काठमाडौं। ऋण उठाउने नाममा वित्तीय संस्थाहरूले घरमै पुगेर यातना दिन थालेको भन्दै ऋणीहरूले लघुवित्त खारेज गर्नुपर्ने माग गरेका छन् ।
पछिल्लो समय लघुवित्तका कारण गाउँमा बस्ने महिलाहरू असुरक्षित महशुस गर्नुका साथै तराईका जिल्लाहरूमा ऋणीहरू यातना खेप्न बध्य भएका छन् । लघुवित्तहरूले ऋण तिर्न नसकेको भन्दै मध्यरातमा घरमै पुगेर यातना दिने गरेको र लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गरी मिटर ब्याजमा पैसा लगाउने गरेको पीडितहरूको गुनासो छ ।
लघुवित्तहरूले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरूको घरमा पठाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको बताए । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत सावाँमा जोडेर नयाँ ऋण बनाउने गरेको उनीहरूको भनाइ छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा महोत्तरीकी लघुवित्त पीडित पुनमकुमारी महतोले २०७२ सालदेखि लघुवित्त र मिटर ब्याजीको समस्या खेप्नुपरेको दु:खेसो गरिन् ।
तराईका जिल्लाहरूमा मिटरब्याजी साहुहरूले महिलाहरूलाई सडकमा निर्वस्त्र बनाएर कुटपिट गरेको गुनासो समेत आएको भन्दै उनले लघुवित्तको कारण महिलाहरू घर बस्नसमेत गाह्रो हुन थालेको पीडा सुनाइन् । केही लघुवित्तका कर्मचारीहरूले आफैँ मिटर ब्याजमा पैसा लगाएर ५ हजारको महिनामा १ हजार ब्याज थपेर लिने गरेको पुनमकुमारीको भनाइ छ ।
त्यस्तै, अर्को सिराहाकी सुनीता विश्वकर्माले लघुवित्त संस्थाबाट लिएको १ लाख ५० हजार ऋण पाँच वर्षसम्म तिर्दा पनि अहिलेसम्म नसकिएको बताइन् । लघुवित्त समूहबाट लिएको ऋण तिर्दा तिर्दै घरमा भएका गाईवस्तु र लगाएको सुनसमेत सकिएको उनको भनाइ छ ।
त्यस्तै, रौतहट घर भएकी डिल्लीकुमारी कार्की मिटर व्याजमा लिएको ऋण तिर्न लघुवित्तबाट ऋण लिएको र त्यसैले उठबस लगाएको बताइन् । उनले मिटर ब्याजमा पैसा दिनेले धेरै फसाएर लघुवित्तमा पुगेको र त्यहाँ झन् पीडा थपिएको सुनाइन् ।
ऋण लिएर व्यवसाय गर्ने कमला मुक्तान र सुनमाया तामाङलाई समेत लघुवित्तले यातना दिएको गुनासो गरेका छन् । उनीहरूलाई लघुवित्तहरू आफैँले समूह बनाएर ऋण लिन बोलाएको र अहिले एउटाले ऋण तिर्न नसक्नेको भन्दै सबै महिलाहरूको निक्षेपसमेत दिन नमानेको बताए ।
एक तथ्यांकअनुसार लघुवित्तबाट ऋण लिनेको संख्या झन्डै ३३ लाख छन् । राष्ट्र बैंकले सुपरिवेक्षण गरेपछि ऋणीबाट लिन पाइनेभन्दा बढी असुल गरेको १ अर्ब ६० करोड सेवाशुल्क फिर्ता गर्न लघुवित्तहरू तयार भएका छन् ।

