वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
पुस लागेपछि नेपालमा गएका १० भूकम्प
Prabhu Bank AD

काठमाडौं । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीलाई केन्द्रबिन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ६:५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु रहेको दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

आज काठमाडौं उपत्यका आसपास निकै ठूलो धक्का महसुस गरिएको थियो । केन्द्रको तथ्याङ्कले भने नेपालमा लगातार भूकम्प गइरहेको देखाउँछ । पुसयता मात्रै नेपालका विभिन्न जिल्लालाई केन्द्रबिन्दु बनाएर १० वटा (आजको बाहेक) भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ । आजको भूकम्पको केन्द्रबिन्दु भने चीनमा रहेको छ ।

केन्द्रका अनुसार २ पुस बेलुका ५ बजेर ८ मिनेट जाँदा बझाङलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको भोलिपल्ट अर्थात् ३ पुसमा दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङलाई नै केन्द्रबिन्दु बनाएर ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यस्तै ४ पुसमा बिहान ७ बजेर ३७ मिनेट जाँदा मनाङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसको भोलिपल्टै अर्थात् ५ पुसमा बिहान ४:१४ मा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।

केन्द्रको तथ्याङ्कअनुसार पुस ९ मा राति ९ बजेर २५ मिनेट जाँदा दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै ११ पुस बिहान ६ बजेर ३३ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ४।२ रेक्टरस्केलको भूकम्प गएको थियो ।

केन्द्रका अनुसार पुस १६ मा बिहान ७:५४ बजे बैतडीलाई केन्द्रबिन्दु बनाएर ४.६ र पुस १८ गते दिउँसो ३ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यस्तै पुस १९ गते बिहान ८:२९ मा मनाङलाई केन्द्रबिन्दु बनाएर ४।१ र सोही दिन बिहान ८:३ मा मुगुलाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

आज चीनको दिंगे केन्द्रबिन्दु भएर गएको भूकम्प ७ रेक्टरस्केलको रहेको र यसको धक्का नेपालका विभिन्न स्थानमा महसुस गरिएको केन्द्रले जानकारी दिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर