काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दैछन्।
भेटवार्ता मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गर्ने तय भएको छ। भेटमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेका थिए।
आजको भेटमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
त्यसैगरी युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउन पनि आग्रह गर्ने तयारी छ। इयू अन्तर्गतका २२ देशसहित दक्षिण–पूर्वी एसियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहले संयुक्त शिष्टाचार भेट गर्न लागेका हुन्।
१३ चैतमा प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो दोस्रो कूटनीतिक भेट हो । प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेटेका थिएनन् ।
स्रोतका अनुसार यसअघिझैँ प्रधानमन्त्री शाहले आज पनि परराष्ट्र मन्त्रालयका कर्मचारीद्वारा तयार पारिदिएको छोटो लिखित भाषण पढ्नेछन् भने ईयूसम्बद्ध तथा अन्य राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ।

