वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
पहाडमा फुटबल महोत्वस क्रेज
Prabhu Bank AD

 

धनकुटाको चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारको फुटबल मैदानमा हिजोआज बाक्लै चहलपहल हुन्छ । पूर्वी पहाडको यो सानो बजारमा फुटबलका फ्यान कति छन भनेर बुझ्न त्यही मैदानको डिलमा उभिए पुग्छ ।

राजारानीमा मात्रै होइन, इलामका अन्य पहाडी बजारमा पनि मेला, महोत्वस र चाडपर्वका बहानामा फुटबल प्रतियोगिताहरू भइरहेका छन् । जिल्लाका कतिपय पालिकाले ‘एक वडा, एक फुटबल मैदान’ नारा अघि सारेपछि त यहाँ कान्ला र बारी सम्याएर फुटबल मैदान बनाउने होड नै चलेको छ । यस्ता मैदानमा धेरैजसो स्थानीय टिमहरूकै प्रतिस्पर्धा हुन्छ । धनकुटा बजारस्थित तल्लो टुँडिखेलमा आयोजना हुने सहिद भीमनारायण गोल्ड कप फुटबल प्रतियोगितामा भने विदेशी टिमसमेत सहभागी हुँदै आएका छन् । प्रतियोगिताका संस्थापक राजेश्वरबहादुर श्रेष्ठले २०५५ सालमा १० हजार रुपैयाँमा सुरु गरेको प्रतियोगिता अहिले जिल्लाकै सबैभन्दा बढी राशिको भइसकेको छ । पछिल्लो समय प्रतियोगिताको लागत नै २० लाखभन्दा बढी रहेको उनले बताए ।

हालै राजारानीमा आयोजित रारा गोल्डकपको फाइनल खेल हेर्न आइपुगेका थिए, राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ । खेलप्रति लगानी बढ्नु र नियमित रूपमा प्रतियोगिता हुन थालेपछि जिल्लामा फुटबलको क्रेज बढेको उनको बुझाइ छ । पालिका अध्यक्ष राजकुमार चेम्जोङले फुटबल मैदान निर्माणका लागि चौबिसे गाउँपालिकाले हालसम्म एक करोड बढी रकम लगानी गरिसकेको सुनाउँदै चौबिसेका बोधे, मुक्तारा, त्रिवेणी, पाथी पोखरी, सोक्रोप्पा, मौनाबुधुक र सुरुङ्गीमा खेल मैदान निर्माण भइसकेका जनाए । पालिकाले बोधे खेल मैदानका लागि ४८ लाख र सुरुङ्गीमा ३ लाख तथा अन्य सबैमा १० लाखको दरले रकम लगानी गरेको छ ।

फुटबल संघका निवर्तमान अध्यक्ष गोविन्द राईका अनुसार धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको टुँडिखेल धनकुटा फुटबल संघले २५ वर्षका लागि लिजमा लिएर आकर्षक प्याराफिट बनाउनुका साथै सजिसजाउ पार्ने गरेको छ । मैदानको व्यवस्थापन र नियमित फुटबल खेल सञ्चालन भइरहेको उनले बताए । खेल मैदान स्तरोन्नतिमा धनकुटा नगरपालिकाले समेत रकम विनियोजन गर्दै आएको छ । नगर प्रमुख चिन्तन तामाङले पालिकाका अलवा सांसद विकास कोष र राष्ट्रिय खेलकुद परिषद्ले समेत जिल्लामा फुटबल मैदान स्तरोन्नतिमा रकम विनियोजन गरिरहेको बताए ।

फुटबल संघका जिल्ला अध्यक्ष मणि चेम्जोङका अनुसार अहिले जिल्लाका सातवटा पालिकामध्ये सहिदभूमि, साँगुरीगढी, छथर जोरपाटी गाउँपालिका र धनकुटा, पाख्रिबास तथा महालक्ष्मी नगरपालिका सबैले नियमित खेल आयोजना गर्दै आएका छन् । ‘खासगरी युवा पुस्तामा फुटबल खेलको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ,’ उनले भने, ‘खेल मैदान थपिँदै जाँदा खेल आयोजनाको क्रमसमेत तीव्र बन्दै गएको छ ।’

चौबिसे–६ शिखरबासस्थित हात्तीटारमा रहेको फुटबल मैदानका लागि स्थानीय जनकसेन लिम्बूले त आफ्ना बाबुआमाको नाममा ९ लाखको अक्षयकोष नै स्थापना गरिदिएका छन् । लिम्बूले जय दगलसेन लिम्बू थेगिम स्मृति अक्षयकोष स्थापना गर्दै नियमित प्रतियोगिता सञ्चालन गरिँदै आएको स्थानीय ज्ञानेन्द्र सुवेदीले बताए । खेलाडी रत्न राईले जिल्लाभर आलोपालो रूपमा फुटबल प्रतियोगिता आयोजना भइरहँदा खेलाडीहरूसमेत उत्साही भएको बताए ।

कोशीको धनकुटामा जस्तै कर्णालीको मुगुमा पनि फुटबलको क्रेज बढ्दो छ । स्थानीय क्लबहरूको सक्रियता र स्थानीय तहको प्रोत्साहनका कारण फुटबल खेलाडीहरू मात्रै होइन, क्रेजी फ्यानहरू पनि जन्मिन थालेका छन् । जस्तो कि, सोरु गाउँपालिका–४ का ७१ वर्षीय रनवीर शाही मंगलबार ३ घण्टा उकालो चढेर सोरुकोट पोग्रीमा फुटबल हेर्न आइपुगेका थिए । खेलको नियम राम्ररी थाहा नभए पनि रहरले आइपुगेका उनी खेल हेर्दा हुने उत्साहले आफूलाई तानेको बताए । उनले भने, ‘गाउँघरतिर हामी यसलाई भकुन्डो खेल भन्छौं, २र३ दिनअघि छिमेकीले पोग्रीमा भकुन्डो खेल हुँदै छ भनेका थिए, त्यसैले घरमा बस्न मन लागेन ।’ भीईगाउँका ६० वर्षीय दलबहादुर बूढा पनि गाउँबाट चार घण्टा हिँडेर फुटबल हेर्न आएका भेटिए । ‘अहिले त गाउँका तन्नेरीभन्दा पनि हामीहरू भकुन्डो खेल हेरेर रमाउँछौं,’ उनले भने ।

सोरु गाउँपालिकाले गत सोमबारदेखि सोरुकोटको पोग्रीचौरमा प्रथम उपाध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता सुरु गरेको छ । जसमा १७ टिमका झन्डै २ सय खेलाडी सहभागी छन् । बढ्दो गर्मीका कारण पालिकाले दैनिक दुई खेल खेलाइरहेको छ । स्थानीय सरकार गठनयता पालिकाले सबैभन्दा ठूलो जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । शनिबार सम्पन्न हुने प्रथम उपाध्यक्ष गोल्ड कप फुटबल हेर्न आसपासका गाउँबाट ज्येष्ठ नागरिक, महिला र बालबालिकाको घुइँचो देखिन्छ । पशु चौपाया चर्ने चौरमा प्रतियोगिता गरिएपछि स्थानीय महिला पनि घरधन्दाको काम छोडेर फुटबल हेर्न आएका देखिन्छन् । सोरुकोटका दलबहादुर कार्कीले दलका नेताले गर्ने राजनीतिक कार्यक्रमभन्दा खेलाडीको फुटबल हेर्न पाएर स्थानीय उत्साहित भएको बताए । ‘पहिले पाग्रीचौरमा देउडा मेला लाग्थ्यो, अहिले फुटबलले रौनक बढायो,’ उनले भने ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वीरेन्द्र मल्लले अहिले मुगुका विभिन्न गाउँमा आयोजना हुने विभिन्न मेला पर्वमा फुटबल प्रतियोगिता अनिवार्यजस्तै भएको बताए । उनका अनुसार सदरमुकाम गमगढीस्थित महाकाली माविको चौरमा अहिले सदरमुकाम आसपासका झन्डै तीन दर्जन युवाले दैनिक फुटबल अभ्यास गर्छन् । ‘कुनै बेला गाउँगाउँमा भलिबलको माहोल हुन्थ्यो, अहिले फुटबलको रौनक बढिरहेको छ,’ उनले भने, ‘युवापुस्तामा फुटबलको आकर्षण बढ्यो, खेलका दर्शक भने ज्येष्ठ नागरिक र महिला बढी हुन्छन् ।’

गमगढीमा नयाँ वर्ष, कात्तिक पूर्णिमा र दसैंको बेला जिल्लास्तरीय प्रतियोगिताको आयोजना हुने गरेको उनले बताए । त्यस्तै सोरुकोट र खत्याडमा पनि दसैं र कात्तिक पूर्णिमामा फुटबल प्रतियोगिता हुन्छ । मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा भने ल्होसारको समयमा बर्सेनि फुटबल प्रतियोगिता गरिन्छ । चारवटै स्थानीय तहमा आयोजना हुने राष्ट्रपति रनिङ सिल्डमा फुटबल प्रतियोगिता समावेश गरिएपछि भने बालबालिकामा पनि फुटबलप्रति आकर्षण निकै बढेको हो ।

व्यवस्थित खेल मैदान नभए पनि धूले चौरमा खेलाडी उत्तिकै जोसका साथ खेलिरहेका भेटिन्छन् । समर्थकहरूको हुटिङ पनि उत्तिक चर्को । भामबाडा फुटबल टिमका कप्तान गणेश सेजुवालले धुलाम्य मैदानमा भए पनि फुटबलमा निकै उत्साह जागेको बताए । ‘कुनै पनि कुराको सुरुवात सुविधाबाट हुन सक्दैन, सबै कुरा जटिलबाट सरल हुँदै जान्छ,’ उनले भने । सदरमुकामस्थित छायानाथरारा नगरपालिका–१० का १९ वर्षीय बिक्की विक भामबाडा फुटबल टिमबाट खेल्न सोरुकोटको पाग्री आएका छन् । अभिभावकले मजदुरी गरेरै घर खर्च चलाए पनि उनी जिल्लामा फुटबलका राम्रा खेलाडी हुन् । ‘सुर्खेतमा पनि अर्को प्रतियोगिता हुँदै थियो, तर मलाई गाउँ आउन मन लागेर यता आएको हुँ,’ उनले भने, ‘धूलोधूवाँमा फुटबल खेलेको खेलाडीले जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छ ।’

१० औं राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुन लागेकाले खेलप्रति युवा आकर्षण बढाउन र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताए । ‘पछिल्लो पुस्तामा फुटबलप्रति क्रेज बढिरहेको छ, यस्ता प्रतियोगिताले खेलाडीलाई थप परिष्कृत बनाउँछन्,’ उनले भने, ‘भौतिक पूर्वाधार मात्र विकास होइन, खेलकुदको विकास पनि समाज रूपान्तरणको पाटो हो ।’ गाउँपालिकालाई खेलकुद ‘हब’ बनाउने गरी खेल पूर्वाधार निर्माण र प्रतियोगिताको आयोजना गर्ने कार्ययोजना बनाइएको उनले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय