चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो २० औँ राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ र २०२२ मा आफ्नो १०१ औँ जन्मदिन मनाउँदै छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीन विश्वव्यापी मञ्चको केन्द्रतर्फ अघि बढिरहेको छ । नवउदारवादले हिंसात्मकरूपमा श्रमिक वर्ग र गरिबहरूको शोषण गर्ने हुँदा बहुसङ्ख्यक अरब युवाहरू, विशेषगरी मध्यपूर्वमा नव–उदारवाद र पुँजीवाद असफल भएको तथ्यलाई अझ बढी सचेत बनाउँदै छन् । शोषण, बेरोजगारी, वातावरणीय विनाश, आतङ्कवाद, जातिवाद र कट्टरता सबै नवउदारवादका विशेषता हुन् । कठिन सङ्क्रमणबाट गुज्रिरहेका अरब देशहरू आफ्नो आवश्यकता सुहाउँदो र अधिक जनमुखी विकास मार्ग खोजिरहेका छन् ।
चीनको उदयको परिणामस्वरूप चीन र इजिप्टजस्ता अरब राष्ट्रहरूबीचको सम्बन्ध अझै गहिरो हुँदै गएकोले अरब मानिसहरू चीन र चिनियाँ कम्युनिस्ट पार्टीबारे थप जान्न इच्छुक छन् । यो पृष्ठभूमिमा चीन र अरब राष्ट्रहरू र मध्य पूर्वी राष्ट्रहरूसँगको सम्बन्ध कहाँ जान्छ ? वरपरका राष्ट्रहरूसँग चीनको सम्बन्धमा कस्ता अवसर र कठिनाइहरू छन् ? दुई पक्षले यस क्षेत्रको नयाँ विकास दृष्टिकोण र उद्देश्यहरूलाई कसरी प्रभाव पार्नेछ ? हामीले यी महत्वपूर्ण मुद्दाहरू सावधानीपूर्वक सोच्नुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वबाट चीनको उदय भएको हो
चीनले अविश्वसनीय लक्ष्यहरू हासिल गरेको छ र निरन्तर प्रगति गरिरहेको छ, जुन चिकपाको बलियो नेतृत्वबिना सम्भव छैन । एक शताब्दीभन्दा बढी समयदेखि चिकपाले अवरोधहरूलाई सफलतापूर्वक सामना गर्दै अटटरूपमा अगाडि बढेको छ ।
चिनियाँ जनवादी गणतन्त्र चीनको नयाँ प्रजातान्त्रिक क्रान्ति र अन्तिम विजयमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको परिणामस्वरूप सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना भएको हो । त्यसयता चिनियाँ कम्युनिस्ट पार्टी एक शक्तिशाली समाजवादी राज्य निर्माण गर्न, उत्पादक शक्तिहरूको विकासलाई ऊर्जावान ढङ्गले बढावा दिन र सबै चिनियाँ नागरिकहरूको जीवनस्तर उकास्न समर्पित छ । यी उद्देश्यहरू परिवर्तन भएका छैनन् । तिनीहरू विभिन्न समयमा विभिन्न रूपहरूमा देखिएको मात्र हो ।
चीनले १९७८ मा आफ्नो सुधार र खुला नीति व्यवहारमा उतार्दै विशिष्ट चिनियाँ विशेषतासहित समाजवादको लागि मार्ग प्रशस्त ग¥यो । विशेषगरी उच्च प्रविधिको क्षेत्रमा यसले विदेशी लगानी आकर्षित गर्ने प्रयासहरू विस्तार गरेको छ । प्रत्येक पाँच वर्षमा चिनियाँ सरकारले चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा विकासशील परिस्थितिहरू प्रतिबिम्बित गर्न परिमार्जन गरिएका व्यापक विकास योजनाहरू अगाडि ल्याउँछ । साम्राज्यवादी राष्ट्रहरूले चीनको विकासको प्रतिरोध गर्दै आएका छन् । तर, चीनले सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरण हासिल गर्ने र शताब्दीको मध्यमा सुन्दर समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिकरूपमा उन्नत, शान्तिपूर्ण एक महान् आधुनिक समाजवादी राष्ट्र निर्माण गर्ने आफ्नो योजनाबद्ध उद्देश्यतर्फ अघि बढिरहेको तथ्यले देखाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले समृद्ध र बलियो देश निर्माण गर्न र राष्ट्रिय कायाकल्प हासिल गर्न चिनियाँ जनताको नेतृत्व गरेको छ । यसका ठूला उपलब्धिहरू आर्थिक विकासको सफलतामात्र होइन । चीनको सफलता राजनीतिक र सामाजिक स्तरमा छ । माक्र्सवादका आधारभूत सिद्धान्तहरूलाई चीनको सन्दर्भ र समयको आवश्यकतासँग जोडेको छ र माओ त्सेतुङको विचार र सैद्धान्तिक प्रणालीको स्थापना गरेको छ । विशेषगरी नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको विचार माक्र्सवादलाई चिनियाँ सन्दर्भमा अनुकूलन गर्ने नवीनतम उपलब्धि हो ।
चिकपाको सफलता पुँजीवादी तत्वहरूलाई उपयोग गरेर प्रमुख राष्ट्रिय विकास लक्ष्यको प्राप्तिमा प्रतिबिम्बित भएको छ । सार्वजनिक स्वामित्वको प्रभुत्व कायम राख्दै चीनले बजार संयन्त्र स्थापना गरेको छ जसले देशलाई पुँजीको एकाधिकार प्रवृत्तिलाई सीमित गर्न र देशको विकासमा पुँजीलाई सक्षम बनाउनेछ । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रको सांस्कृतिक पहिचान र चिनियाँ सांस्कृतिक सम्पदालाई राष्ट्रिय एकताको जरा र राष्ट्रिय सद्भावको आत्माको रूपमा संरक्षण गर्न ठूलो महत्व दिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको बलियो नेतृत्वमा चीनले आर्थिक र सामाजिक विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सबै हिसाबले मध्यम समृद्ध समाजको निर्माण गरेको छ र निरपेक्ष गरिबी हटाउने कठिन कार्य पूरा गरेको छ । यसले शिक्षा र चिकित्सा सेवामा जनताको अधिकार र हितको प्रत्याभूति दिने कुरामा जोड दिएको छ । माथि उल्लिखित लक्ष्यहरू हासिल गर्न चीनले आफ्नो यात्रामा धेरै कठिनाइ र अवरोधहरूको सामना गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताबीचको घनिष्ठ सम्बन्धविना यी कठिनाइहरूलाई पार गर्न सम्भव छैन । विभिन्न जोखिम र चुनौतीहरूको सामना गर्दै चिनियाँ जनता चिनियाँ कम्युनिस्ट पार्टीको वरिपरि एकताबद्ध छन् र चिकपाको नेतृत्वलाई दृढतापूर्वक समर्थन गर्छन् । साथै चिकपाले आत्म–शुद्धिलाई ठूलो महत्व दिन्छ र ती भ्रष्ट तत्वहरूलाई बिना कुनै हिचकिचाहट पार्टीबाट हटाउँछ । यसले ‘सानो माछा’ मात्र होइन ‘ठूलो माछा’ लाई पनि न्यायको कठघरामा ल्याएर पार्टीको आचरण सुधार गर्न र पार्टी अनुशासन लागू गर्न निरन्तर काम गरिरहेको छ ।
अमेरिका अशान्तिको सबैभन्दा ठूलो स्रोत हो
शीतयुद्धको अन्त्य भएदेखि सन् २००८ मा अन्तर्राष्ट्रिय वित्तीय सङ्कटको प्रकोप नहुँदासम्म नव–उदारवादले विश्वमा प्रभुत्व जमाएको थियो जसको असर आजसम्म छ । एकाधिकार पुँजीवाद विश्वका सबै देशका जनताको साझा शत्रु बनेको छ । उत्पीडित वर्ग र जनता राष्ट्रिय विकास र सामाजिक न्यायको अनुभूति गर्ने आशामा प्रतिरोध गर्न उठेका छन् ।
१९९२ मा अमेरिकी राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ को वकालत गरे । यस सिद्धान्तको ऐतिहासिक र वैचारिक जरा यस तथ्यमा निहित छ कि दुइटा विश्वयुद्धबाट संयुक्त राज्य अमेरिका उदय भएसँगै पुँजीवादले १९ औँ शताब्दीको उत्तराद्र्धदेखि विश्वमा एकाधिकार कायम गरेको छ । नव–उदारवादले नाफा बढाउन खोज्छ र यसले निम्त्याउने सामाजिक र वातावरणीय प्रकोपहरूलाई आँखा चिम्लन्छ । नव–उदारवादी अभिव्यक्तिको उदयसँगै नव औपनिवेशिक सिद्धान्त पनि व्याप्त छ । आजको उपनिवेशवाद सारमा विगतको औपनिवेशिकताजस्तै हो, फरक दृष्टिकोणको मात्र हो । नव औपनिवेशिकताले विश्वका मानिसहरूलाई निर्दयीरूपमा दमन गर्छ । उनीहरूलाई सम्मानजनक जीवन, गरिबी, अज्ञानता र रोगहरूबाट मुक्त गर्ने अधिकारबाट वञ्चित गर्दछ ।
पछि फुकुयामाले नवउदारवादी व्यवस्थाअन्तर्गत विश्वमा शान्ति नआएको र मानवताको हितमा सुधार नभएको पाएपछि आफ्नो विचार फिर्ता लिए । उल्टो अमेरिकाको नेतृत्वमा पश्चिमा पुँजीवादी देशहरूले अफगानिस्तान, इराक र सिरिया युद्धजस्ता युद्धहरू भड्काइरहेका छन् । संयुक्त राज्य अमेरिकाले विश्वभरका धेरै आतङ्कवादी सङ्गठनहरूलाई विशेषगरी इराक, सिरिया, इजिप्ट, लिबिया र पूर्वी अफ्रिकामा समर्थन प्रदान गर्दछ । अमेरिकाले भेनेजुयलाको सरकार ढाल्ने प्रयास पनि ग¥यो । अमेरिकाले जानाजानी दक्षिण चीन सागरमा तनाव बढायो र मध्यपूर्व, ल्याटिन अमेरिका र एसिया–प्रशान्त क्षेत्रमा शान्तिपूर्ण विकासमा बाधा पु¥यायो ।
आतङ्कवादविरुद्ध लड्ने र मानव अधिकारको रक्षाका नाममा अमेरिकाले अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको छ । संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका देशहरूमा आक्रमण गर्न धार्मिक चरमपन्थी सङ्गठनहरूको सहारा लिएको छ । धेरै देशहरूमा जघन्य युद्धहरू सुरु गरेको छ र मानव अधिकारको हनन गरेको छ । अमेरिकाको आधिपत्यमा विकासोन्मुख देशहरूमा र त्यसभन्दा बाहिरका आम जनताको जीवनस्तर खस्कँदै गयो, झुग्गी बस्तीको सङ्ख्या बढ्दै गयो र तेस्रो विश्वका देशका जनता गरिबी, अज्ञानता र रोगको सिकार भए । अरब देशका मानिसहरू अमेरिकी साम्राज्यवादका अभ्यासहरूप्रति क्रोधित छन् र तिनीहरूसँग कुनै औपनिवेशिक इच्छा वा उत्तेजक हस्तक्षेपबिना चीनजस्ता देशहरूसँग व्यवहार गर्ने आकाङ्क्षा बढ्दै गएको छ ।
चीन–मध्य पूर्व पारस्परिक लाभमा सहयोग गर्दै
मध्यपूर्वका देशहरू, विशेषगरी अरब राष्ट्रहरू विकासोन्मुख राष्ट्रहरूका महत्वपूर्ण अङ्गहरू र चीनद्वारा प्रस्तावित अन्तर्राष्ट्रिय सहयोग पहलहरूमा महत्वपूर्ण सहभागीहरू हुन् । हालैका वर्षहरूमा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ र मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणजस्ता पहलहरूको शृङ्खला अघि बढाएको छ जसलाई इजिप्टलगायत अरब देशहरूले व्यापकरूपमा समर्थन गरेका छन् । पारस्परिक लाभ र जितको नतिजाको आधारमा चीनले विकासोन्मुख देशहरूमा विशेषगरी कमजोर पूर्वाधार भएका देशहरूमा आफ्नो लगानी निरन्तर बढाएको छ र एसियाली पूर्वाधार लगानी बैङ्क स्थापनाको पहल गरेको छ । अमेरिकाद्वारा नियन्त्रित दुई वित्तीय संस्थाहरू विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको विपरीत एसियाली पूर्वाधार लगानी बैङ्कले कुनै पनि लगानी र वित्तीय परियोजनाहरूलाई राजनीतिसँग जोड्दैन ।
चीनले सञ्चार सञ्जालको विकासलाई ठूलो महत्व दिएको छ र तेस्रो विश्वका धेरै देशहरूसँग सहकार्य गरेको छ । सहयोगको प्रक्रियामा सबै पक्षले दीर्घकालीन हितलाई आत्मसात गरी पूर्वाधार निर्माण र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न सक्छन् । तर, चीनको अन्तर्राष्ट्रिय सहयोगको नतिजाले साम्राज्यवादी देशहरूलाई असन्तुष्ट बनाएको छ । चीनले विकासोन्मुख देशका स्रोतहरू नियन्त्रण गर्ने प्रयास गरेको र तथाकथित ऋणको जाल सिर्जना गरेको आरोप लगाउँदै अमेरिकालगायत पश्चिमाहरूले चीनको बदनाम गर्ने गरेका छन् ।
हामीले सोच्नै पर्छ, चीनसँग आर्थिक सम्बन्ध राख्न ठूलो सङ्ख्यामा विकासशील देशहरूलाई कुन कुराले उत्प्रेरित गर्छ ? चीनले आफूसँग सहकार्य गर्न नचाहेका देशहरूमाथि कहिल्यै प्रतिबन्ध, नाकाबन्दी वा प्रतिबन्ध लगाएको छैन न त साम्राज्यवादी देशहरूले जस्तै अन्य देशहरूको आर्थिक परियोजनाहरूमा हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय संस्थाहरूको प्रयोग गरेको छ । चीनले कहिले पनि अन्य देशलाई सहयोगका लागि राजनीतिक प्रतिबद्धता गर्न आग्रह गरेको छैन न त उसले अमेरिकासँगको आफ्नो गठबन्धन वा रणनीतिक सम्बन्धको मूल्यमा अन्य देशहरूलाई आफूसँग सम्बन्ध विकास गर्न आग्रह गरेको छ ।
यसको ठीकविपरीत अमेरिकाले प्रायः चीनलाई सहयोग गर्ने देशहरूमा प्रतिबन्धहरू लगाउँछ जुन प्रायः केही अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको समर्थनमा आउँछन् । यसका बाबजुद पनि चीनसँग सहकार्य गर्ने देशहरूको सङ्ख्या बढिरहेको छ । हामी सबैलाई थाहा छ, चीनले अरब राष्ट्रहरूसँगको सहयोगको आदानप्रदानमा शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको आपसी सम्मानका सिद्धान्तहरूलाई सधैँ पालना गरेको छ ।
चीनले सधैँ अरब राष्ट्रहरूको औद्योगिकीकरणलाई प्रवद्र्धन गर्न, उनीहरूलाई थप रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो विकास हासिल गर्न सघाउने प्रतिबद्धता जनाएको छ । २०१८ मा चीन–अरब राज्य सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनमा चीनले तेल–ग्यास सहयोग र न्यून–कार्बन ऊर्जा सहयोग र उच्च प्रविधिमा वित्तीय सहयोग र सहकार्यद्वारा सञ्चालित चीन अरब सहयोगलाई सक्रियरूपमा प्रवद्र्धन गर्ने प्रस्ताव गरेको थियो । यसको अतिरिक्त “चीनले प्रस्ताव गरेको १+२+३ चीन–अरब सहयोग ढाँचाले चीन र अरब राष्ट्रहरू बीचको व्यावहारिक सहयोगलाई उच्च स्तरमा अगाडि बढाउन पनि काम गरेको छ । (‘१+२+३’ रूपरेखा तयार भन्नाले ऊर्जा सहयोगलाई आधारशिलाको रूपमा प्रस्तुत गरिएको र पूर्वाधार निर्माण, व्यापार र लगानीलाई केन्द्रविन्दुमा राखिने र आणविक ऊर्जा, उपग्रहहरू र नयाँ ऊर्जा सहयोगलाई जनाउँछ)
चीनसँगको फलदायी सहयोगबाट सन्तुष्ट अरब राष्ट्रहरू विशेषगरी चिकित्सा सेवा, शिक्षा र गरिबी निवारणका क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउन तत्पर छन् । कोभिड १९ महामारीको प्रकोपपछि चीनले सक्रियरूपमा अरब देशहरूलाई खोप सहायता प्रदान गरेको थियो र प्रतिभा प्रशिक्षण र प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा सहयोग प्रस्ताव गरेको छ । चीनले विकसित र विकासोन्मुख देशहरूबीचको बढ्दो आर्थिक विभाजनलाई कम गर्न अरब देशहरूमा सर्वसाधारणका लागि थप विकास परियोजनाहरू लागू गर्ने आशा गरिएको छ ।
अरब र मध्यपूर्वी राष्ट्रहरूसँग चीनको सहयोगको स्तर समाप्त हुनु हुँदैन । बरु यसले आतङ्कवादसँग लड्नेजस्ता विषयहरूलाई समेट्नुपर्छ । चीनको सिनजियाङमा आतङ्कवाद र अतिवादलाई प्रोत्साहन गर्ने केही साम्राज्यवादी राष्ट्रहरूले गरेको प्रयासका कारण चीनले पनि आतङ्कवाद र कटुतावादविरुद्धको लडाइँमा अवरोधहरू सामना गरिरहेको छ । चीनको अनुभवले दिगो विकास हासिल गर्नु भनेको आतङ्कवादका आधारभूत कारणहरूलाई उन्मूलन गर्ने सफल माध्यम हो भन्ने देखाएको छ । यसले यो पनि देखाउँछ कि गरिबी र अज्ञानताको सन्दर्भमा चरमपन्थी विचारधाराको फैलावट रोक्नको लागि आधारभूत रणनीति भनेको जनताको जीवनस्तर निरन्तर उकास्ने हो । केही अरब राष्ट्रहरू त्यही दिशामा अघि बढिरहेका छन् । उदाहरणका लागि इजिप्टले उत्तर र दक्षिण सिनाईमा धेरै विकासका पहलहरू गरेको छ ।
कन्फ्युसियस इन्स्टिच्युटजस्ता संस्थाहरूले चिनियाँ संस्कृतिको व्याख्या गर्ने निरन्तर प्रयासका कारण अरब राष्ट्रका मानिसहरू विशेषगरी युवाहरूलाई चीनको बारेमा धेरै ज्ञान छ । सङ्गीत समारोह र सहयोगात्मक कलात्मक प्रयासहरूमार्फत अरब राष्ट्रहरू र चीनबीचको सांस्कृतिक सम्पर्क बढेको छ । त्यसैगरी, दुई पक्षबीचको कर्मचारी आदानप्रदानले पनि सांस्कृतिक आदानप्रदानलाई सफलतापूर्वक प्रोत्साहित गरेको छ । दुई पक्षबीचको सञ्चार र आदानप्रदानलाई अझ प्रगाढ बनाउन र मित्रतालाई प्रगाढ बनाउन सामाजिक सहभागिता बढाएर चिनियाँ संस्कृतिको सञ्चार गर्नुपर्छ, विद्यालय तथा तालिम संस्थाहरू स्थापना गर्नुपर्छ र साना विकास आयोजनाहरूलाई सहयोग गर्नुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले झन्डै एक शताब्दी अवधिमा उत्कृष्ट सफलता हासिल गरेको छ । इजिप्टको कम्युनिस्ट पार्टीले २१ औँ शताब्दीमा माक्र्सवादको नयाँ विकासलाई अगाडि बढाउन चिनियाँ कम्युनिस्ट पार्टीले थप योगदान दिनेछ भन्ने कुरामा विश्वस्त छ ।
(इजिप्टका लेखक युसुफ शाकीमग्डीले लेख्नुभएको यो लेख नेपाल आफैँ पनि विकासोन्मुख मुलुक भएकोले हाम्रो लागि पनि सान्दर्भिक हुने देखिन्छ ।)
स्रोत : कन्टेम्पोररी वोल्र्ड
अनुवाद : राजन

