वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
कति सहन्छौ ए जनता, आफै महाअपराधी नबन !
Prabhu Bank AD

-युगचेत
कम्युनिस्ट पार्टीमा ‘वर्ग’ हरायो । पत्रिकामा ‘वर्ग’ म¥यो । आवाजविहीनहरुको आवाज रहेनन् मिडियाहरु । कर्पोरेट हाउसहरुको सिकञ्जामा अस्ताए मजदुर किसानका कथाहरु । उनीहरुका मुक्तिका गीतहरु । संघर्षका महिमाहरु । सबै हराए । विदेशी र कर्पोरेट हाउसका प्रायोजित समाचारहरु ब्रेकिङ न्यूज बने । अश्लिलता बिक्छ यहाँ विचार बिक्दैन । भ्रष्टाचार र कमिसन नै नेता र कर्मचारीका सदाचार बनेपछि श्रमजीवीहरु लुटिनु, ठगिनु मात्र होइन अकालमा परिबन्दमा परेर ज्यान गुमाउनु पनि त सामान्य बन्न थाल्यो । युवाहरुको शरीरमा रातो रगत बग्नै छाड्यो । नेताका दास र भाट बने । दिमागमा गोबर भरेर हनुमान चालिसामै उनीहरुका दिनरात बित्छन् । जाँड रक्सि, मोजमस्ती, सुरासुन्दरी नेतादेखि कर्मचारी, प्रशासनदेखि अदालतसम्म दिनचर्या बन्न थालेपछि गरिखानेहरुमा आश मर्नु, निराश हुनु, देश छाड्नु, अफगानिस्तानदेखि युक्रेन–रसिया–इजरेलसम्मका लडाइँमा अमूल्य जीवन होम्ने रहर कसको हुन्छ र ।

जनसर्वसाधारणले कति मूल्य चुकाउने ? बलिदान कति गर्ने ? कति लुटिने ? कति ठगिने ? राणाविरोधी आन्दोलनमा युवाहरुले रगत बगाए, मुठ्ठिभर नेता भए । उनीहरु थुप्रै अवसरको भ¥याङ चढे । जनताले के पाए ? केवल धोका र गद्दारी । ०३६–०४६ मा पनि रगत बग्यो । जनताले के पाए फेरि पनि पाए– धोका र गद्दारी । दशवर्ष लामो जनयुद्ध भयो– के पाए जनताले ? केवल पाए फेरि पनि धोका र गद्दारी । धोका, धोका फेरि पनि धोका, गद्दारी गद्दारी फेरि पनि गद्दारी । युद्ध र आन्दोलनमा बगेको रगतमा पौडिएर मुठ्ठिभर छट्टु नेताहरु सत्ता–स्वार्थको भ¥याङ चढ्ने, आफ्ना सात पुस्तालाई सम्पत्ति थोपर्ने तर रगत बगाउने परिवार, वर्गलाई रछ्यानमा मिल्काउने । के जनता नेताका सिगान पुछ्ने थाङ्ना हुन् ? उनीहरुका लगौटी हुन् । जतिखेर जे मन लाग्यो त्यही गर्ने ? जतिसुकै अत्याचार गरे पनि सहनुपर्ने ? हिजोका सामन्त, फटाहा, सुदखोर, अपराधीहरुलेभन्दा अहिलेका च्याउ उम्रझै उम्रिएका नेताहरुले निमुखा जनतामाथि ठूलो अत्याचार गरेका छन् । जनतालाई जनता होइन केवल भेडाबाख्रा सम्झिएका छन् ।

पाँच वर्षमा एक दिन चुनावी नौटंकी गर्छन् । जनताको घर घरमा पुग्छन् । अनेक नाटक र नौटंकी गर्छन् । गुलिया मिठा शब्द बोल्छन् । लोलोपोतो लगाउँछन् । जनताको गरिबी र अभावको हुर्मत लिदै एकराते भिख थमाएर जनताको सोझोपनको फाइदा उठाउँछन् । र, जनताले दिएको मत जनतालाई नै गलपासो हुनेगरी पाँचवर्षसम्म लुटको धन्दा चलाउछन् । जनतामाथि बुट बजार्छन् । लगामविनाको मैमत्त साँढेझै जनतामाथि नै आइलागिरहन्छ । उसले फोहर गरिरहन्छ, जनता फोहर सोरिरहन्छन् । जनतालाई मुक्ति होइन, दास बनाइराख्ने यो चुनाव, भोट, रक्सि,मासु, पैसाको असाध्यै त्रासदी र आत्मघाती गोलचक्करमा श्रमजीवी जनता कैदी बनिरहन्छन् । अब त जाग जनताहरु हो । यो एक्काइसौं शताब्दी हो । सूचना र प्रविधिको युग हो । राणा र राजाहरुलाई धपायौं अब यी विदेशीका दलाल शासकहरुलाई धपाउने तयारी गर । यिनीहरु शीरमा होइन, पैतलामुनि पनि राख्न नसुहाउने भइसकेका छन् । तसर्थ, अब त जाग, अपराध गर्नेभन्दा अपराध सहने महाअपराधी हुन्छ । अब आफै महाअपराधी हुने कि अपराधीहरुलाई सात समुद्र कटाउने ? फैसला गर्नैपर्छ । अब आफ्नो शासन आफैले गर्ने गरी गरिखाने, श्रमजीवी वर्ग अगाडि आउनै पर्छ र अबको शासनसत्ताको बागडोर सम्हाल्नै पर्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय