- राजन राउत

‘त्यो रात म बाँचेछु । साथीहरुले खोला किनारा सम्म ल्याएपछि घोषणा गरेको मेरो मृत्युलाई च्यालेन्ज गर्दै विहान सम्म त्यो खोला किनारमा आधा शरीर पानीमा डुबाई अचेत पल्टिएकी म आखिर जितेँ मैले मृत्युलाई ।
खै कुन संयोगले बाँचे म । कहिले लाग्छ बाँच्नु नै ठूलो कुरा हो । जब बाँच्नुको सार्थकता खोज्छु त्यो दिन सहिद नभएर किन बाँचे झैँ लाग्छ । जव सहिदहरु कै अपमान देख्छु त्यसपछि म दोधारमा पर्छु । जिवनमा कति पटक यहि समिक्षा गरेकी छु ।’
वीर अस्पताल प्राङ्गणको एउटा बेन्चमा बसेर अपरेशनको पालो कुरिरहँदा पल्टाएका बिगतका पानाहरुले कमरेड चेतनाका आँखामा आँशु छचल्किए ।
झण्डै दुई दशक अघि मकवानपुरको फापरबारी भिडन्तमा सहिदको लिस्टमा उनन्तिसौ स्थानमा थियो उनको नाम । गाँउलेले अस्पताल पुर्याएको र उनि जिवितै भएको खबर सँगै काटिएको थियो उनको नाम त्यो लिस्ट बाट ।
दश वर्षे जनयुद्दका ति कहाली लाग्दा दिनहरुको गहिराईमा डुब्दै थिएँ म । दुई दशक देखि दुई दर्जन बढी छर्राहरु शरिरमा बोकेर वीर अस्पताल धाईरहेकी कमरेड चेतनामा त्यो दिन बाँचेकोमा पश्चाताप देखिन्थ्यो ।
‘नियतीले मलाई पटक पटक ठग्यो दाई । पढ्ने उमेर युद्दमा बित्यो । जीवनभर माया गर्छु भनेर बन्दुक साट्नेले काखमा साना दुई छोरी छाडेर अर्कैको हात समातेर गए । आफ्ना भन्नेहरु आफैँबाट टाढा भए सहिदको लिस्टमा परेको मेरो नाम घाईतेको लिस्टमा भने छुटेछ । अनि राज्यले दिने सुविधाबाट ठगिएँ ।
कहिलेकाहीँ त लाग्छ दाई कति न बाँच्नु छ र ! गणतन्त्रका यी निशानीहरु शरीर बाट नझिकौँ । जव गणतन्त्रमा हालीमुहाली गर्ने हरुको अनुहार हेर्छु तब यी शरीरका छर्राहरुले असैह्य पीडा दिन्छन् त्यसपछि मेरो हार हुन्छ ।’
वीर अस्पताल आउने जानेको घुँइचो सँधैँ झैँ त्यस दिन पनि कमि थिएन । दुर दराजका गरिव नेपालीहरुको आशाको त्यान्द्रो जस्तो लाग्यो मलाई वीर अस्पताल । उति सारो सुकिला मुकिलाहरुको चहल पहल देखिएन त्यहाँ । कमरेड चेतनाबाट संयोगले उनी बाँचेको त्यो रातको कहानी सुन्दा मैले आफूलाई सम्हाल्न सकिन ।
सडकमा गुडेका बाक्लै गाडी र सडक पारि रत्नपार्क तर्फ नजर घुमाएँ । सडक किनारामा हिउँदमा निलै फूल्ने रुखहरु फूल झरेपछि अर्को हिउँद कुर्दै निरिह उभिइरहेका मैले कमरेड चेतना सँग तुलना गरेँ तिनीहरुलाई । कमसेकम हिउँदमा फेरि फूल्ने आशा त थियो तिनीहरुमा तर कमरेड चेतनामा त्यो आशा पनि बाँकी थिएन । केहि बर्ष अघि सम्म आन्दोलनकारीले सँधै जसो खचाखच भरिने रत्नपार्क शान्त थियो । डुलुवा बिक्रेताले भरिने सडकपेटी खाली थियो । मैले आफूलाई पनि उस्तै खाली महशुस गरेँ ।
कमरेड चेतना जस्ता नाबालिगहरुलाई सपना देखाउनेहरुको आज जीवनस्तर कहाँ , उनिहरु बिरामी हुँदा उपचार गर्ने अस्पताल कहाँ, उनिहरुका बिलासिता कहाँ , अनि चेतनाहरुले बोकेका बिटुलिएका सपनाहरु कहाँ ?
चेतनाहरु जस्ता मरेर बाँच्नेहरुका कथाले आजभोलि उनिहरुमा संवेदना पलाउँछ कि पलाउँदैन होला ? शरिरका गोली झिक्न अस्पतालमा लाग्ने खर्च जुटाउन सामाजिक सञ्जालमा याचना गर्दा गणतन्त्र दुख्छ कि दुख्दैन होला ? केहि क्षण मनमा एउटा आँधी चल्यो अनि एउटा अनुत्तरित प्रश्न मडारिरह्यो।
कमरेड चेतनाले यो ब्यवस्थामा गर्वले बाँच्न किन नपाउने ?
त्यो साँझ अपरेशन थिएटरमा छिर्ने बेला भईसकेको थियो उनको । अघिल्लो दिनको भन्दा त्यो दिन जटिल थियो अपरेशन । गालामा छिरेका केहि छर्राहरु मुख भित्रबाट अपरेशन गर्नु थियो त्यो दिन । सामाजिक सञ्जालमा सक्रिय रुपले केहि कमरेडहरु सहयोग संकलन गर्न जुटेकाले अपरेशनको लागि सहयोग आउने क्रम जारी नै थियो ।
‘दाई, जिन्दगीले भोगेका दुखका पानाहरु पल्टाएर साध्य छैनन । यी पानाहरु कुनै लेखकले जम्मा गरे एउटा मोटो उपन्यास बन्दो हो । थाहा छैन जीवनमा अझै यस्ता पानाहरु कति पल्टाउनु पर्ने हो ।’ अर्को बिहान मेसेन्जरमा उनको मेसेज थियो ।
‘त्यो सामर्थ्य त मैले नराखुँला तर गौरवपूर्ण इतिहास कोरेका मृत्युलाई जित्नेहरुका गाथा भने कुनै न कुनै रुपमा आजका पुस्तालाई सेयर गर्नै पर्छ ।’ मैले नि मेसेज गरेँ ।
जिज्ञासा थियो मलाई उनको स्वास्थ्य अवस्था बारे । अन लाईन मा नदेखिएकाले कल गरेँ तर रिसिभ भएन । अनि स्वास्थ्य लाभको कामना गर्दै अर्को मेसेज नि छोडेँ ।
फेसबुकमा कमरेड चेतनालाई ट्याग गर्दै उनकी छोरीले लेखेकी थिइन – ‘ममीको मुख भित्रबाट गरिएको जटिल अपरेशन त सफल भयो तर यो अपरेशनमा ममीले एउटा दाँत पनि गुमाउन पर्यो । केहि झोल खानेकुरा मात्र पाइप बाट खान डाक्टरले सल्लाह दिएका छन । थाहा छैन ममीको शरिरबाट यी दुई दर्जन बढी छर्राहरु निकाल्न हामीले कति वर्ष हस्पिटल धाउनु पर्ने हो अनि कतिपटक हस्पिटलको बेडबाट सामाजिक सञ्जालमा सहयोगको लागि याचना गर्नु पर्ने हो ।’
अलि तल एउटा साथीले शेयर गरेको सांसद डा तोसिमा कार्कीको छोटो भिडियो थियो जहाँ उनले भनेकी थिइन-‘जनयुद्दमा स्कुल स्कुलमा गएर युवाहरुलाई अपहरण गरेर बन्दुक बोकाईएको थियो, किताब कलम बोक्ने हातमा बन्दुक थमाईएको थियो, महिलाहरुलाई बन्दुकको भरिया बनाईएको थियो ।’
मोबाइलमा मेसेजको घण्टी बज्यो चेतना जी को मेसेज थियो – ‘दाई घाउ पाकेको छ मुख भित्र पिप आईरहन्छ । बोल्न मिल्दैन त्यो भएर फोन रिसिभ गरिँन । यसपटक घाउ निको हुन अलिक समय लाग्छ जस्तो छ ।’
मेरो मन एकतमासको भो । अस्पतालको बेडमा कमरेड चेतनालाई घाउको पीडा भन्दा बढी उपचार खर्चको पीडा हुँदो हो । मनले तोसिमा र चेतनालाई तुलना गर्यो ।
कमरेड चेतनाहरुले हिम्मत नगरेको भए आज तोसिमा हरुको हालत दरबारका सुसारेहरु भन्दा माथि हुने थिएन । एउटा ठूलो अपमान महशुस गरेँ मैले । परिवर्तनका लागि शरिरभरि गोली र बमका छर्राहरु बोकेर बाँच्नेहरुको अपमान, आफ्नो शाहस र वीरता प्रदर्शन गर्दै सहिद हुने हजारौँ शाहसी महिला सहिदहरुको अपमान । मृत्युलाई सहर्ष स्वीकार्दै जनयुद्दमा आफूलाई होम्ने लाखौँ लाख युवाहरुको अपमान ।
मैले चेतना जीलाई तुरुन्तै त्यो भिडियो को लिंक पठाइदिएँ । त्यो बेला पठाउनु हुन्थ्यो हुन्थेन मैले केहि सोच्न सकिँन । बरु पठाइसकेपछि कतै उनको मनस्थितिमा पो असर पार्ने हो कि भन्ने लागि रह्यो ।
‘तोसिमाहरु हाम्रो बगैँचामा फक्रिएका सुन्दर फूलहरु हुन । मलाई गर्व लाग्छ, आज जनताका छोरीहरु राजा महाराजाकोमा सुसारे बस्न जान पर्दैन, भित्रिया र नानीहरु बन्न पर्दैन, उनिहरु स्वतन्त्र आकाशमा निर्भिक सयर गर्न पाउँछन । जव गोली लागेका मेरा अंगहरु बेस्सरी झमझमाउँछन म यहि सुन्दर बगैंचाका रंगिन फूलहरुका अलग अलग बासनामा आफूलाई हराउँछु अनि कल्पना गर्छु मेरी आमा र हजुरआमाको पुस्ताले पनि आजको जस्तै स्वतन्त्रता पाएको भए ?’
कमरेड चेतनाले पठाएको भिडियोप्रतिको टिप्पणीले म भित्रको क्रोध एकाएक शान्त भयो । यो बेला कमरेड चेतनामा कुनै आवेग थिएन । न त कुनै पश्चातापको गन्ध नै थियो । बरु उनमा एउटा गर्व मिश्रित उर्जा फैलिएको प्रस्ट महशुस गर्न सकिन्थ्यो ।
मैले पनि आश्वासन दिएँ -‘चेतना जी तपाँई जस्तै मरेर बाँच्नेहरुका ज्यूँदा इतिहास आजका पुस्ताका मूल्यवान सम्पति हुन । इतिहासका यी सुनौला पानाहरु मृत्युुलाई जित्नेहरुका गाथा ले भरिएका छन् । कसैले स्वीकार गरोस नगरोस गणतन्त्र सदैव तपाँइहरु प्रति ऋणी रहिरहनेछ ।’
अनि मैले मेरो खाता बाट सानो सहयोग उनको खातामा ट्रान्सफर गरिदिएँ र शिघ्र स्वास्थ्य लाभको कामना गरेँ ।

