलामा एक पाइला अघि बढिसकेकाले उनीहरूबाट पूर्वका पहिचानवादीहरुले पाठ सिकेर पदचाप पछ्याउन जरुरी छ । यसरी मात्र मुलवासी, आदिवासी, जनजाति तथा किराँतीहरुले आफ्नो इतिहास र वर्तमानको रक्षा गर्न सक्नेछन । त्यसैले पहिचानवादीहरुले नाम, थर र अनुहारले आफ्नो विरादरीको उम्मेदवार होइन, विचार र इतिहासको गहिराइमा पुगेर अग्र्यानिक पहिचानवादी उम्मेदवार पहिचान गरी सचेतपूर्वक मतदान गर्न जरुरी छ । उनीहरु सचेत भएनन भने पहिचान विरोधीहरुले जित्ने सम्भावना देखिदैछ ।

हाम्रो गाउँघरमा अझै पनि दलीय परम्परालाई नै निरन्तरता दिने खालको समाजिक मनोविज्ञान छ । नयाँ युवा पुस्ताको नेतृत्व हतपत स्वीकार्दैनन । उमेर ढल्केका मानिसलाई मात्र नेतृत्व स्वीकार्ने प्रवृत्ति छ । त्यसैले हामीले हाम्रो सोच, चिन्तनमा नयाँपन ल्याउन जरुरी छ । दोस्रो कुरा हामी मतदाताहरुले सानोतिनो लालचमा धेरै कुरा गुमाउँदै आएका छौं । आफ्नो इतिहासको रक्षा गर्दै वर्तमान लेख्नुपर्ने ठाउँमा अरुकै इतिहास र वर्तमानको लागि समय बर्बाद गरिरहेका हुन्छौं । विरोधी शक्तिलाई नै मजबुत गरिरहेका हुन्छौं । आफ्नो खुट्टामा आफैं बन्चरोले हानीरहेका हुन्छौं । राजनीतिक दल र तिनका नेतृत्वहरुमा  सिंहदरबार छिर्न जस्तोसुकै मोलाहिजा र साठगाठ गर्ने प्रवृति छ । हामी जनता भने आफ्नो पार्टी, संगठन र नेता भनेर विभाजित भइरहेका हुन्छौं । यस्ता विविधकुराले हामी पहिचान पक्षधर शक्ति कमजोर हुँदै आएका छौं ।

हाम्रो भुईं समाजको तेस्रो ठूलो कमजोरी स्वतन्त्र तथा असल उमेदवारीको अर्थ र महत्व बुझ्दैनौं ।  धरानमा हर्क साङपाङ र काठमाडौंका बालेन शाहहरु यतिकै जन्मेका होइनन । राजनीतिक दलहरुको निकम्मापनले नै उनीहरुलाई जन्माएको हो । असल र स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएर उनीहरुले एउटा उदाहरण पेश गरेका छन् । ७५३ स्थानीय सरकारमा यतिबेला उनीहरुमात्रै सफल छन् । उनीहरुको कामको मात्रै मुलुकमा चर्चा छ । अरु ठाउँ जनप्रतिनिधि नै छैन जस्तो छायामा परेका छन । त्यसैले इलामको निर्वाचनमा मतदाताहरुले आफ्नो पहिचान, इतिहास र विचारको पक्षमा मतदान गर्न जरुरी छ ।

यसअघि ०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनका काँग्रेस उमेदवार डम्बर खड्कालाई नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले ११४ भोटले हराएका थिए । यो क्षेत्रमा एक लाख १५ हजार ३४२ मतदाता छन । नेम्वाङले यसअघि तीस हजार बीस मतले जितेका थिए भने २९ हजार ९०० मत काँग्रेसका खड्काले ल्याएका थिए । यतिबेला एमालेका पक्षमा चार दलहरू समर्थनमा छन भने पहिचानवादीहरुको पक्षमा ४१ घटकको समर्थन रहेको छ । प्रतिस्पर्धामा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार छन । प्रतिष्पर्धा अपेक्षा गरिए भन्दा कडा हुने देखिदैछ । अहिलेको संसदीय राजनीतिको अभ्यास तथा निर्वाचन प्रणालीको वर्ग चरित्र हेर्दा पुराना दलहरू सत्ता, शक्ति र पहुँच तथा आर्थिक रुपमा बलिया छन । तर ऐतिहासिक, वैचारिक रुपमा पहिचानवादीहरु नै मजबुत छन । त्यसैले राज्यको मूल प्रवाहमा रहेको एकल जातीय सोच, चिन्तन र प्रवृत्तिमा क्रमभंग ल्याउन जरुरी । इलामले क्रमभंगता ल्याउनुपर्छ ।

हामी आजको लोकतान्त्रिक युगमा पनि अरुको अस्तित्वका लागि आफ्नो अस्तित्वको बलिदान दिदै आएका छौ । खासगरी यो संस्कार कमजोर वर्ग, क्षेत्र र समुदायमा बढी छ । आफ्नो पाटीृ भन्यो कि जे पनि गर्न र मर्न तयार हुने तर आफ्नै पार्टी र नेतृत्वले आफूमाथि गर्दै आएको घात, अन्याय र अत्याचार हामीले कहिल्यै नदेख्ने मनोवृत्ति छ । जसले गर्दा आजसम्म राजनीतिक दलहरू थपिएका थपिएै छन । तर, सर्वसाधारण नागरिकको समस्या घटेको छैन ।अहिलेको उपनिर्वाचन पुराना र नयाँ दल तथा स्वतन्त्र उमेदवारहरूका लागि अन्तिम परीक्षण पनि हो । शक्ति केन्द्रहरुको लागि पनि उतिकै महत्वपूर्ण छ । किनभने उनीहरूले पनि आफ्नो अनुकुलता खोजिरहेका छन । त्यसैले आगामी निर्वाचनका लागि यो निर्वाचन परिणाम सबैका लागि तराजु सावित हुने छ । यो निर्वाचन २०८४ को निर्वाचनको लहरलाई समेत नापतौलको आधार हुने देखिदैछ ।

त्यसैले अहिलेको स्थितिमा जिते सुनमा सुगन्ध मात्र थपिने छैन, समाजिक, आर्थिक, राजनीतिक, वैचारिक र ऐतिहासिक तथा अन्तर्राष्ट्रिय रुपमा समेत यसको ठूलो अर्थ र महत्व बन्न पुग्छ । यसर्थ किराँतीहरुले सहिद पदम लिम्बुको सपना साकार पार्न सबैले आफ्नो मुटुमा हात राखेर हर हालतमा जित्ने संकल्प लिनुपर्छ । आफ्नो जितका लागि एक जुट हुनुपर्छ । र, मधेसपछि किराँतीहरुले पूर्वमा पहिचानको दोस्रो झण्डा फहराउनु पर्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय