सिरहा, ४ कात्तिकः मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले समाज विकासका लागि सबै पक्षबीच हातेमालो जरूरी रहेको बताउनुभएको छ ।
आज सिरहाको लहानमा समग्र जनउत्थान केन्द्रद्वारा आयोजित संवाद कार्यशालामा उहाँले सामाजिक न्यायसहितको विकास, सुशासन र समृद्धिका लागि सबै पक्षबीच हातेमालो गर्नुको विकल्प नभएको बताउनुभयो । “हामी सबैको साझा उद्देश्य भनेको समाजको रूपान्तरण र विकास गर्नु हो । त्यसैले सामाजिक न्यायसहितको समाज विकासका लागि सरकारसँगै नागरिक समाज, सरोकारवाला निकाय तथा आम जनताबीच सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ”, मन्त्री सिंहले भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतो, धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशङ्कर महतो, लहान नगरपालिका उपप्रमुख रामचलितर महतो, विभिन्न पालिकाका न्यायिक समिति सदस्यहरूलगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय धार्मिक सवालहरूमा समन्वय, सहकार्य र सहजीकरणमा योगदान पु¥याउने ४२ जनालाई सम्मान गरिएको थियो ।
समग्र जनउत्थान केन्द्रले हातेमालो अन्तर धार्मिक संवाद समिति र नागरिक शान्ति संवाद समितिसँग समन्वय गरेर समाज रूपान्तरणमा योगदान गरिरहेको अध्यक्ष रामभरोसी महतोले बताउनुभयो ।

