काठमाडौं । सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिले रूपमा डोनाल्ड ट्रम्पले शपथ लिए । विदेशी अतिथिसमेत सहभागी भएको समारोहमा उनले केही घोषणा पनि गरेका छन् ।
सन् २०२१ मा जो बाइडेनको शपथग्रहणमा नगएका ट्रम्पको शपथ समारोहमा बाइडेन भने उपस्थित थिए । शपथपछिको आधा घण्टाको मन्तव्यमा राष्ट्रपति ट्रम्पले विभिन्न मुद्दामा बोलेका थिए ।
४५औं राष्ट्रपति र ४७औं राष्ट्रपति भएका ट्रम्पले दोस्रो कार्यकालमा गरेको भाषण उनले सानदार पुनरागमनको रूपमा उभ्याएका थिए । सँगै, विरोधीहरूलाई आफ्नै अगाडि राखेर व्यंग्य गर्ने ट्रम्पको आदत पुनस् दोहोरिएको छ ।
ट्रम्पको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन र तीन पूर्वराष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा उपस्थित थिए । सन् २०१६ मा ट्रम्मसँग पराजित भएकी तथा पूर्वप्रथम महिला हिलरी क्लिन्टन र पछिल्लो चुनावकी प्रतिस्पर्धी उपराष्ट्रपति कमला ह्यारिस । हिलरीबाहेक सबैको नामै लिएर ट्रम्पले भने, ‘आजबाट अमेरिकाको स्वर्ण युग सुरू हुन्छ ।’
ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय संकटकाल लागू गरेका छन् । संकटकाल लागू गरेर उनले सेना परिचालन गरेको पनि बताएका छन् । अमेरिकाले अरु देशको सीमा रक्षामा खर्च गरेको तर आफ्नै सीमा रक्षा गर्न नसकिरहेको भन्दै ट्रम्पले अमेरिकाको सार्वभौमसत्ता जोगाएर स्वतन्त्र, सार्वभौम, शक्तिशाली बनाउने दाबी गरे ।
विश्वका विभिन्न देशका जेल, मानसिक सुधारगृह आदिबाट आएका गैरकानूनी आप्रवासीलाई निकाला गरिने उनले घोषणा गरे । युद्ध र अमेरिकी सेनाबारेमा ट्रम्पले भने, ‘हामी हाम्रो सफलतालाई हामीले लडेका युद्धहरूको आधारमा मात्र होइन हामीले अन्त्य गरेका युद्धहरूको आधारमा वा सम्भवत युद्धमै सहभागी नभएको अधारमा गर्नेछौं ।’
कार्यकाल सुरू हुनुअघि शान्तिको बाटो अपनाएको भन्दै ट्रम्ले इजरायल र हमासको सम्झौताले तीन बन्धक छुटाइएको विज्ञापन गरे । ट्रम्पका दूतले समेत वार्ता गरेर तय भएको इजरायल हमास युद्धविरामको जस लिँदै ट्रम्पले आफू शान्ति निर्माता र एकीकरणकर्ता बन्न चाहेको बताए ।
फरक प्रसंगमा उनले अमेरिकी सेनालाई युद्ध बढाउन होइन अन्त्य गर्न र लडेका युद्ध जित्ने तहको बनाउने बताए । साथै उनले अमेरिकाले आफ्नै देशको विपत्मा सहयोग गर्न नसक्ने तर अरुको देशमा युद्ध गराउन खर्बौं खर्च गर्ने कुराको ४ पूर्वराष्ट्रपतिकै अगाडि विरोध गरे ।
आफ्नो मन्तव्यमा ट्रम्पले अमेरिकामा रंगभन्दा दक्षताको आधारमा जागिर हुने बताए । लैङ्गिक सवालमा परम्परागत दलहरूकै भाषामा ट्रम्मले अमेरिकामा पुरुष र महिलालाई मात्र मान्यता दिने बताए ।
अरु लैङ्गिक अल्पसंख्यकहरूले भन्ने गरेको लिंगको मुद्दामा अडान दोहोर्याउँदै उनले भने, ‘अब अमेरिकी सरकारको नीतिमा दुई लिङ्ग हुनेछन्( पुरुष र महिला ।’
ग्रीन ऊर्जाको विपक्षमा आफ्ना कुरा दोहोर्याउँदै उनले अमेरिकामा ग्यास र तेलको विशाल भण्डारण भएको र त्यसको उत्खनन् गरेर विश्वभर अमेरिकी इन्धन बिक्री गर्ने बताए । उनले अमेरिकामा भएको इन्धनको स्रोत प्रयोग गर्ने र त्यसमा तेल खानी खन्नेबारेमा जोड दिँदै पुरानै रिपब्लिकनको चुनावी पंक्ति दोहोर्याए, ‘ड्रिल बेबी ड्रिल ।
गल्फ अफ मेक्सिकोको नाम ‘गल्फ अफ अमेरिका’, पानामामा चीनको अधिपत्य अन्त्य गर्ने
मन्तव्यको क्रममा उनले अमेरिकी महादेशमा रहेको आन्ध्र महासागरको तटीय क्षेत्र समेटेको क्षेत्रलाई ‘गल्फ अफ मेक्सिको’ नभनेर ‘गल्फ अफ अमेरिका’ नाम दिएका छन् । यस्तै ३८ हजार अमेरिकीले ज्यान दिएर बनाएको भन्दै उनले फिर्ता लिने उद्घोष गरे । पानामा क्यानलमा चीनको अधिपत्य भएको भन्दै उनले त्यसो गर्न नदिइने बताए ।
सन् १९०४ बाट सन् १९१४ सम्ममा निर्माण गरिएको ८२ किलोमिटर लामो पानामा क्यानलले पशान्त महासागर र आन्ध्र महासागर जोड्ने गरेको छ । सन १९९९ डिसेम्बर ३१ बाट पानामा क्यानल कमिसन नामक अमेरिकी कम्पनीबाट पानामा क्यानल अथोरिटी नामक पानामाको सरकारी निकायलाई हस्तान्तरण गरिएको थियो । जिम्मी कार्टर राष्ट्रपति हुँदा हस्तान्तरणको सम्झौता भएको थियो ।
सरकारी सेन्सरसिप बन्द गर्ने, राजनीतिक प्रतिशोध साँधेर मुद्दा नचलाउने
ट्रम्पले तत्काल लागू हुनेगरी सरकारी सेन्सरसीपको अन्त्य गर्ने घोषणा गरेका छन् । उनले अमेरिकामा फेरि पनि वाक स्वतन्त्रता हुने भन्दै आफूले यस्तो निर्णय गरेको बताए । साथै उनले कुनै पनि नेतालाई राजनीतिक प्रतिशोधको आधारमा थुन्ने, मुद्दा चलाउने काम आफ्नो कार्यकालमा नहुने आश्वस्त पारे । ट्रम्पले यसो भन्दा उपराष्ट्रपति जेडी भेन्स, राष्ट्रपति उम्मेदवार विवेक रामास्वामीलगायतले उठेर ताली बजाएका थिए । निवर्तमान राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले असहज मानेको देखिन्थ्यो ।
चुनाव अगाडि डोनाल्ड ट्रम्पलाई तारान्तार मुद्दा लागेको थियो । ती मुद्दा राजनीतिक प्रतिशोधले हालिएको ट्रम्प तथा ट्रम्प पक्षधर रिपब्लिकनले आरोप लगाउँदै आएका छन् । राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोधको रूपमा दुरुपयोग नगर्ने बताउँदै उनले भने, ‘यी कुराको बारेमा मलाई केही कुरा थाहा छ ।’ निष्पक्ष, स्वतन्त्र र समान न्याय सबैलाई आफ्नो कार्यकालमा हुने उनको जिकिर थियो ।
कोभिड खोप नलाउने नाममा जागिरबाट निकालिएकालाई पूरा तलब दिएर फिर्ता गर्ने
ट्रम्पले कोभिडकालमा खोप नलाउने वा खोपको विरोध गरेको नाममा सेना वा अरु सरकारी जागिरबाट निकालिएकालाई पूरा तलब दिएर फिर्ता ल्याउने बताए । उनले यसो भन्दा हलमा तालीको गडगडाहट सुनिएको थियो । साथै उनले सोहि बेला ड्युटीमा रहेका सैनिकहरुलाई राजनीतिक सिद्धान्तको पठनपाठन तत्काल बन्द गर्ने बताए ।

