काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विधेयक पारित गर्न गणपूरक संख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले ३ मिनेट सम्मघण्टी बजाएका छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टान्डर्ड नाप र तौल पाचौं संसोधन विधेयक २०७८ माथि विचार गरियोस भन्ने उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको प्रस्तावलाई मंगलबार सभामुखले निर्णयार्थ प्रस्तुत गर्दै थिए ।
सोही क्रममा सांसद घनश्याम खतिवडाले नियमापत्ति गरे । उनले बैठकमा संसदको रित्तो हल रहेका कारण गणपूरक संख्या नपुग्ने बताउँदै भने–‘हाम्रो संसदको मर्यादालाई माननीय ज्यूबाटै किन पटकपटक उल्लंघन हुन्छ यो प्रश्नपनि उठेको छ । मलाई अलिकति गम्भीर पनि लाग्यो किनभने मैले कहिले पनि नियमापत्ति गरेको थिइन् । अहिले संख्या गन्दाखेरी गणपूरक संख्या पुग्दैन । भर्खरै बोल्ने माननीयज्यूहरु जवाफ सुन्न समेत बस्नुहुन्न । यो दुःखद कुरा छ त्यसले गर्दा गणपूरक संख्या यकिन गरिपाँउ सभामुख महोदय ।
सांसद खतिवडाले नियमापत्ति गरेपछि गणपूरक संख्या पत्ता लगाउन सभामुखवाट ३ मिनेट घण्टी बजाई संख्या एकीन गर्न सचिवालयलाई निर्देशन दिए । घण्टी बज्न थालेपछि बाहिरबाट केही सांसद हलभित्र प्रवेश गरे । गणना गर्दा गणपूरक संख्या पुग्ने अंकभन्दा २ जना सांसद बढी देखिए । सभामुख सापकोटाले सांसदहरुको कुनै पनि विधेयक पारित गर्न कुल सांसदको एक चौथाई सांसद अर्थात कम्तिमा ६९ सांसद सदनमा उपस्थित हुनुपर्नेमा ७१ पुगेकाले सदन अगाडि बढाउने निर्णय बताए ।

