वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
जेन–जी विद्रोहको प्रभाव : ओलीलाई पार्टीको अध्यक्ष पद छाड्न दबाब
Prabhu Bank AD

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बहिर्गमित हुन बाध्य बनायो। केन्द्रीय मुख्यालयसहित देशका धेरैजसो ठाउँमा पार्टी कार्यालय जलाइएका छन्। नेता–कार्यकर्ता र जनप्रतिनिधि तहका वडाध्यक्षसम्मका घर जलेका छन्। आफ्नै भग्न घरमुनि उभिएका एमालेजनहरूले यतिबेला अभिभावकविहीनजस्तै महसुस गरेका छन्। यद्यपि पार्टी महासचिव शंकर पोखरेलले नेता–कार्यकर्तासँग भर्चुअल संवाद सुरू गरेका छन्। उनले आइतबार प्रदेश अध्यक्ष र उपलब्ध जिल्ला अध्यक्षसँग संवाद गरे र ढाडस दिने काम गरे। आफ्ना क्षति भएका चल–अचल सम्पत्ति अवशेष तुरून्तै पन्छाउनेभन्दा पनि सरकारी अभिलेखमा रहने गरी मुचुल्का उठाएर मात्रै सरसफाइमा लाग्न आग्रह गरे।

त्यसो त भर्चुअल संवादकै क्रममा उनले नेतृत्वमाथि आलोचना नगर्न पनि आग्रह गरेका थिए। जेन–जी विद्रोहको समीक्षा हुन बाँकी रहेकाले र असहज परिस्थितिमा नेतृत्वको आलोचना गर्न नहुने उनको आशय रहेको एक नेताले बताए। जेन–जी विद्रोहको रापताप नसेलाइसकेकै अवस्थामा हामीले एमालेका एक दर्जनबढी नेता–कार्यकर्तासँग कुरा गरेका थियौं।

उनीहरू सबैले अब पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी आन्दोलन उठाउनै नसक्ने बताए। कुराकानी गरेकामध्ये धेरैले अहिले नै सार्वजनिक रूपमा भन्न नचाहेको पनि धारणा राखे। उनका अनुसार पदाधिकारी तहका अधिकांश नेताको घर तोडफोड, आगजनी भएको छ। एमालेका कुनै पनि नेताले शीर ठाडो गरेर हिँड्ने अवस्था नभएकाले मनोबल खस्किएको र यसबाट बाहिर आउन केही समय लाग्ने बताए। त्यसपछि पार्टी पुनर्गठनको मुद्दा सघन हुने पनि बताए।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गते नै राजीनामाको माग गरेका थिए। भदौ २३ गते बानेश्वर क्षेत्रमा ठूलो मानवीय क्षति भएकाले त्यसको नैतिक जिम्मेवारी लिँदै तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा थियो। भदौ २४ गते बिहान १० बजेतिरै उनले यस्तो बताएका थिए। यद्यपि त्यसबेला नै उनको घर जलिसकेको थियो। राज्यविहीनतका अवस्था सिर्जना भइसकेकाले ओली प्रधानमन्त्रीका रूपमा पदमा बस्ने नैतिकता सकिइसकेको बताएका थिए।

त्यतिबेला उनले पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले २ बजे राजीनामा दिए। तर स्थिति साम्य भएन। सुरक्षाकर्मी नै हारमान्नु भए। प्रदर्शनकारीले सरकारका तीनै अंग कब्जा गरे। देशको प्रशासनिक केन्द्र मात्रै होइन राष्ट्रपति र प्रधानमन्त्री निवास नै खाक बन्न पुग्यो।

यो घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र पार्टी पुनर्गठन हुनुपर्ने उपाध्यक्ष युवराज ज्ञवालीले बताए। उनले पार्टी पुनर्गठनको अध्यायका रूपमा यसलाई लिनुपर्ने धारण राखेका छन्। विचार, सिद्धान्त, दृष्टिकोण मात्रै सही भएर नहुने कार्यशैली पनि ठीक हुनुपर्ने भनेर जनताले सिकाएको सबकका रूपमा यसलाई बुझ्नुपर्ने पनि बताए।

‘नेपाली समाजमा असन्तुष्टि पहिल्यैदेखि थियो। भ्रष्टाचार, बेथितिले अन्तरविरोध बढिइरहेको थियो। सामाजिक सञ्जाल बन्दले विस्फोट हुनपुग्यो,’ उनले भने, ‘अतः हामीले पार्टीलाई पुनर्गठन गर्नैपर्छ।’ सचिवालय, स्थायी कमिटी तहमा अहिले कुनै पनि छलफल नभएको उनले बताए।

‘सचिव योगेश भट्टराईले पार्टी आन्दोलनको पुनर्गठनको खाँचो औंल्याएका छन्। ‘विकसित घटनाहरूलाई राम्रोसित विश्लेषण गरौं। हामीबाट भएका कमजोरीको समीक्षा गरौं। गल्तीप्रति आत्मालोचित होऔं। पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौं। यो काम होशियारीपूर्वक गरौं। जसले हाम्रो पार्टी एकता कायम गरोस्,’ उनले भनेका छन्। त्यस्तै उनले पार्टीमा आमसदस्यहरूको अपनत्व र सहभागिता सुनिश्चित गर्नुपर्ने खाँचो औंल्याएका छन्।

‘संस्थापन पक्षकै भनेर चिनिएका स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले पनि पार्टी पुनर्गठनको माग गरेका छन्। ‘अरू क्षति रोक्न जे भयो, भयो। हैन किन भयोरु कसरी भयोरु र अब के कसरी, कहिले गर्नेरु छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं,’ उनले भने, ‘अप्रिय लाग्ला तर सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन। र गणतन्तत्रबिना समाज। समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ। सबै तयार हुनै पर्छ।’

उनीहरूमध्ये केहीले अध्यक्ष ओलीको नेतृत्वमा चुनावमा जान नसकिने बताए। त्यसो त उनीहरूले फागुनमा चुनाव भइहाल्नेमा विश्वस्त हुन सकेका छैनन्। पार्टीका अधिकांश नेता–कार्यकर्ता लयमा फर्कन नसकेकाले र फर्कन अझै कति समय लाग्ने हो भनेर यकिन नभएकाले पनि उनीहरूले यस्तो अन्यौल व्यक्त गरेका हुन्।

केपी ओलीको प्रधानमन्त्रीबाट बहिर्गमन तीनै पटक सुखद् रहेन। पहिलो पटक (२०७३ साउन ९) उनीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि राजीनामा दिएर हटेका थिए। दोस्रोपटक परमादेशमार्फत् हटाइएका ओलीलाई पछिल्लोपटक जेन–जी विद्रोहले उखेलिदियो।

तेस्रो पटक विधान महाधिवेशन (२०८२ भदौ २०–२२) मार्फत् पार्टीमा आफूलाई निर्विकल्पजस्तै बनाएका ओलीलाई जेन–जी विद्रोहले नै पार्टी सत्ताबाट पनि हटाउने स्थिति बनेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर