काठमाडौं । मर्जरमा गएका बैंकमा खराब कर्जा ह्वातै बढेको देखिएको छ। गत आर्थिक वर्षमा मर्जरमा गएका तीन बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि पुगेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.७७ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा कुमारी बैंक र एसिसि बैंक मर्ज भएका थिए। गत वर्ष बैंकले ५ अर्ब ७३ करोड रुपैयाँ सम्भावित जोखिमबापत छुट्याउनु परेको छ। यसरी खराब कर्जा ह्वातै बढ्दा बैंकको खुद नाफामा भने धक्का लागेको छ।
यसैगरी सिभिल बैंकलाई गाभेको हिमालयन बैंकको खराब कर्जा ४।५७ प्रतिशत रहेको छ। सिभिल बैंकको धेरै कर्जा नउठ्दा बैंकको खराब कर्जा बढ्न पुगेको हो। हिमालयन बैंकले पनि गत वर्ष २ अर्ब १५ करोड रुपैयाँ जोखिमबापत छुट्याएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ४।३५ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक आपसमा गाभिएका थिए। मर्जपश्चात बैंकको खराब कर्जा झनै बढेर गएको छ। उसले पनि झण्डै साढे २ अर्ब रुपैयाँ सम्भावित जोखिमबापत छुट्याएको छ।
सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको खराब कर्जा ४।१६ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेर एकीकृत कारोबार थालेको थियो। मर्ज भएपछि बैंकले प्रोभिजन बढाउनुपरेको छ। यसले उसको नाफामा पनि असर गरेको देखिन्छ।
वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंकको पनि खराब कर्जा भने ३।२ प्रतिशत पुगेको छ। नबिल बैंकले गत आर्थिक वर्ष नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोबार थालेको थियो। गत वर्ष सम्भावित जोखिमबापत बैंकले ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ।
पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंकको पनि खराब कर्जा ३।०८ प्रतिशत रहेको छ। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा बैंक अफ काठमाण्डूलाई गाभेर एकीकृत कारोबार सुरु गरेको थियो। ग्लोबल आइएमईले गत वर्ष सम्भावित जोखिमबापत २ अर्ब ७१ करोड रुपैयाँ छुट्याएको छ।
गत असारमा मात्रै एकीकृत कारोबार सुरु गरेको लक्ष्मी सनराइज बैंकको भने खराब कर्जा २।८१ प्रतिशत रहेको छ।
बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेका केन्द्रिय बैंकले शिघ्र सुधारात्मक कारवाही गर्ने छ। जसले बैंकलाई लाभाशं वितरणमा समेत रोक लाग्ने छ। यसले गर्दा बैंकहरुले खराब कर्जा ५ प्रतिशतभन्दा माथि जान नदिन प्रयास गरिरहेका छन्।
मर्जरमा नगएका बैंकहरुमा भने खराब कर्जा न्यून देखिएको छ। गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०।७९ प्रतिशत रहेको छ। बैंकले सम्भावित जोखिमबापत भने ७२ करोड रुपैयाँ छुट्याएको छ।
यसैगरी एनआइसी एशिया बैंकको पनि खराब कर्जा ०।८ प्रतिशत मात्रै रहेको छ। उसले सम्भावित जोखिमबापत ३९ करोड रुपैयाँ मात्रै छुट्याएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १।१७ प्रतिशत रहेको छ भने सानिमा बैंकको १.३ प्रतिशत र प्राइम बैंकको १.७७ प्रतिशत रहेको छ।
तर मर्जरमा गएका बैंकले खराब कर्जा नियन्त्रण गर्न सके बैंकको वित्तीय विवरण बलियो हुनसक्ने देखिएको छ। गत वर्ष सम्भावित जोखिम बापत ठूलो रकम छुट्याउनु परेकोले चालु आर्थिक वर्षका उक्त कर्जा उठाउन सकेमा आगामी वर्ष बैंकहरुको खुद नाफा बढ्ने छ भने यसले शेयरधनीलाई लाभांश दिनसक्ने क्षमता पनि बढाउने छ।

