काठमाडौं । विश्वव्यापी कोभिड संक्रमण फैलिन कम हुँदै गएपछि विदेशी पर्यटक आगमनमा पनि सुधारको संकेत देखिएको छ । कोभिड फैलिन सुरु हुनुअघिको तुलनामा मे २०२२ मा पर्यटक आगमन ७४।३ प्रतिशतले रिकभर भएको पर्यटन बोर्डले जनाएको छ ।
यस वर्षको मे महिनामा विभिन्न देशबाट ५३ हजार ६ सय आठ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोभिडअघि मे २०१९ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ७२ हजार एक सय ५६ रहेको थियो । सन् २०१९ मा हालसम्मकै धेरै १२ लाख पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक आगमन बढ्दै गइरहेका वेलामा कोभिड महामारी सुरु भएको थियो । कोभिड मत्थर हुँदै गएपछि पर्यटक आगमन पुनः बढ्न थालेको देखिन्छ । मे २०२० मा ३१ जना पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए भने मे २०२१ मा एक हजार चार सय ६८ पर्यटक मात्र आएको पर्यटन बोर्डले जनाएको छ ।

नेपालमा भारतीयपछि सबैभन्दा बढी पर्यटक आउने चिनियाँ हुन् । तर, कोभिडपछि अझै चिनियाँ पर्यटक आउन थालेका छैनन् । चीन सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान खुला गरिसकेको छैन् । ‘यदि चिनियाँहरू पनि नेपाल भ्रमणमा आउन थालेको भए ‘मे’ महिनामै पर्यटक आगमन करिब रिकभरीकै लाइनमा पुग्ने रहेछ,’ नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘पछिल्लो समय पर्यटक आगमनमा भइरहेको बढोत्तरीले आशावादी बनाएको छ, यसबीचमा कुनै भवितव्य नआए आगामी सिजनदेखि पर्यटन लयमा फर्किन थाल्ने देखिन्छ ।’
अहिले भारतीय पर्यटक आगमन उल्लेख्य बढेको छ । मे महिनामा आएका कुल विदेशी पर्यटकमध्ये आधा भारतीय पर्यटक हुन् । भारतमा अत्यधिक गर्मी बढेको हुँदा धेरै भारतीयहरू गर्मी छल्न नेपाल घुम्न आइरहेको पर्यटन व्यवसायी बताउँछन् । अहिले काठमाडौं, पोखरा, मुस्ताङलगायत गन्तव्यमा भारतीय धेरै देखिन्छन् । अघिल्ला वर्षको तुलनामा पर्यटक आगमन बढे पनि यसै वर्षको अघिल्लो ९अप्रिल० महिनाको तुलनामा भने पर्यटक आगमन चार हजार सात सय ४० ले घटेको देखिन्छ । वसन्तकालीन पर्यटकीय सिजन सकिँदै गएपछि मे महिनामा पर्यटक आगमन पनि घट्दै गएको पर्यटन बोर्डका निर्देशक लामिछानेले बताए । नेपालमा बर्सात सुरु भएसँगै पर्यटक आगमन पनि घट्दै जाने विगतदेखिकै ट्रेन्ड देखिन्छ । अप्रिलमा ट्रेकिङ र हिमाल आरोहणमा आउने पर्वतारोहीका कारण पनि पर्यटकको संख्या उल्लेख्ख बढेको थियो । ७४ देशका नौ सय ८६ आरोहीले वसन्तकालीन सिजनमा नेपालका २७ हिमाल आरोहणका लागि अनुमति लिएका थिए । यो वर्षको हिमाल आरोहण करिब सम्पन्न भइसकेको छ ।
५० प्रतिशत पर्यटक भारतीय
विभिन्न देशबाट मे महिनामा भ्रमणमा आएका कुल पर्यटकमध्ये ४९।७४ प्रतिशत भारतीय रहेका छन् । भारतबाट एक महिनामा २६ हजार ६ सय ६२ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ । यस्तै, अमेरिकाबाट सात हजार दुई सय ७४, बंगलादेशबाट तीन हजार दुई सय ६८, बेलायतबाट दुई हजार चार सय ५१, अस्ट्रेलियाबाट एक हजार ६ सय ६ पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकबाट ३० हजार पाँच सय ६६ पर्यटक आएका छन् भने एसियाका अन्य मुलुकबाट दुई हजार दुई सय २३, युरोपबाट ६ हजार आठ सय ९५, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार ६ सय ९४, क्यानडा र अमेरिकाबाट आठ हजार ३३ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ ।
पाँच महिनामा झन्डै दुई लाख पर्यटक
सन् २०२२ को सुरुवातसँगै पर्यटक आगमन पनि बढ्दै गइरहेको पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । यस वर्षको पहिलो पाँच महिनामा मात्रै विभिन्न देशबाट एक लाख ९० हजार पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै अप्रिलमा ५८ हजार तीन सय ४८ पर्यटक आएका थिए । जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार पर्यटक नेपाल भ्रमण गरेका थिए । मे महिनामा ५३ हजार ६ सय आठ पर्यटक आएका छन् ।
↑

