काठमाडौ । चिकित्सकको परामर्शबिना होल बडी चेकअप भन्दै जाने प्रवृत्ति निकै देखिएको जनरल फिजिसियन डा। लोचन कार्की बताउँछन् । ‘होलबडी चेकअपको चक्करमा नपर्नुस्, यो सम्पूर्ण रोगको समाधान होइन,’ नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत रहेका डा। कार्की भन्छन्, ‘होलबडी चेकअप विश्वमै कतै प्राक्टिस छैन, तर नेपालमा भने व्यापार जसरी अस्पतालहरुमा मौलाइरहेको छ ।’
नेपालमा अहिले भनिएको होल बडी चेकअप जनरल चेकअप भएको उनी बताउँछन् । होलबडी चेकअप होइन, यो शब्द नै गलत छ । तर जानकारहरु नै यसबारे भ्रम छरिरहेका छन् । होलबडीमा शरीरमा टाउकोदेखि खुट्टाको पैतालासमेत पर्छ । जुन गरेर साध्य लाग्दैन डा। कार्की भन्छन् ।
यति थाहा हुँदाहुँदै पनि कतिपय प्रयोगशाला, अस्पतालहरुले होलबडी चेकअप भन्दै बेसिक, एडभान्स नाममा प्याकेज नै ल्याइरहेका छन् । सर्वसाधारणलाई यसरी भ्रममा पार्नु विडम्बना भएको डा। कार्की बताउँछन् । उनका अनुसार शरीरमा केही समस्या छ कि छैन भन्ने थाहा पाउन वर्षमा रगत परीक्षण, पिसाब जस्ता परीक्षण गरेको राम्रो हो । ‘तर हचुवाको भरमा होल्ड बडी चेकअप भन्दै गर्नु एक त आर्थिक भार बढ्छ र कतिपय शरीरलाई आवश्यक नपर्ने परीक्षण पनि भइरहेको हुन्छ । स्वास्थ्य जाँच गर्नुअघि यो जाँच के हो भन्ने जान्न पनि जरुरी छ,’ डा। कार्की भन्छन् ।
पेट तथा कलेजोरोग विशेषज्ञ तथा जनरल फिजिसियन डा। अवशेष भण्डारी पनि होलबडी चेकअप भन्दै नाम प्रचार गर्नु ठीक नभएको उनी बताउँछन् । मुटुको ईसीजी, मधुमेह, रक्तचाप, पिसाब, सामान्य भिडियो एक्सरे र छातीको एक्सरे लगायतको प्याकेजलाई जनरल चेकअप भनिन्छ । तर यसलाई नै होल्ड बडी भन्दै नाम चलाउनु ठीक नभएको उनको तर्क छ ।
‘अहिले अस्पतालहरुमा हुने होलबडी जाँच शरीरको सामान्य जाँच हो, जसले सुरुवाती चरणमा लक्षण पत्ता लगाउन केही हदसम्म मद्दत गर्छ । यसले नै शरीरको पूर्ण जाँच गर्न सक्दैन ।
डा. अवशेष भण्डारी
होलबडी रिपोर्ट लिएर डाक्टरकहाँ पुग्छन् बिरामी
अधिकांश व्यक्ति रोगको शंका लाग्ने बित्तिकै होल्डबडी चेकअपको रिपोर्टसँगै चिकित्सककहाँ पुग्ने गरेको डा। कार्की बताउँछन् । ‘पहिला ओपीडीपछि हामी समस्या अनुसारको परीक्षण गर्न सल्लाह दिन्थ्यौं । अहिले ठूलो फाइल बोकेर बिरामी आउँछन् । त्यसमा आवश्यक नपर्ने परीक्षण भइसकेको र चाहिने छुटेको पनि हुन पनि सक्छ ।
चिकित्सकले होइन अस्पतालले दिन्छन् होलबडी प्याकेज
होलबडीको प्याकेज चिकित्सकले नभई अस्पतालले राखिदिएको डा। कार्की बताउँछन् । ‘अस्पतालले बेसिक, एडभान्स र अल्ट्रा एडभान्स प्याकेज राख्दिएको हुन्छ । यस्ता प्याकेज भारत, सिंगापुर हुँदै नेपालले पनि ल्याएको हो । धेरैजसो अस्पतालको भित्तामा होल्डबडीको प्याकेज टाँसेको हेरेर जाँच गराउन आइरहेका हुन्छन् । यसमा कसको दोष, चिकित्सकको, अस्पताल वा जनमानस स्वयंकै रु‘ डा। कार्की भन्छन् ।
यद्यपि पश्चिमी देशमा चिकित्सकको परामर्शको कागजातबिना कुनै पनि परीक्षण नहुने तर नेपालमा भारतीय सिको गर्दै बिना परामर्श अन्धाधुन्ध जाँच हुने परिपाटी रोक्न सचेतना फैलाउनुपर्ने देखिएको उनी बताउँछन् ।
चिकित्सकले कहिले पनि आफैं होल्डबडी चेकअप गरेर आउनु भनेर बिरामीलाई नभन्ने डा। भण्डारी बताउँछन् । हामी बिरामीलाई सुरुमा पारिवारिक इतिहास, शरीरको कहाँ कस्तो समस्या छ भनेर सोध्छौं । होल्डबडी गर्नु भनेर बिरामीलाई भन्दैनौं । कहिलेकाहीं त बिरामीलाई बुझाउन कठिन हुन्छ,’ उनी भन्छन्, ‘मकहाँ आउनेमा कतिपय होल्डबडी गरिदिनु भन्नुहुन्छ । डा. भण्डारी भन्छन्, आवश्यक छैन भन्दा चिकित्सक नै ठीक छैन भन्ने अन्यत्रै जानु भएको पनि छ ।’
चिकित्सकको परामर्शपछि मात्रै रोगको परीक्षण
डा. कार्की कुनै पनि रोगको परीक्षण गर्नुपूर्व चिकित्सकको परामर्श लिएपछि मात्रै अन्य स्वास्थ्य जाँच गर्न सुझाउँछन् । लक्षण देखिएपछि चिकित्सकको काम हो, त्यसलाई निदान गर्न आवश्यक पहिचान गर्न लगाउने । लक्षणको आधारमा जाँच भएपछि आठ हजार लाग्ने शुल्क दुई हजारमै रोग पत्ता लाग्न सक्छ । यसले अनावश्यक खर्च हुनबाट पनि जोगिन्छ ।
विशेष समस्या लिएर गएर गरिने स्वास्थ्य परीक्षणभन्दा फरक परीक्षण होल्डबडी चेकअप भएको नबुझी जाँदा कहिलेकाहीं भएको रोग पनि पत्ता लाग्न नसक्ने जनरल प्राक्टिसनर डा। अनाम प्याकुरेलको भनाइ छ ।
उदारहण दिंदै उनी भन्छन्, ‘शरीरमा क्यान्सरको अनावश्यक कोष वृद्धि भइरहेको छ भने अनेक खालको लक्षण देखिन सक्छ । त्यही लक्षण लिएर सिधा चिकित्सककहाँ नपुगी होलबडीतर्फ गएर पिसाब जाँच, रगतको जाँच, किड्नीको जाँच, मुटुको जाँच गराउँदा नर्मल देखिन सक्ला । यसले व्यक्तिमा भ्रम पनि फैलिन्छ उपचारमा ढिला पनि हुन सक्छ ।’
त्यसैले ५० वर्ष काटेपछि क्यान्सरको स्क्रिनिङ, सुगर, प्रेसर, पिसाब परीक्षण, रगतको अवस्था, महिलाहरुले प्याप स्मियर, स्तन क्यान्सरको लागि मेमोग्रामको जाँच गराउन आवश्यक छ । तर स्वास्थ्यमा जस्तोसुकै समस्या देखिए पनि परामर्श लिनु नै बुद्धिमानी हुने डा। अनाम प्याकुरेल बताउँछन् ।
मिर्गौलारोग विशेषज्ञ डा. निशान्त आचार्य पनि रोगको जाँच गराउन सम्बन्धित चिकित्सकलाई नै भेट्न सुझाउँछन् । ‘प्रेसर र मधुमेह भएकाले भने बिस्तारै मुटु, मिर्गौलालाई पनि असर गर्न सक्ने हुँदा प्रत्येक वर्षमा किड्नी फंसन परीक्षण, कोलेस्टेरोल, रगत परीक्षण गराउन सकिन्छ । चाहे स्वस्थ व्यक्ति होस् वा दीर्घरोगको समस्या जुनसुकै परीक्षण गर्दा चिकित्सककै सल्लाहमा गर्ने प्राक्टिस गर्न र गराउन सबै मिलेर लाग्नुपर्छ ।

