वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बार्सालाई च्याम्पियन्स लिग जिताउने टोलीका अन्तिम खेलाडीले पनि क्लब छाडे
Prabhu Bank AD

सन् २०११ को युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको थियो । यो त्यही समय थियो, जतिबेला विश्व क्लब फुटबलमा बार्सिलोनाले आफ्नो गतिलो प्रभाव जमाएको थियो ।

त्यो वर्षको यूईएफए सुपर कप, फिफा क्लब विश्वकप र स्पेनिस ला लिगाको उपाधि पनि बार्सिलोनाकै पोल्टामा परेको थियो । त्यो वर्ष बार्सिलोनालाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि चुमाउने टोलीका खेलाडीहरुबीच पनि गजबको तालमेल देखिन्थ्यो ।

खासगरी बार्सिलोनालाई १२ वर्षअघि च्याम्पियन्स लिग जिताउने टोलीका खेलाडीमध्ये सन् २०२३ सम्म आइपुग्दा एक जनामात्र क्लबमा बाँकी थिए । यतिबेला ती अन्तिम खेलाडीले पनि क्लब छाड्ने निर्णय गरेका छन् । उनी हुन्, सर्जियो बुस्केट । उनले बुधबार क्लब छाड्ने घोषणा गरेका हुन् ।

सन् २०११ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई ३—१ गोलले हराएको थियो । फाइनलमा बार्सिलोनाका लागि मेसी, पेड्रो र डेभिड भियाले गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि भने एकमात्र गोल वेन रोनीले गरेका थिए ।

त्यतिबेला बार्सिलोनाका प्रशिक्षक थिए, पेप ग्वार्डिओला । अनि म्यानचेस्टर युनाइटेडकको भूमिका थिए, सर एलेक्स फर्गुसन । उनै प्रशिक्षक फर्गुसनले आफ्नो टोली फाइनलमा पराजित भएपछि बार्सिलोनाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

‘मैले सामना गरेका विपक्षीहरुमध्ये बार्सिलोना सबैभन्दा उत्कृष्ट टोली हो,’ फर्गुसनले भनेका थिए । ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको बार्सिलोनामा त्यतिबेला लियोनल मेसी, जाभी, आन्द्रे इनिएस्टाजस्ता खेलाडी थिए ।

बुस्केटले क्लब छाड्ने भएपछि अब १२ वर्षअघि च्याम्पियन्स लिगको उपाधि जिताउने कुनै पनि सदस्य बार्सिलोनामा बाँकी रहने छैनन् । अहिले कहाँ छन् त बार्सिलोनालाई महत्वपूर्ण सफलता दिलाउने र विपक्षी टोलीका प्रशिक्षक फर्गुसनले समेत प्रसंशा गरेका ती खेलाडीहरु रु

भिक्टर भाल्डेस (गोलकिपर)
नोउ क्याम्पमा १२ वर्ष बिताएर भिक्टर भाल्डेसले सन् २०१४ मा बार्सिलोना छाडेका थिए । बार्सिलोनामा रहँदा उनले ६ वटा ला लिगा उपाधि, ३ वटा च्याम्पियन्स लिग र २ वटा स्पेनिस कपको उपाधि जितेका थिए । बार्सिलोना छोडेपछि उनी म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका थिए । तर, उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेल्न पाएनन् । म्यानचेस्टर युनाइटेडबाट केवल २ खेल खेलेका भाल्डेस त्यसपछि सन् २०१६ मा लोनमा बेल्जियन क्लब स्टान्डर्ड लिगमा आबद्ध भए । स्टान्डर्ड लिगामा पनि उनले ६ खेलमात्र खेले ।

सन् २०१६ मा उनी इङ्लिस क्लब मिडल्सब्रोघमा आबद्ध भए । २८ खेलपछि उनले सन् २०१७ मा मिडल्सब्रोघ पनि छाडे । मिडल्सब्रोघ छाडेपछि ४१ वर्षीय भाल्डेसले खेलाडीको भूमिकाबाट विदा लिए । त्यसपछि उनी प्रशिक्षकको भूमिकामा देखा परेका थिए । बार्सिलोनाको युथ टोलीलाई समेत प्रशिक्षण गराएका उनी सन् २०२०÷२१ सिजनमा प्रशिक्षकको रुपमा बार्सिलोनामै रहेको क्लब होर्तामा आबद्ध भएका थिए ।

एरिक अबिदल (लेफ्ट ब्याक)
बार्सिलोनालाई सन् २०११ मा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका फ्रान्सेली खेलाडी एरिक अबिदल कलेजोको समस्याबाट पीडित भए । स्वास्थ्य समस्याले पिरोल्दै लगेपछि सन् २०१२ को अप्रिलमा उनको कलेज प्रत्यारोपण गरिएको थियो । त्यसपछि सन् २०१२ को डिसेम्बर १८ मा उनी पुनः बार्सिलोनाको प्रशिक्षणमा फर्किएका थिए । सन् २०१३ मा उनी आफ्नो पूर्वक्लब मोनाकोमा आबद्ध भए । दोस्रोपटक फ्रान्सेली क्लबमा आबद्ध भएका उनी त्यहाँ सन् २०१४ सम्म रहे । उक्त क्लबबाट उनले २६ खेल खेले ।

मोनाको छाडेर उनी सन् २०१४ मा ग्रिसको व्यवसायिक क्लब ओलम्पियाकसमा आबद्ध भए । सो क्लबबाट उनले ९ खेल खेलेका थिए । ४३ वर्षीय अबिदलले ओलम्पियाकसमै रहँदा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । सन् २०१८ को जुनमा उनी फुटबल निर्देशकका रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । सन् २०२० को अगस्तमा उनी त्यो जिम्मेबारीबाट पनि मुक्त भए ।

जाभियर मास्चेरानो (सेन्टर ब्याक)
जाभियर मास्चेरानो इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा रहँदा मिडफिल्डरको भूमिकामा मैदानमा देखा पर्थे । सन् २०१० मा बार्सिलोनामा आबद्ध भएपछि भने उनी डिफेन्डरका रुपमा खेल्न थाले । १२ वर्षअघि बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा उनी पनि टोलीका महत्वपूर्ण सदस्य थिए । यी अर्जेन्टिनी खेलाडीले सन् २०१८ मा बार्सिलोना छाडेका थिए । चीनीया लिग खेल्न हेबई चाइना फोच्र्युनमा आबद्ध भए । एक वर्ष उक्त क्लबमा रहँदा उनले ५३ खेल खेलेका थिए । त्यसपछि १ वर्ष उनले अर्जेन्टिनी व्यवसायिक लिग खेले ।

हाल ३८ वर्षीय मास्चेरानो प्रशिक्षकको भूमिकामा छन् । उनी सन् २०२१ मा अर्जेन्टिनाको यू—२० टोलीमा प्रशिक्षकमा रुपमा आबद्ध भएका हुन् ।

जेरार्ड पीके (सेन्टर ब्याक)
सन् २००८ मा बार्सिलोनामा आबद्ध भएका जेरार्ड पीकेले १४ वर्ष त्यहाँ बिताए । सन् २०११ मा च्याम्पियन्स लिग जितेपछि पनि उनी थप ११ बर्ष बार्सिलोनामै बसे । बुस्केट र पीकै नै लामो समय बार्सिलोनामा बस्ने खेलाडी हुन् ।
अन्ततः सन् २०२२ को नोभेम्बरमा उनले बार्सिलोनामै रहँदा उनले व्यवसायिक खेल जीवनबाट सन्न्यास पनि लिए । उनले स्पेनलाई सन् २०१० को विश्वकप जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्पेनले सन् २०१२ मा युरो कप जित्दा पनि ३६ वर्षीय पीके टोलीका महत्वपूर्ण सदस्य थिए ।

सन् २०११ को च्याम्पियन्स लिगपछि पनि उनले बार्सिलोनालाई सन् २०१५, सन् २०१६, सन् २०१८ र सन् २०१९ मा ला लिगाको उपाधि चुमाएका थिए ।

डानी आल्भेस (राइट ब्याक)
प्रभावशाली ब्राजिलियन फुटबर हुन्, डानी आल्भेस । हालसम्म ब्यवसायीक फुटबलमा सक्रिय रहेका ४० वर्षीय आल्भेस सन् २००८ मा बार्सिलोनामा आबद्ध भएका थिए । उनी सन् २०१६ सम्म बार्सिलोनामा रहे । बार्सिलोना छाडेपछि उनले १ सिजन इटालियन सिरिए क्लब युभेन्ट्सबाट खेले । सन् २०१७ देखि सन् २०१९ सम्म उनी फ्रेन्च लिग खेल्न पेरिस सेन्ट जर्मन (पीएसजी)मा आबद्ध भएका थिए । पीएसजीबाट उनले ४८ खेल खेलेका थिए ।

त्यसपछि उनले २ सिजन ब्राजिलियन क्लब साओ पाउलोमा बिताए । सन् २०२१ मा उनी पुनः बार्सिलोना नै फर्किए । बार्सिलोनामा एक सिजन रहँदा उनले १४ खेल खेलेर १ गोल गरेका थिए । बार्सिलोना छाडेर उनी सन् २०२२ मा मेक्सिकन क्लब युनममा आबद्ध भए । हाल उनी यौन दूर्व्यवहारको आरोपमा स्पेनको कारागारमा छन् । उनीमाथिको अनुशन्धान जारी छ । यौन दूरव्र्यवहारको आरोप लागेपछि क्लबले पनि उनलाई बर्खास्त गरेको छ । उनले सन् २०१५ मा पनि बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

सर्जियो बुस्केट्स (मिडफिल्डर)

बार्सिलोनामा सबैभन्दा लामो समय बिताउने खेलाडीमध्ये एक हुन्, मिडफिल्डर सर्जियो बुस्केट्स । ३४ वर्षीय बुस्केट्सले बार्सिलोनामा १८ वर्ष बिताइसकेका छन् । सिनियर टोलीबाट खेल्नुअघि पनि उनले बार्सिलोनाको युवा टोलीको प्रतिनिधित्व गरेका थिए ।

उनले बुधबार अप्रत्यासित रुपमा बार्सिलोना छाड्ने घोषणा गरेका छन् । सन् २०११ मा च्याम्पियन्स लिग जित्ने टोलीका सदस्यमध्ये उनी अन्तिम खेलाडी हुन्, बार्सिलोना छाड्ने । उनले बार्सिलोनाबाट ४ सय ७८ खेल खेलिसकेका छन् ।

यसबीचमा बुस्केट्सले क्लबलाई घरेलु लिग, घरेलु कप, युरोपियन कपलगायतका थुप्रै उपाधि दिलाएका छन् । सन् २०११ को च्याम्पियन्स लिगपछि पनि उनले बार्सिलोनालाई १८ वटा महत्वपूर्ण उपाधि जिताएका छन् । उनले सन् २००९ देखि सन् २०२२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट १ सय ४३ खेल खेलेका थिए । उनी स्पेनलाई विश्वकप जिताउने टोलीका सदस्य पनि हुन् ।

जाभी (मिडफिल्डर)

बार्सिलोनामा निकै लामो समय बिताउने खेलाडीमध्ये जाभी पनि एक हुन् । जाभीले सन् १९९८ देखि सन् २०१५ सम्म बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । त्यसबीचमा उनले क्लबका लागि ५ सय ५ खेल खेल्दै ५८ गोल गरेका थिए । सिनियर टोलीमा आबद्ध हुनुअघि पनि उनी बार्सिलोनामै थिए । सन् १९८४ देखि सन् १९९७ सम्म उनी बार्सिलोनाको युवा टोलीमा थिए । त्यसपछि सन् १९९७ मा उनले बार्सिलोनाको ‘बी’ टोलीबाट खेले । सन् २०१५ मा बार्सिलोना छाडेर उनी कतारी क्लब अल सादमा आबद्ध भए ।

उनले सन् २०१९ सम्म अल सादमा रहँदा ८२ खेल खेलेर २१ गोल गरेका थिए । त्यसपछि उनले अल सादमै २ वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरे । ४३ वर्षीय जाभी हाल आफ्नै पुरानो क्लब बार्सिलोनाको प्रशिक्षक छन् ।

आन्द्रेज इनिएस्टा (मिडफिल्डर)

इनिएस्टाले बार्सिलोनाको सिनियर टोलीबाट १६ वर्ष खेले । सन् २००२ मा बार्सिलोनाको सिनियर टोलीमा आबद्ध भएका उनले सन् २०१८ मा क्लब छाडेका थिए । त्यसअघि पनि उनी बार्सिलोनाकै युवा टोली र ‘बी’ टोलीमा सहभागी थिए ।

बार्सिलोनाको सिनियर टोलीबाट उनले ४ सय ४२ खेल खेल्दै ३५ गोल गरेका थिए । बार्सिलोना छाडेर ३९ वर्षीय इनिएस्टा सन् २०१८ जापानी क्लब भिसेल कोबेमा आबद्ध भएका थिए । उनी अहिले पनि त्यही क्लबमा छन् । कोबेबाट उनले हालसम्म १ सय ११ खेल खेल्दै २१ गोल गरेका छन् । सन् २०११ मा च्याम्पियन्स लिग जितेपछि पनि उनी थप ७ वर्ष क्लबमा रहे ।

लियोनल मेसी (फरवार्ड)

बार्सिलोनालाई सन् २०११ को च्याम्पियन्स लिग जिताउन अर्जेन्टिनी खेलाडी लियोनल मेसीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाको युवा टोलीबाट खेल जीवन अगाडि बढाएका ३५ वर्षीय मेसी ‘सी’ र ‘बी’ टोली हुँदै सिनियर टोलीमा पुगेका थिए । सन् २००४ मा उनी बार्सिलोनाको सिनियर टोलीमा सहभागी भएका थिए । सन् २०२१ मा क्लब छाड्नुअघि उनले बार्सिलोनाका लागि ५ सय २० खेल खेल्दै ४ सय ७४ गोल गरेका थिए । बार्सिलोनाका लागि उनले गरेको गोल सँख्याले नै उनको क्लबमा उनको महत्व झल्काउँछ ।

उनी बार्सिलोनाको थुप्रै सफलताका मुख्य नायक हुन् । उनी सन् २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० मा आबद्ध भएका थिए । हालसम्म पीएसजीबाट उनले ५४ खेल खेलेर २१ गोल गरिसकेका छन् । पछिल्लो समय उनले पीएसजी पनि छाड्न लागेको चर्चा चलेको छ । उनी अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान पनि हुन् । अर्जेन्टिनाका लागि उनले हालसम्म १ सय ७४ खेल खेलेर १ सय २ गोल गरिसकेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो ।

डेभिड भिया (फरवार्ड)

स्पेनिस खेलाडी डेभिड भियाले बार्सिलोनाबाट ३ वर्षमात्र खेले । यसैबीचमा उनले सन् २०११ मा बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधिसमेत चुमाएका थिए । यसअर्थमा उनी भाग्यमानी खेलाडी पनि हुन् सन् २०१० मा बार्सिलोनामा आबद्ध भएका ४१ वर्षीय भियाले सन् २०१३ मा क्लब छाडेका थिए । बार्सिलोनामा रहँदा उनले ७७ खेल खेलेर ३३ गोल गरेका थिए । त्यसपछि उनले अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट एक सिजन खेले ।

त्यसपछि न्युयोर्क सिटी, मेलबर्न सिटीहुँदै उनले भिसेल कोबेबाट पनि व्यवसायिक फुटबल खेले । सन् २००५ देखि सन् २०१७ सम्म उनी स्पेनिस राष्ट्रिय टोलीका सदस्य थिए । उनले स्पेनका लागि ९८ खेल खेल्दै ५९ गोल गरेका थिए । उनी हाल भारतीय क्लब ओडिसा एफसीमा ग्लोबल फुटबल अपरेसनका प्राविधिक सल्लाहकार हुन् ।

पेड्रो (फरवार्ड)

पेड्रो बार्सिलोनाको युवा टोलीबाट तिखारिएका खेलाडी हुन् । स्पेनिस खेलाडी पेड्रो बार्सिलोनाको ‘सी’ र ‘बी’ टोली हुँदै सिनियर टोलीमा आबद्ध भएका थिए । उनले सन् २००८ देखि सन् २०१५ सम्म बार्सिलोनाको सिनियर टोलीबाट खेलेका थिए । उनले बार्सिलोनाको सिनियर टोलीबाट २ सय ४ खेल खेल्दै ५८ गोल गरेका थिए । सन् २०१५ मा बार्सिलोना छाडेर उनले पाँच वर्ष इङ्लिस क्लब चेल्सीमा बिताएका थिए । चेल्सीमा रहँदा उनले १ सय ३७ खेल खेल्दै २९ गोल गरेका थिए ।

त्यसपछि उनले एक सिजन इटालियन क्लब रोमाबाट पनि खेले । सन् २०२१ मा उनी अर्को इटालियन क्लब लाजियोमा आबद्ध भएका थिए । उनले हालसम्म लाजियोबाट ६४ खेल खेल्दै १३ गोल गरिसकेका छन् । ३५ वर्षीय पेड्रोले सन् २०१० देखि सन् २०१७ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

यसका अतिरिक्त सन् २०११ मा बार्सिलोनाले च्याम्पियन्स लिग जित्दा केही खेलाडी परिवर्तित खेलाडीका रुपमा बेञ्चमा थिए । उनीहरु पनि अहिले बार्सिलोनामा छैनन् । त्यतिबेला थिआगो अलकान्ट्रा, बोजन, इब्राहिम अफेली, बार्सिलोनाका पूर्वकप्तान कार्लेस पुयोलले भने सन् २०१४ मा खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । त्यतिबेला बार्सिलोनालाई उपाधि जिताउने प्रशिक्षक पेप ग्वार्डिओला पनि अहिले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय