काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय घिमिरेको शुक्रबार राति हत्या भएको थियो । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।
निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर फालिएको अवस्थामा शुक्रबार राति शव भेटिएको थियो । कालो म्याट्रेसले छोपिएको अवस्थामा शव भेटिएको थियो भने घिमिरेको अनुहारभरि चोट थियो । ट्राफिक प्रहरीको पोशाक र बुट जलाइएको अवस्थामा भेटिएको थियो ।
हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेकाहरुमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया कार्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालक छन् । सचिन र अञ्जली श्रीमान श्रीमती भएको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सबैजसो लागु औषध प्रयोगकर्ता रहेको प्रहरीको भनाइ छ । उनीहरु बालाजु, जरंखु, मनमैजु लगायतका क्षेत्रहरुमा सडकपेटी तथा निर्माणाधीन घरहरुमा बस्ने गरेका थिए ।
पक्राउ परेकाहरुको विगत पनि विभिन्न सार्वजनिक अपराध तथा चोरी लुटपाटहरुमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । अहिले ट्राफिक जवान हत्या गरिएको घरमा उनीहरु करिब १५ दिन अघिदेखि बस्न थालेको पाइएको छ ।
लागुऔषध प्रयोगकर्ता, चोरी, लुटपाट, कुटपिट तथा सार्वजनिक अपराधको कसुरमा संलग्न भएकाहरुको विवरण केलाउने क्रममा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसएसपी वसन्त रजौरेले बताए ।
हत्या गरेपछि यो समूहले ट्राफिक प्रहरीको साथमा रहेको २ हजार रुपैयाँ समेत लुटेर लगेको देखिएको छ ।
मदिरा खाँदा सुरु भएको थियो विवाद
हाल मारिएका ट्राफिक जवान घिमिरे यसअघि गोंगबु बसपार्कमा ट्राफिक प्रहरीको रुपमा कार्यरत थिए । गोंगबुमै कार्यरत रहेका बेला ट्राफिक प्रहरी घिमिरे र पक्राउ परेका सचिनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ । त्यतिबेला सचिन बसपार्क क्षेत्रमा भरियाको काम गर्थे ।
हत्या भएको दिन ड्युटी सकेर घिमिरे रातिको साढे ८ बजे दरबारमार्गबाट निस्केको सीसीटीभी फुटेजमा देखिएको छ । घिमिरे राति ९ बजे तारकेश्वर नगरपालिका–११ स्थित नाम उल्लेख नभएको एउटा सानो खाजा घरमा पुग्छन् ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार केही समयमै उक्त खाजा घरमा सचिन र अञ्जली पनि आइपुग्छन् । सचिनसँग पूर्व चिनजान भएकाले उनीहरु एउटै टेबुलमा बसेर खाजा मदिरा खान्छन् । ‘ट्राफिकले सुरुमा मदिरा लिन इन्कार गरे पनि सचिनले कर परेपछि मदिरा पिएको देखिन्छ । सो क्रममा उनीहरुबीच सामान्य विवाद हुन्छ’ एक अनुसन्धान अधिकृतले भने, ‘नसाको सुरमा विवाद भएपछि युवतीसँग ट्राफिकलाई जोडेर थप विवाद गरेको देखिन्छ ।’
‘सचिन आफैं लागु औषध प्रयोगकर्ता समेत रहेको, मदिरा पनि पिएपछि निहुँ खोज्दै युवतीसँग ट्राफिकलाई जोडेर हत्यासम्म भएको देखिएको छ’ तीन अनुसन्धान अधिकृतले भने ।
विवाद भएपछि ट्राफिक प्रहरी घिमिरे उठेर आफ्नो कोठातर्फ जान खोज्छन् । तर सचिनले पछाडिबाट मोटरसाइकल तान्दै रोकेर अञ्जलीलाई चढाउँछन् र आफू पनि मोटरसाइकलको पछाडि बस्छन् । त्यसपछि सचिनले ट्राफिक प्रहरी घिमिरेलाई आफूहरु बस्दै आएको मनमैजुको निर्माणाधीन घरमा लैजान भन्छन् ।
मनमैजुस्थित निर्धाणाधीन घर नजिक पुगिसकेपछि मोटरसाइकलबाट उनीहरु झर्छन् । त्यसपछि सचिनले ट्राफिक प्रहरी घिमिरेलाई हेलमेटले हिर्काएर लडाएको पाइएको एक अनुसन्धान अधिकृतले बताए । त्यसपछि सचिन र अञ्जली दुबैले कुटपिट गरेको अनुसन्धानबाट प्रहरीको भनाइ छ ।
गम्भीर घाइते अवस्थामा घिमिरे भुइँमा ढलेका घिमिरेलाई त्यसै घरमा सुतेका अरु ५ जनाले पनि उठेर कुटपिट गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । प्रहरी जवान घिमिरेमाथि नक, इटा, रड, ढुंगा, हेल्मेटले प्रहार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।
हत्यापछि घिमिरेको बर्दी र बुट उनीहरुले जलाएका थिए । शवलाई भने कालो म्याट्रेसले छोपेर फरार भएका थिए । हत्यामा विशेषगरी लागु औषध, मदिरा र युवतीको विवाद जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।हत्यापछि उनीहरु सोही राति फरार भएका थिए । राति सडकपेटीमा सुतेका उनीहरु शनिबार कपडाहरु लिन उक्त निर्माणाधीन घरमा पुगेका थिए ।

