मधेस प्रदेश ४ असोज । लकडाउनमा हत्या गरिएका दर्जनौं दलित हत्याराहरुलाई कानुनको कम्जोर माध्यमबाट धरौटी जमानतमा छोड्दै गएको विरुद्धमा राष्ट्रिय दलित मुक्ति जागरण अभियानले मधेस प्रदेशको विभिन्न जिल्लामा मंगलबार ज्ञापनपत्र तथा विरोध र्याली गरेको छ ।
सिरहामा जयकिशोर पासवान, सप्तरीमा गंगा सदा, धनुषामा चन्द्रनारायण राम, महोतरीमा जोगेन्द्र बैठा, रौतहटमा सुब्बा पासवान, बारामा बिक्रम महरा, पर्सामा प्रमानन्द रामको नेतृत्वमा ज्ञपनपत्र तथा विरोध र्याली सम्पन्न भएको छ ।
लकडाउनमा हत्या गरिएका सप्तरीको सुकदेब खंग, त्रिभुवन राम, सिरहाका रोशन राम, बिराटनगरका राजेश सदा, धनुषाको रौतहटको विजय राम, निरन्जन राम, धनुषाको शम्भु सदा, राजु सदा, नवराज विक सहितको हत्यामा संलग्न दोषीहरुलाई पैसा पावरको बलमा छुट्ने हल्ला चलेपछि पीडित परिवार र जागरण अभियानले विरोध प्रदर्शन गरेका छन् ।
हत्याराहरुलाई कानुनी कार्वाही गरी पीडित परिवारलाई सहि न्यायको प्रत्याभूति गराउनुपर्ने माग गरेका छन् । सोमबार त्रिभुवन रामको परिवारले सप्तरीको राजविराजमा पत्रकार सम्मेलन समेत गरेका छन् । पत्रकार सम्मेलनमा पीडित त्रिभुवन रामको श्रीमतीले भनेका छन्, पीडकहरुबाट डर त्रासको अन्त्य भएको छैन् । पक्राउ परेका छोरी बलात्कारीहरुलाई अदालतले छोडिसकेको छ । श्रीमानलाई हत्या गर्नेहरू पनि छुट्ने सुनिएकोले पत्रकार सम्मेलन गर्नु परेको बताएका छन् ।

