
काठमाडौं । एमसीसी परियोजनालाई अमेरिकाले रिन्तरता दिने भएको छ । एमसीए नेपालले शनिबार सूचना समेत जारी गरेर परियोजना सूचारु भएको जनाएको छ । परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिलसँगको भेटमा हालै नयाँ दिल्लीमा नेपाललाई अमेरिकाले दिँदै आएको एमसिसी लगायतका परियोजना निरन्तर गरिदिन आग्रह गरेकी थिइन् ।
भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका गिलसँग मन्त्री डा. राणाले मार्च १८ मा भेटवार्ता गरी सो आग्रह गरेकी हुन् ।
त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपाललाई सहयोग पुर्याउने सडक एवं जलविद्युत पूर्वाधार परियोजनाका रुपमा भर्खरै निर्माण सुरु भएको एमसिसी परियोजनाको निर्माण रोकिन पुगेकाले यसलाई निरन्तरता दिने काममा पुनर्विचार गरिदिन राणाले आग्रह गरेकी थिइन् ।
त्यस आग्रहमा सुरक्षा निर्देशक गिलले आफूले यस विषयमा पुनर्विचारका लागि प्रक्रिया सुरु गर्ने बताएका थिए । उनले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका थिए ।
त्यस लगत्तै शनिबार मात्र अमेरिकी सरकारले सो परियोजनालाई निरन्तरता दिनेगरी सूचना जारी गरेको छ । अब उक्त परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ ।
यसैबिच, एमसीसी परियोनालाई नेपालमा निरन्तरता दिन लागिएको भन्दै विभिन्न सञ्चार माध्यममा आइरहेका समाचाप्रति विप्लव नेतृत्वको नेकपाले आपत्ती जनाएको छ । उक्त पार्टीले सोमबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै एमसीसी सम्बन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प नेतृत्वको सरकारले ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेकोमा तर पछिल्लो समय त्यसलाई निरन्तरता दिने भन्दै विभिन्न नेपाली सञ्चार माध्ययममा आइरहेका समाचाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
नेकपाले यथास्थितिमा एमसीसी लागू नगर्न र नेपालको संविधान र कानून मातहतमा रहने व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको पार्टीको एमसीसी सरोकार समितिका संयोजक समेत रहेका स्थायी समिति सदस्य भरत सीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।