वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
‘अंग्रेजसँगको युद्धमा आमाबाबु मरिसकेका थिए, खलंगाको किल्लामा भर्खर हिड्न सिकेका बालिकाहरु उताउति हिँडिरहेका थिए, भल्भल्ती रगत बगिरहेको बालकलाई एउटी गोर्खाली महिलाले दूध ख्याइरहेकी थिइन्’ : एक विदेशी लेखकको बयान
Prabhu Bank AD

 

काठमाडौं । ४००० सिपाही र बीसवटा बन्दुक भएको जिलेस्पीको फौजले देहरादूनमाथि कब्जा जमाए तर केही माइल पूर्वतिर रहेको कलुङ्गाका ( वा खलंगाको) किल्लाले एक महिनाभन्दा बढी अवधिसम्म प्रतिरोध गरिरह्यो । अग्लो जंगलले ढाकेको लगभग ५०० फिट अग्लो डाँडामा रहेको किल्लालाई १२ फिटको मुढालाई गोलाकार रुपमा ताछेर ढुंगा खाँदेको डबल मुढाको बार भएको प्रतिरक्षाले त्यो किल्ला सुरक्षित राखेको थियो । यो किल्लामा बलबहादुर (बलभद्र)को तैनाथमा लगभग ६०० जना पुरुषहरु र महिलाहरु खासगरी मगर र गुरुङ जातिका मानिसहरु थिए । अंग्रेजहरुले कलुङ्गामा आफूजस्तै या आफूभन्दा पनि बढी वीर र दृढ निश्चियी शत्रुसँग लड्नुपरेको थियो । गोर्खालीहरुको बारेमा एकजना अंग्रेज अफिसर जेम्स बेलै फ्राय्जरले भनेका थिए– तिनीहरुले वास्तविक युद्ध सदृश्य रुपमा लडेर आफ्नो पुरुषार्थ देखाए र साँच्चै नै भएको लडाईंको बीचबीचमा तिनीहरुले हामीलाई प्रबुद्ध मानिसहरुले झै हामीसित शिष्ट रुपमा व्यवहार गरे ।’


किल्लामाथिको पहिलो हमला बिल्कुलै संयोजित थिएन र असफल भयो। किनभने जिलेस्पीको आदेशलाई सैनिकहरुले गैरजिम्मेवारीपूर्ण ठानेकोले अवज्ञा गरी ५३ औं फुटको ड्युटी पुरा गरेनन् । यस असफलताले जिलेस्पीलाई साह«ै आक्रोशित पा¥यो र उनी राक्षसी आवेगमा गर्जेर तरबार घुमाउँदै अगाडि हुत्तिए । उनले आफ्ना सैनिकहरु आफ्नो पछि लाग्ने छन् भन्ठानेका थिए । तर कोही पनि पछि लागेनन् । किल्लाको पर्खालमुनि तोपको गोला छातीमा लागेर उनको मृत्यु भयो । उसलाई पश्चाताप थिएन ।

घेराबन्दी जारी नै रह्यो । कलुंगाको प्रतिरक्षकहरुलाई अंग्रेजहरुले धेरै नै प्रशंसा गरे । गोर्खालीहरु बहादुर छन् भन्ने कुरा सबैले माने । त्यसबेलाका ८७ औ फुटको निशाना जोन शिपले आफ्नो संस्मरणमा लेखेका छन् ः

‘मेरो जीवनमा योभन्दा पहिला कहिल्यै पनि यस्तो दृढता र बहादुरी देखाएको घटना देखेको छैन । तिनीहरु भाग्दैनथे, आफ्ना साथीहरु आफ्नो वरिपरि भकाभक लडिरहेको देख्दादेख्दै पनि र मृत्युदेखि पनि तिनीहरु डराउँदैनथे । हामी नजिक भएकोले प्रत्येक गोलाको आवाजले बताइरहेको थियो ।……’


यही लडाईंको बेला यस्तो अनौठो घटना घटेको थियो । अंग्रेजहरुले गोला बर्षाइरहेको बेलामा किल्लाबाट निस्केर आफ्नो हात हल्लाउँदै अंग्रेज सेनातिर एउटा आयो, अंग्रेजहरुले पनि आत्मसमर्पण भयो भनी विचार गरे । युद्धविराम घोषणा गरियो र उनलाई अंग्रेजी फौजमा स्वागत गरियो । उनको तल्लो बंगरा क्षतविक्षत भएको थियो र चिकित्सकले उनको घाउमा औषधी लगाइदिएकोमा खुशी व्यक्त गरे । तर घाउमा पट्टी लगाइसकेपछि आफ्नो किल्लामा फर्केर फेरि लडाई चालु राख्ने उनले अनुमति मागे ।

अन्तमा अंग्रेजी तोपहरुले पुरानो जीर्ण किल्लालाई ध्वस्त पारिदियो । तैपनि किल्लाभित्रका लडाकुहरुले आत्मसमर्पण गरेनन् । मुठ्ठिभरका प्रतिरक्षकहरु हुन सक्छ साठी या असीजना सैनिक लड्दै बाटो खोल्दै गए । लड्न नसक्ने र भाग्न नसक्नेहरुलाई मात्र त्यहीँ किल्लाभित्र छाडेर गए । ध्वस्त भएको किल्लाभित्र पस्ने पहिलो व्यक्तिहरुमध्ये एकजना सैनिक टोलीको तहबिलदार क्याप्टेन सेर हेनरी उडले आफ्नो श्रीमतीलाई लेखेको पत्रमा किल्लाभित्र यत्रतत्र लडिरहेका मृत शरीरहरुको बीभत्स दृश्यको बयान गरेको थियो । घाइतेहरुको “अवस्था अति दयनीय” थियो । खाटमा लडिरहेको टाउकोमा घाउ लागेको मासिनले ‘रगतले भिजेको धूलोमा आफ्नो औंलाले चित्र कोरिरहेको थियो ।”

एउटी गोर्खाली महिलाले एउटा भल्भल्ती रगत बगिरहेको बालकलाई दूध ख्याउँदै थिइन् । स–साना दुईटी बालिकाहरु एकजना त भरखर लरखराउँदै हिँड्न सिकेका यताउति हिँडिरहेका थिए, तिनीहरुका आबाबाबु भने मरिसकेका थिए । शेर उडले अगाडि लेखेका छन्, “मैले युद्धको विभीषिका देखें, साँच्चै नै यो दृश्य अति बिभत्स थियो । कलुङ्गा (खलंगा)को घटना त रक्ताम्य थियो र यस युद्धमा गोर्खालीहरुको भन्दा अंग्रेजहरुको ठूलो क्षति भएको थियो । बलबहादुरको (वा बलभद्रको) पक्षमा लड्ने ५२० जना मरेका थिए भने अंग्रेस फौजपट्टी ३१ जना अफिसरहरु र अरु दर्जाका ७५० जना सैनिक मरेका थिए ।’

(लेखक टेकबहादुर कार्कीले संकलन तथा अनुवाद गरी प्रकाशित गरेको ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ पुस्तकबाट)

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय