वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आज नेपाली सेनाको २६० औँ स्थापना दिवस : यस्ता छन् नेपाली सेनाले लडेका दश ऐतिहासिक युद्ध
Prabhu Bank AD

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६० औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ ।

प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।

नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोेहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् ।

 

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दैआएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको विसं १८१९ देखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखी गरेको गौरवशाली कार्यबाटै नागरिकबीचमा सेना आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।

 

सैनिक वीरपुर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेन अफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तीस जातिको फूलबारीजस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदैगएको छ ।

 

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदैआएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४४ हजार नौ सय ६९ भन्दा बढी सैनिकबाट योगदान भइसकेको छ ।

 

विश्वका शान्ति कायम गर्ने सिलसिलामा ७२ नेपाली शान्ति सैनिकको बलिदानी भइसकेको छ भने ६६ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १३ शान्ति मिसनमा पाँच सय ४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ ।

 

संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको खण्डमा १० हजार शान्ति सैनिक पठाउन सक्ने नेपालले प्रतिबद्धता जाहेर गरिसकेको छ । यसैबीच विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गरेको छ । सेना दिवसका अवसरमा यसपटक भारतीय सेनाका पूर्व पाँच प्रमुख समारोहमा भाग लिन यहाँ आइसकेका छन्।

द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ ।

यस ऐतिहासिक अवसरमा नेपाली सेनाले लडेका गौरवशाली ऐतिहासिक युद्धहरुका बारेमा संक्षिप्तमा यहाँ प्रस्तुत गरिएको छ :

नेपाल भोट युद्ध (वि.सं.) १८४५०

नेपालको राष्ट्रिय एकीकरणपछि नेपालमा शुद्ध चाँदीका टकहरू बन्न थाले, चल्न थाले । त्यस बखतमा मल्लकालीन केही मिसावटी टक पनि भोटमा चल्दथे । यसले गर्दा नेपाल र भोटबीच शुद्ध टक व्यापारमा कसरी प्रचलनमा ल्याउने भन्ने प्रश्न उठ्यो । मल्लकालीन केही मिसावटी मुद्राको विवाद पृथ्वीनारायणका पालामा समाधान हुन पाएन । त्यो झगडाको बिउ फैलिँदै आएर पछि १८४५ सालमा लडाइँको रूप लियो ।
१८४६ सालमा श्री कृष्ण शाह, काजी रणजित पाण्डे, सरदार पारथ भण्डारी, कप्तान हर्ष पन्थ, कप्तान नाहारसिंह बस्न्यात, कप्तान शिवनारायण खत्रीको नेतृत्वमा नेपाली फौजले छोच्याङ हुँदै कुतीमा हमला गरी कुती कब्जा गर्‍यो । त्यस्तै सरदार अमर सिंह थापा, काजी कीतिमान सिंह बस्न्यात अदिको नेतृत्वमा लडाइँ गर्दै अगाडि बढेको नेपाली सेनाले केरुङ, झुंगा, शिखरजोङ आदि धेरै ठाउँ कब्जा गर्‍यो । साथै काजी दामोदर पाण्डे, काजी देवदत्त थापा, कप्तान बम शाह आदिको नेतृत्वमा अगाडि बढेको नेपाली सेनाले दिगर्चा जित्यो ।

आखिर १८४७ सालमा केरुङमा नेपाल–भोटबीच सम्झौता भयो । सो सम्झौता बमोजिम नेपाली शुद्ध चाँदीको एक मोहर बराबर भोटमा चलेका दुई मोहर हुने र भोटले हरेक साल नेपाललाई रु। ५० हजार कर तिर्ने व्यवस्था भयो ।

नेपाल–भोट युद्ध (वि.सं.) १८४८०

१८४७ सालको सम्झौतालाई एक वर्षपछि भोटले पालन गर्न छाडेकाले फेरि नेपाली सैन्य अभिमान सिंह बस्न्यातको नेतृत्वमा केरुङतिरबाट अगाडि बढ्यो, कुतीतिरबाट काजी दामोदर पाण्डेको नेतृत्वमा बढेको नेपाली फौजले भोटमा हमला गर्‍यो । भोटका कैयौँ इलाका कब्जा गर्दै टाशी लामाको राजधानी दिगर्चासम्म पुग्यो । दिगर्चाबाट फर्कंदा दुई हजार जवान नोक्सान परे ।

१८४८ सालमा नै त्यहाँ सुनचाँदी, नगद बटुलेर नेपाली फौज काठमाडौं फक्र्यो । भोटका लामाका बजिरलाई पनि पक्रेर ल्याई काठमाडौंमा कैद गरे ।

नेपाल–चीन युद्ध (१८४९)

नेपाली सेनाले दिगर्चासम्म पुगेर आक्रमण गरेकाले भोटेहरूले चीनसँग सैनिक सहायता मागे । फलस्वरूप भोट आएको ७० हजारमध्ये ४० हजार चिनियाँ फौज नेपाली सैन्यसँग जुध्न भनेर केरुङ हुँदै नेपालभित्र प्रवेश गर्‍यो र धुन्चेसम्म बढ्दै आयो । चौतरिया बम शाह र काजी दामोदर पाण्डेका नेतृत्वमा नेपाली फौज कुती केरुङसम्म पुग्यो ।

धुन्चेमा नेपाली सेनाले ठूलो बहादुरी र रणकौशल देखाई चिनियाँ फौजको अधिकांश भाग ध्वस्त पारे । आफ्नो हार निश्चित भएपछि चीन सम्राटका ज्वाइँ टुङथ्याङ, जो चिनियाँ फौजका कमान्डर थिए, ले शान्ति सम्झौता गर्ने प्रस्ताव राखेर रातारात धैबुङसम्म घुुसे । सो चिनियाँ चाल बुझेर नेपाली फौजले चिनियाँ फौजलाई त्यहीँ रोके । आखिर बेत्रावती नेदीको तटमा नेपाली र चिनियाँ फौजबीच घमासान लडाइँ भयो । वीर नेपाली सेनाले चिनियाँ फौजलाई हरायो र यस प्रकार फेरि चिनियाँ फौजी कमान्डरले वास्तविक शान्ति सम्झौता गर्ने मनसुवा प्रकट गर्न बाध्य भए । सन्धि भयो । त्यसपछि १८४९ असोज ५ का दिन देवदत्त थापा, सुब्बा प्रतिमन राना समेत भएको एक नेपाली दूत मण्डल चीनतर्फ प्रस्थान गर्‍यो ।

नेपाल भोट युद्ध (१९११)

१९०३ सालमा कुख्यात कोतपर्वपछि नेपालको राजनीतिक क्षितिजमा जंगबहादुरको उदय श्री ३ महाराजको रूपमा भइसकेको थियो । १९१० तिर चीन गएको नेपाली प्रतिनिधिमण्डलको अनादर भएको र भोटले पहिले कब्जा गरेको कुती र केरुङका इलाका फिर्ता नगरेकाले नेपालले भोटसँग युद्ध गर्नुपर्ने स्थिति पर्‍यो । १९११ मा कमान्डर इन चिफ जनरल बमबहादुर कुँवरको मातहतमा कमान्डिङ कर्णेल कनकसिंह खत्रीद्वारा हाँकिएको ८ कम्पनी रैफल, देवीदत्त, गणेश दल, बरख, भैरवनाथ, महेन्द्र दल, पुरानो गोरख र जगन्नाथ– झुंगातर्फबाट केरुङ जित्न खटियो । सो फौजको राशन बन्दोबस्त गर्न जनरल जगत शमशेर खटिएका थिए । १९११ फागुन २१ गते शनिबार पूर्णिमाको साइत गरी जनरल धीर शमशेरको मातहतमा कमान्डिङ कर्णेल पहलमान सिंह बस्न्यातद्वारा हाँकिएको फौज, जसमा कालीप्रसाद, गोरखनाथ, शेर आदि कम्पनी लिस्ती हुँदै कुतीतिर प्रस्थान गर्न खटियो । बिग्रेडियर जनरल खड्गबहादुर कुँवरको नेतृत्वमा श्रीनाथ, हिमालीध्वज र भवानीबक्स आदि कम्पनी ओलाङचुङगोलाबाट भोटमा हमला गर्न खटियो । प्युठान, सल्यान, डोटी, बैतडी र जुम्लामा रहेका देवीदत्त, अरिदमन, कालीजंग, चन्दननाथ, भैरवनाथ, तारादल आदि कम्पनी मेजर जनरल कृष्णध्वज कुँवर राणाको नेतृत्वमा यारी हुँदै ताक्लाकोटतर्फ हमला गर्न खटिए । १९११ को अन्त्यतिर नेपाली सेनाले भोटमाथि आक्रमण गर्‍यो ।

जनरल धीरशमशेरको नेतृत्वमा गएको नेपाली सेनाले कुती हात लगायो । जनरल बमबहादुरको नेतृत्वमा गएको सेनाले केरुङ जित्यो । चिनियाँ मद्दत नपाएकाले भोटले घुँडा टेक्यो । तसर्थ सम्झौताका क्रम आरम्भ भए । १९१२ जेठदेखि करिब ८ महिनासम्म ल्हासा, काठमाडौं, सिकारझाङ तीन ठाउँमा तीन चरणमा कुराकानी र छलफल भयो । १९१२ पुसमा नेपाल र भोटबीच सन्धि भयो । भोटले नेपाललाई १० हजार काला मोहर बुझाउन थाल्यो । नेपाली बेपारीले ल्हासामा लाने सामानमा भोटले कुनै भन्सार नलिने व्यवस्था भयो ।

नेपाल भोट विवाद (१९३९)

सन्धिले युद्ध समाप्त गरे पनि दुवै देशका बीच कुनै पनि बखत लडाइँ हुने स्थिति सिर्जना गर्‍यो । १९३९ को चैतमा भोटेहरूले ल्हासामा नेवार महाजनहरूको ८४ कोठीहरू लुटपिट गरेपछि स्थिति चर्कियो । सो लुटपिटको हर्जाना नेपालले मागेपछि भोटले १९४० माघमा पठाएको चिनियाँ र भोट संयुक्त प्रतिनिधि मण्डल रसुवा आइपुगेपछि सोही वर्ष फागुनमा सम्झौता वार्ता भई १९४१ जेठ सुदी २ सोमबारका दिन नेपाल र भोटबीच सन्धिपत्रमा हस्ताक्षर भयो । लुटपिट भएको सम्पत्तिको हर्जाना भोटले नेपाललाई तिर्ने भयो ।

भोटसँग युद्धको तयारीसहित १९४१ सालतिरै नेपाल सरकारलाई लडाइँको तयारी गर्नेबारे सल्लाह र सहयोग दिन एक युद्ध कार्यालय ९वार अफिस० खडा भएको थियो । अधिकार सम्पन्न सो युद्ध कार्यालय ७ भारदारको मातहतमा थियो ।

कुमाउ विजय (१८४८)

१८४७ सालतिरको कुरा हो, कुमाउमा को नरेश हुने भन्नेबारे अन्योलको स्थिति थियो । यही मौका पारी नेपालबाट काजी दामोदर पाँडेले १८४७ सालमा आफ्ना भाइ जगजित पाँडे र काजी अमर सिंह थापाको नेतृत्वमा नेपाली सैन्य कुमाउ हान्न पठाए । कुमाउका नरेश लाल सिंह र महिन्द्र चन्द्र दुवैले नेपाली सेनालाई रोक्न आफ्नो केही फौज बुथलगडमा पठाए तर लडाइँमा कुमाउ सेना पराजित हुँदा दुवै कुमाउ नरेश भागे । फलस्वरूप १८४८ मा कुमाउ राज्य नेपालमा मिलाइयो ।

गढवाल विजय (१८५२)

कुमाउ जितेपछि १८४९ मा जगजित पाँडे र अमरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले गढवालमाथि हमला गर्‍यो । लडाइँ दुई वर्ष भयो । गढवाल कब्जा हुन आँटेकै थियो । चिनियाँ फौज नेपालतर्फ बढ्यो भन्ने खबर आएको र नेपाली फौज गढवालबाट फर्काउने अर्डर हुँदा नेपालतर्फ फर्किरहेकै अवस्थामा भोटसँग सम्झौता भएको अर्को खबर आयो । फेरि काजी अमर सिंह थापाले आफ्ना ६ हजार सेना लिएर गढवालमाथि हमला गरे । गढवाली नरेश प्रद्युम्न शाहा लडाइँमा हारेर देहरादुनतर्फ भागे । काजी अमर सिंह थापाले गढवाल सर गरे । गढवालले सालिन्दा दुई लाख रुपैयाँ कर तिर्न थाल्यो ।

देहरादुन विजय (१८५३)

भागेर देहरादुन पुगेका गढवालका नरेश प्रद्युम्नले त्यहाँ नयाँ फौज तयार गरे । १९५३ सालमा गुरुघना भन्ने ठाउँमा नेपाली सेनासँग लड्न आए । त्यहाँ पनि नेपाली सैन्यसँग उनी हारे, त्यस लडाइँमा उनी स्वयंको मृत्यु भयो । नेपाली सेनाले देहरादुन कब्जा गर्‍यो । देहरादुनले वार्षिक ५० हजार रुपैयाँ नेपाललाई कर तिर्न थाल्यो ।

सिरमौर विजय (१८६३)

काँगडा र विलासपुर मुण्डीका बीच लडाइँ हुँदा सिरमौरले विलासपुर मुण्डीपट्टि लागेर लडेको थियो । त्यसैले काँगडाले हन्दुर राज्यलाई भड्काई सिरमौरसँग लडाइँ गरायो । त्यस बखत सिरमौरका नरेश कर्ण प्रकाशले गढवालमा काजी अमरसिंह थापासँग सहायता मागे । उनको सहायतार्थ सरदार भक्ति थापा एक हजार नेपाली फौज लिएर खटिई आए । तर पनि सिरमौर पराजित हुँदा नरेश कर्ण प्रकाश अमर सिंह थापाकहाँ गढवालमा आएर शरण लिए ।

१९६३ सालमै काजी अमरसिंह थापाले हन्दुर राज्यमाथि हमला गरी स–साना धेरै ठकुराई कब्जा गरे । त्यसपछि थापाको नेतृत्वमा नेपाली फौजले काँगडामाथि आक्रमण गरे । पञ्जाब नरेश रणजित सिंहले काँगडाको सहायतार्थ सेना पठाएकोले नेपाली सेनाले केही क्षति सहनुपर्‍यो । त्यसबखत काजी थापालाई सिरमौरका नरेश कर्ण प्रकाशले अनादर गरी धोका दिएका थिए । त्यसको बदला अमरसिंहका छोरा कर्णेल रणजित थापाले १८६३ सालमा सिरमौर राज्यमाथि हमला गरी कब्जा गरे । गढवाल र सिरमौरबीचका ससाना ठकुराई सिरमौरको आधिपत्य स्वीकार गर्थे । सिरमौर नेपालको अधीनमा आएपछि ती १२ ठकुराई पनि लडाइँ बिना नै नेपालको अधिन भए ।

१८६७ सालमा केही ठूला ठकुराई मिलेर नेपाली सेनासँग पंथजराको रणक्षेत्रमा जम्मा भए । पंथजरा ९काँगडा० मा भीषण युद्ध भयो । नेपाली सेना विजयी भयो । नेपाललाई १२ ठकुराई सब मिलेर रु। ३३ हजार कर तिर्न थाले ।

इस्ट इन्डिया कम्पनीसँग युद्ध (१८७१)

धेरै समयदेखि बुटवल र शिवराज (स्युराज) जिल्लामा आफ्नो आधिपत्य कायम गरी नेपालले मालपोत उठाउँदै आएको थियो । त्यसमा भारतीय महाद्वीपमा साम्राज्यवादको पन्जा फैलाइरहेको इस्ट इन्डिया कम्पनीले १८७१ सालमा बुटवल र शिवराजमा ठानाहरू र आउट पोस्ट समेत खडा गर्ने दुस्साहस गर्‍यो ।

बुटवलका नेपाली अधिकारीले ती कम्पनीका ठानेदारलाई मारिदिए । त्यसको फलस्वरूप नेपालसँग लड्न इस्ट इन्डिया कम्पनी तात्यो । त्यतिबेला अंग्रेजी सेना पाँचतिरबाट अगाडि बढेको थियो । मेजर जनरल जिलेप्सीले १०,४२२ जवानहरूको डिभिजन मेरटबाट बढाई नेपालले कब्जा गरिराखेको देहरादुन, गढवाल, श्रीनगर र नाहानमाथि हमला गर्न अगाडि बढे ।

नेपाली सेनाले कब्जा गरेको सतलज नदीका छेउका पहाडी भेकमा हमला गर्न एक विशाल तोपखाना सहितको ६ हजार पैदल सेनालाई मेजर जनरल अक्टरलोनीले लुधियानाबाट बढाए । त्यस सेनामा ६,६६८ जवान थपियो ।

बुटवल र पाल्पा हान्न भनी मेजर जनरल उडले ४६९८ जवानको डिभिजन गोरखपुरबाट अगाडि बढाए । त्यसमा पछि ९०० जवान थपियो । मकवानपुरको बाटो गरी काठमाडौं उपत्यका हमला गर्न मेजर जनरल मार्लेले ७९०७ जवानको फौज सारनतिरबाट अगाडि बढाए ।

इस्ट इन्डिया कम्पनीको पाँचौँ सेना, जसमा २००० सिपाही थिए, मेजर लेटरको नेतृत्वमा पूर्णियाको सिमानाको रक्षा गर्न र नेपालको पूर्वी भेक कब्जा गर्न अगाडि बढ्यो । यसरी पाँचतिर बाट उनीहरू हमला गर्न खनिए ।

कम्पनीको रेगुलर ९स्थायी० फौज ३४,७४६, इर्रेगुल ९अस्थायी० सेना १३,०३१ र ६० वटा तोपको तोपखाना रणक्षेत्रमा उत्रियो । कम्पनीको मुकाबिला गर्न नेपाली सैन्यतर्फ नालापानी, जैटकको रक्षार्थ कर्णेल रणजोर सिंंह थापा र काजी जसपाउ थापाको नेतृत्वमा २३०० जवानको फौज तैनाथ थियो ।

कप्तान बलभद्र सिंह कुँवर देहरादुन ५ माइल टाढा नालापानीको थुममा बनेको कलंगा दुर्ग ९किल्ला०मा ६०० फौज ९जसमा महिला र केटाकेटी पनि थिए० लिएर बसेका थिए ।

अल्मोडादेखि पश्चिममा नेपाली सेनाको नेतृत्व काजी अमर सिंह थापाले गरेका थिए । उनी मलउ दुर्गमा बसेका थिए । मलउ दुर्गको नजिकै अर्को किल्ला सुरजगढ दुर्ग रक्षार्थ बुढा भक्ति थापा खटिएका थिए । जितगढी, बुटवलको रक्षार्थ तैनाथ १२०० नेपाली फौजको नेतृत्व कर्णेल उजिर सिंह थापाले गरेका थिए ।

नालापानीको युद्धमा र जैटकको लडाइँमा गरेर अंग्रेजी फौजतर्फ मेजर जनरल जिलेप्सी, अरु ४३ अफिसहरू र अरु दर्जाका १२ हजार सैनिक मारिए ।

यतिबेलाको युद्धमा नेपालले सम्मानजनक हार बेहोरो र सुगौली सन्धि भयो । सन्धिपछि नेपालले धेरै भूभाग गुमायो ।

कलंगाको किल्लामा अंग्रेजहरूले नेपाली वीर बलभद्र सिंह कुँवरको सम्मानको निमित्त स्थापना गरेको शिलालेख यसरी बोल्छ– ‘हाम्रा वीर शत्रु बलभद्र सिंह र उनका वीर गोरखा साथीहरूको सम्झनामा सम्मान स्वरूप ।’
(‘शाही नेपाली सेनाको इतिहास’बाट)

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय