काठमाडौ । धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको यही भदौ ४ गते कुवेतमा मृत्यु भएको थियो।
उनी २०८० साल असारमा कुवेत पुगेका थिए। विषाक्त मदिरा सेवनका कारण उनको निधन भएको खबर पाएपछि विक्षिप्त भएकी ३३ वर्षीया श्रीमती विद्या मगरको यही भदौ ७ गते निधन भएको हो।
श्रीमानको मृत्युको खबर सुनेपछि विछिप्त गएकी विद्या अचानक बेहोस भइन्। उपचारका लागि महालक्ष्मी नगरपालिकाकै जितपुर नगर अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। तीन दिनको अन्तरालमै श्रीमान् र श्रीमती दुवैलाई गुमाउँदा परिवार मात्र होइन, सिङ्गो गाउँ नै यतिबेला शोकमा डुबेको छ।
मगर दम्पतीका तीन छोरीमध्ये जेठी १६ वर्षीय बिपना धनकुटा सदरमुकामस्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा पढ्दै छिन्। माइली १५ वर्षीय सञ्जु सोही विद्यालयमा कक्षा ११ मा पढ्छिन्। कान्छी समिता केवल दुई वर्षकी मात्रै छिन्। आमाको काजकिरिया सके पनि उनीहरूले अझै बुबाको शव पर्खिरहेका छन्। शव नेपाल ल्याउने तयारी भइरहेको नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीले जानकारी दिए। शव आइपुगेपछि फेरि छोरीहरूले नै काजकिरियाको परम्परा पूरा गर्नुपर्नेछ।
अब यी छोरीहरूको भविष्यप्रति अहिले छिमेकीदेखि आफन्तसम्म चिन्तामा छन्। आर्थिक अवस्था सामान्य रहेको परिवारमा आमाबाबु दुवै गुम्दा लालन पालन, शिक्षा र पालनपोषण कसरी गर्ने भन्ने विषयमा चिन्ता सुरु भएको हो। कुनै समस्या नभएको बिहानसम्म घरमा छोरीहरूलाई चिया खाजा खुवाएकी बहिनी विद्याको मृत्युको खबर आउँदा आफू स्तब्ध बनेको विद्याका दाइ गणेश मगरले बताए।
‘ज्वाइँको विषाक्त मदिरा सेवन गरेर मृत्यु भएको खबर सुनेपछि बहिनी बेहोस भएपछि नब्युँझिएको भन्ने खबर आयो । मगरहरूको १० दिनसम्म किरिया बार्ने चलन रहेकोमा ज्वाइँ आउने प्रतीक्षाका कारण फेरी बार्नु पर्ने भएपछि ७ दिनमा नै बहिनीको सदगद् सकेको उनले बताए।
‘मामाले पनि आमाको पनि भूमिका निभाउनु पर्ने अवस्था आयो,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएको कारण हामीले उनीहरूको लालन पालनको लागि माइली भान्जीको नाममा खाता खोलेर सहयोग सङ्कलन सुरु गरेका छौँ।’
महालक्ष्मी नगरपालिकाले जेठी र माइली छोरीको शिक्षामा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको छ।

