काठमाडौं। काठमाडौं उपत्यकामा गर्मी बढेसँगै पौडी पोखरीहरू भरिन थालेका छन् । आजकाल दिनहुँजसो बालबालिकादेखि वयस्कहरूको पौडी पोखरीमा भिड लाग्ने गरेको छ।
पानी नपरेको हप्तौं भएसँगै अहिले राजधानीलगायत देशका धेरै भागमा गर्मी बढेको छ। तराईका केही जिल्लामा तातो हावा ९लू० समेत बहन थालिसकेको छ। त्यस्ता क्षेत्रका विद्यालयहरू अनिश्चितकालीन बन्द भएका छन्।
राजधानीका विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई विद्यालय पायक पर्ने पौडी पोखरीमा लैजान थालेका छन् । अहिले उपत्यकाका पौडी पोखरीहरू यिनै विद्यार्थीहरूले भरिने गरेको छ।
इमाडोलमा रहेको नोबेल इन्डोर स्विमिङ पुलका सञ्चालक भैरव क्षेत्रीका अनुसार अहिले दिनहुँ ३०० को हाराहारीमा विद्यार्थीहरू पौडी खेल्न आउने गर्दछन्।

