सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टोली (एनआरटी) लाई पराजित गरेको छ।
सातदोबाटोस्थित च्यासल खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र न्युरोड टोली एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। मच्छिन्द्रको जितमा आफिज ओलावालेले र सौरभ लिम्बूले समान एकरएक गोल गरे।
ओलावालेले खेलको ३१औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सौरभले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित दिलाए। यस जितसँगै मच्छिन्द्रले २० खेलमा ३४ अंक जोडेको छ। समान खेल खेलेको एनआरटीले २३ अंक जोडेको छ।
यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको छ।
खेलको १३औँ मिनेटमा मनाङका कोफी कुडोलले पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता लिए। एपिएफका खेलाडी विश्वास सुन्दासले पेनाल्टी क्षेत्रभित्र मनाङका सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टी पाएको थियो। यसको सदुपयोग कोफीले गरे।
त्यस्तै, खेलको २०औँ मिनेटमा एपिएफका खेलाडी नवीन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको २६औँ मिनेटमा मनाङका सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ गोलको अग्रता दिलाए।
मनाङले खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनायो। मनाङको २–१ गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको दोस्रो हाफमा एपिफले एक गोल थपेपछि खेल २र२ गोलको बराबरीमा सकियो। खेलको ६४औँ मिनेटमा एपिएफका अर्मान्ड विडोमले गोल गरेका थिए।
यस बराबरी खेलसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ। समान खेल खेलेको एपिएफले २३ अंक जोडेको छ।

