वि.सं.२०८३ वैशाख ६ आइतवार
Dish Home Long Ad
आरोपी पक्राउ परेपछि निहारिकाको अनशन तोडाउने प्रयास
Prabhu Bank AD

काठमाडौं । न्यायको माग गर्दै संघर्षरत निहारिका राजपुतको १३ दिनदेखि जारी आमरण अनशन तोडाउन कानूनमन्त्री गोविन्द बन्दीले निर्णायक प्रयास थालेका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीशमाथि कारबाही र आरोपी शिवराज श्रेष्ठ पक्राउ परेपछि निहारिकाले पनि सकारात्मक प्रतिक्रिया दिएकी छन् ।

जिल्ला अदालत धनुषाले सफाइ दिएका श्रेष्ठलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । नायब प्रहरी उपरीक्षक अंगुर जिसीले हिजै निहारिकालाई भेटेर यस विषयमा जानकारी दिएका थिए । उनले भिडियो कल नै गरेर श्रेष्ठलाई प्रहरी हिरासतभित्र देखाएपछि निहारिका विश्वस्त बनिन् ।

यस्तै कानूनमन्त्री बन्दीको पहलमा न्याय परिषदले जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईमाथि कारबाही गरेको छ । निहारिकाको मुद्दामा कार्यक्षमता देखाउन नसकेको आरोपमा उनी सर्वोच्च अदालतमा तानिएका छन् । न्याय परिषदले उनीमाथि थप छानबिन गरिरहेको छ ।

निहारिकाको सबैभन्दा महत्वपूर्ण माग चाहिँ आरोपी र आफ्नो बच्चाको डीएनए म्याचिङ गराउने हो । यस विषयमा पनि कानूनमन्त्री बन्दीले उनलाई आश्वस्त तुल्याएका छन् । स्रोतका अनुसार निहारिकाको मुद्दा विचाराधीन रहेको पुनरावेदन अदालत जनकपुरले आउँदो ८ गतेको पेशीबाट डीएनए परीक्षणको आदेश दिने निश्चित भइसकेको छ ।

डीएनए परीक्षण ८ गते गरेर दुई साताभित्र त्यसको रिपोर्ट आउने भन्दै मन्त्री बन्दीले निहारिकालाई अनशन तोड्न आग्रह गरेका छन् । निहारिकाले भने सरकारबाट केही लिखित प्रतिबद्धता चाहेकी छन् । डीएनए परीक्षणका लागि आरोपी र बच्चाको दुवैको ब्लड स्याम्पल आफ्नो उपस्थितिमा लिइनुपर्ने उनको माग छ । यदि डीएनए म्याचिङ भएको खण्डमा आरोपीलाई सजाय हुनुपर्ने र नभएमा आफूलाई सजाय हुनुपर्नेसमेत उनले बताएकी छन् ।

‘डीएनए म्याचिङ भएर पनि यदि उसले सजाय पाएन भने म सर्वोच्च अदालत अगाडि नै अनशन बस्नेछु’, निहारिकाले भनेकी छन्, ‘यो कुरा पनि सम्झौतामा उल्लेख गरिनुपर्छ ।’

यसैबीच आरोपी शिवराज श्रेष्ठले मिडियामा बयान दिँदै आफू पनि डीएनए टेस्टका लागि तयार रहेको बताएका छन् । डीएनए टेस्ट म्याच भएको खण्डमा आफू निहारिका र बच्चालाई स्वीकार्न तयार रहेको उनको भनाइ छ । तर, निहारिका भने आरोपीसँग मिल्नसक्ने कुनै सम्भावना नरहेको बताउँछिन् ।

‘निहारिकाले त्यस्तो सम्झौता गर्दा सबै मिडियाहरुलाई बोलाउनुपर्ने अडान लिएकी छन् । विगतमा गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर आफूलाई झुक्याएकाले फेरि त्यस्तो भुलभुलैयामा नपर्ने उनी बताउँछिन् ।

Prabhu Bank AD

सम्बन्धित खवर