वि.सं.२०८२ मंसिर १ सोमवार
आज एसिया क्वालिफायर खेल्ने यू–१९ क्रिकेट टिमको बिदाइ

 

काठमाडौं । आगामी नोभेम्बरमा यूएईमा सञ्चालन हुने एसिया क्वालिफायर क्रिकेट प्रतियोगितामा सहभागी हुने यू–१९ नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आइतबार बिदाइ गरिएको छ । रुपन्देही क्रिकेट संघले आइतबार बिहान छनोट भएका खेलाडी र प्रशिक्षकलाई भैरहवामा कार्यक्रम आयोजना गरेर बिदाइ गरेको हो ।

उक्त प्रतियोगितामा सहभागिताका लागि ३० जना खेलाडीले भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा १५ दिन प्रशिक्षण लिएका थिए । एसियन क्रिकेट काउन्सिल एसीसी को आयोजनामा यूएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टिम घोषणा गर्दैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि नेपाल क्रिकेट एसोसियसन ९क्यान०ले अझै आधिकारिक घोषणा नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताए ।

एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म यूएईमा एसिया क्वालिफायर हुँदैछ । बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताए । उनले आफूहरूको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभई क्वालिफायरमा विजेता बन्ने रहेको जनाए । यसका लागि खेलाडीहरू उच्च मनोबलमा रहेको उनको भनाइ छ । बिदाइ कार्यक्रममा पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, प्रेमकुमार सेन्चुरी, कार्यसमिति सदस्य प्रथम पराजुली सहभागी थिए ।

प्रशिक्षणका क्रममा ३० जना खेलाडीको छुट्टाछुट्टै टिम बनाएर आन्तरिक प्रतिस्पर्धासमेत गराइएको थियो । उनीहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने, अनुभवलगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिएको भए पनि नाम सार्वजनिक गरिएको छैन ।

रुपन्देही क्रिकेट संघले एसिया क्वालिफायरमा विजेता बने यू१९ टिमलाई एक लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । पञ्चकन्या समूहले पनि विजेता बनेमा टिमलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

सम्बन्धित खवर