काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै भनेका थिए, ‘म आफू भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ।’ उनको सो उद्घोष गरेको तीन वर्ष नपुग्दै भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले नेपाल एसियाकै भ्रष्ट मुलुक र प्रधानमन्त्री ओलीले भ्रष्टाचारीको संरक्षण गरेको भनी रिपोर्ट सार्वजनिक गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७६ असोज १७ गते भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै राष्ट्रसेवकलाई प्रत्येक दिनको कार्य प्रारम्भ हुनुअघि भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न उर्दी जारी गरेको थियो। सुशासन र सदाचारको प्रवद्र्धन गर्न भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्न निर्देशन दिने निकाय नै भ्रष्टाचारको अग्रस्थानमा रहेको टिआईले औंल्याएको थियो । टिआईद्वारा जारी ग्लोबल करप्सन ब्यारोमिटर एसियाको रिपोर्टमा नेपालका ५० प्रतिशत नागरिकले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको दाबी गरेको उल्लेख थियो ।
वाइडबडी विमान खरिदमा भएको अनियमितता, सेक्युरिटी प्रेस खरिद क्रममा भएको घुस बार्गेनिङ, ओम्नीसँग खरिद गरिएकोे स्वास्थ्य सामग्रीमा भएको अनियमितता छताछुल्ल हुँदा पनि प्रधानमन्त्री ओलीले उक्त कार्यमा संलग्न मन्त्रीहरूले कुनै भ्रष्टाचार नगरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओलीले झण्डै ३ करोडको ब्रान्डेड घडी र ४५ लाख मूल्यको महँगो चश्मा लगाएको विषय यतिबेला चर्चामा छ । एक साप्ताहिकको पछिल्लो अंकमा ‘प्रमको नाडीमा करोडौँको घडी, देशभर बाढी’ शीर्षकमा समाचार प्रकाशित भएसँगै केपी ओलीको सदाचार नीतिमाथि गम्भीर प्रश्न उठेको छ ।
ओलीले बाँधेको उक्त घडी पातेक फिलिप नौटिलस (मुन फेज) ब्राण्डको हो । धनीमानी र घडीका सौखिनहरूले बाँध्ने यसको बजार मूल्य २ करोड ८८ लाख ९१ हजार पर्ने बताइन्छ । ओलीले लगाउने चश्माको फ्रेम ह्वाइट गोल्डबाट बनेको हो । निकै चम्किलो देखिने उक्त फ्रेमको मूल्य ३० हजार युरो अर्थात् झन्डै ४५ लाख नेपाली रूपैयाँ पर्न आउँछ ।

आफ्नो सारा सम्पत्ति सरकारलाई दान दिएको दाबी गर्दै उपचार खर्चसमेत राज्य कोषबाट लिएका प्रधानमन्त्री तथा अध्यक्ष ओली घडीमात्र हैन झन् महंगा गाडी समेत चढेका छन् । मेडिकल माफिया भनेर बदनामी कमाएका र राजा फर्काउने अभियानमा हिँडेका दुर्गा प्रसाईंको नाममा रहेको भि–८ गाडी ओलीले नै चढ्ने गरेको चर्चा छ । भक्तपुरको बालकोटस्थित निजी निवासको आँगनभरि आधा दर्जनजति शानदार गाडी सजाएर राखिएको छ ।
युवाअवस्थामै पूर्णकालीन राजनीतिमा लागेको र १४ वर्ष जेल बसेका ओली कुन स्रोतबाट शानदार जीवन बाँचिरहेका छन् ? करोडौँको घडी बाँध्ने हैसियत कसरी प्राप्त भयो ? आयस्रोत के हो ? तेह्रथुममा जन्मिएर झापामा हुर्किएका ओलीको इतिहास हेर्दा उनको पारिवारिक अवस्था निम्नमध्यम वर्गीयभन्दा पनि अझै तल हो । व्यापार–व्यवसाय गरेको खानदानी परिवार होइन ।
राजनीतिमा लाग्नुअघि ओलीले कमाई हुने कुनै उद्यम गरेका थिएनन् । उनी आफैँले २०२५ सालमै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर भूमिगत राजनीतिमा होमिएको बताउने गरेका छन् । त्यसपछि १४ वर्ष जेल पर्नुभएका उनी बाहिर निस्कँदा आर्थिक हैसियत झन खराब थियो । त्यतिबेला पार्टीले टिकट काटेर काठमाडौँबाट गाडी चढाई झापा पठाएको राधाकृष्ण मैनालीले सार्वजनिक मञ्चबाट धेरैचोटी बताइसकेका छन् ।
भूमिगतकालमा मात्र होइन, २०४६ पछि एमाले सत्ताको वरपर भएकै बेलासमेत ओलीको आर्थिक हैसियत उठेको थिएन । गृहमन्त्री भैसकेपछि गाडीमा तेल हाल्नसमेत शुभचिन्तकहरूसँग हात थाप्नुपर्ने अवस्था थियो । मृगौलामा समस्या देखिएपछि एयर एम्बुलेन्समा उपचारका लागि नयाँ दिल्ली जाँदा विनोद ढकालहरूले खर्चपर्च मिलाएको सन्दर्भ एमाले नेताहरू स्मरण बताउँछन् । ०५१ सालतिर गाडीमा तेल हाल्ने पैसा नभएर नजिकका कमरेडहरूसँग मागेको प्रसंग एमाले नेताहरू अहिले पनि सुनाउँछन् ।
अर्कोतिर, ओलीले आफ्नो सबै सम्पत्ति राज्यलाई बुझाइसकेको र आफूसँग कौडीसमेत नभएको दाबी गरेका छन् । तेह्रथुमको पुख्र्यौली सम्पत्ति आफ्नै नामको ‘केपी ओली ट्रष्ट’लाई दिएका छन् भने अहिले बस्दै आएको बालकोटको भव्य घर चैं आफैँसँग राखेका छन् ।
प्रम केपी ओलीले नेपालका भ्रष्ट नेताहरुको अग्रपंक्तिमा आफ्नो नाम दर्ज गरेका छन् । पछिल्लो पटक भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमालेलाई अर्बौ मूल्य बराबरको ११ रोपनी जग्गा दान दिएका छन् । त्यत्ति मात्र होइन, एक वर्षभित्र भव्य पार्टी कार्यालय पनि उनैले बनाइदिने भएका छन् । यति धेरै ठूलो पुँजी एक जना व्यापारीले किन एमालेलाई दिए ? एमालेलाई डेढ दुई अर्ब दान गर्ने मीनबहादुर गुरुङले एमालेलाई दुरुपयोग गरेर कति अर्ब कमाए ? एमालेले मीनबहादुर गुरु्रङ जस्ता व्यापारीहरुलाई फाइदा दिलाउन राज्य र जनतामाथि कति मूल्य बराबरको घात ग¥यो ? आम नेपाली जनताले त्यसका लागि कति मूल्य चुकाउनु प¥यो ? परिरहेको छ ? यसको खोजीनीति कसले गर्ने ? यी गम्भीर प्रश्नहरु अहिले राजनीतिक वृत्तमा व्यापक चर्चाका विषय बनेका छन् । मुठ्ठिभर उद्योगी, व्यापारी, माफियाहरुलाई पोस्न राज्यका दलाल नेताहरुले देश र जनतको कंगालीकरणमा रकडै ब्रेक गर्दै आएका छन् ।

