काठमाडौं । माओवादी जनयुद्धको दिल्ली फ्याक्टर र प्रचण्ड–बाबुरामबारे भारतीय प्राध्यापक एसडी मुनीले गरेको खुलासाबारे डा.बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत् आफ्नो स्पष्टीकरण दिएका छन् । उनले यसबारे मिडियामा आएका समाचारमाथि टिप्प्णी गर्दै भनेका छन्– ‘अल्पविकसित र साना देशका शासकवर्ग र तिनका आसेपासेहरूको एउटा चारित्रिक विशेषता हुन्छ( विदेशी वा ठूलो देशका मानिसले भनेको वा उनीहरूको भाषा ( विशेषतः अंग्रेजी) मा लेखिएको कुरालाई ब्रह्मवाक्य ठान्ने र आफ्ना देशका मानिसले भनेको वा आफ्नो मातृभाषामा लेखिएको कुरालाई चाहिं नपत्याउने, यसलाई औपनिवेशिक दासमानसिकता भनिन्छ । यो विडम्बनापूर्ण र खेदजनक छ।
उनले लेखेका छन्, “प्रचण्ड र बाबुरामहरू जिउॅदो प्रमाण छॅदाछॅदै उनीहरूले भनेका तथ्यसत्यलाई नपत्याएर माओवादी आन्दोलनलाई ‘आतंतककारी’ भन्नेहरूले सो आन्दोलन र त्यसका नेताहरूलाई बदनाम गर्न तथ्यसत्य बंग्याएर भनेका कुरालाई चियाको कपमा तुफान भने झैं बढाइचढाइ प्रचार गर्नुको अर्थ के हो? के राजतन्त्र प्रचण्ड-बाबुराम ( अझै मुख्य ‘अपराधी’ बाबुराम?) ले भारतीय सत्तापक्षसंग हारगुहार गरेर फ्याॅकेको र गणतन्त्र ल्याएको हुनाले अब भारतसंगै हारगुहार गरेर राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ भनेको हो? त्यसो भए गरिहेरे भयो नि त! हामी हात-मुखमा दही जमाएर बसौंला त? यस्तो दरिद्र र दास मानसिकता विरूद्ध नै हिजो हामी ज्यान हत्केलामा राखेर लडेका थियौं।
अहिले प्रम रहनुभएका प्रचण्डवारे त मैले भन्न सक्ने कुरा भएन तर बाबुराम चाहिं आफ्नो प्रतिबद्धतामा यस्तो जिराहा मान्छे हो कि सारा संसार उसको विरूद्धमा उभिए पनि सत्य र न्यायको पक्षमा उ लडिरहन्छ! तर हिट्लरको प्रचारमन्त्री ग्वेबल्सले भने झैं झुटो कुरा सय चोटि दोहोर्याए पछि त्यो सत्य लाग्नथाल्छ रे! त्यसैले तत्कालीन माओवादीको आधिकारिक निर्णय अनुसार पार्टी र जनसेना प्रमुखको रूपमा प्रचण्ड र जनसरकार प्रमुखको रूपमा बाबुरामको तर्फबाट हस्ताक्षर गरेर तत्काल सहज उपलब्ध भएकाले Prof. S D Muni मार्फत भारतलाई र अरू सूत्र नभएकाले हुलाकबाट अमेरिका,चीन र संयुक्त राष्ट्र संघलाई पठाएको एउटै व्यहोराको पत्र ( जुन त्यतिवेलै माओवादीको अंग्रेजी मुखपत्र The Woker मा छापिएको थियो) वारे यहाॅ पुनः स्मरण गराउनु उपयुक्त हुनेछ।
विश्व इतिहास साक्षी छ- संसारभरका क्रान्तिकारीहरू र राष्ट्रिय मुक्तियोद्धाहरूले आफ्नो समानान्तर सत्ता स्थापना र घोषणा गरेपछि प्रमुख छिमेकी,शक्ति राष्ट्रहरू र संयुक्त राष्ट्र संघलाई आफ्नो सत्तालाई मान्यता दिने आग्रह सहित पत्राचार गर्छन् वा प्रचारवाजी गर्छन्। PLO ( Palestine Liberation Organization) ले त्यसै गरेको सबैलाई थाहा छ। हामीले पनि २०५९ असोजमा ज्ञानेन्द्र शाहले तत्कालीन प्रम देउबालाई बर्खास्त गरेर आंशिक रूपमा सत्ता आफ्नो हातमा लिएपछि र माओवादी विरूद्ध सेना परिचालन तीब्र पार्नुकासाथै छिमेकी र शक्तिराष्ट्रहरूसंग सैन्यसहयोग माग्न थालेपछि त्यसको प्रतिबाद स्वरूप आफुलाई नेपाली जनताको वास्तविक प्रतिनिधि दाबी गर्दै संसारभर पत्राचार गर्ने र प्रचारवाजी गर्ने रणनीति बनाएका थियौं। स्मरण रहोस् त्यति वेला नेपाली र अन्तरराष्ट्रिय पर्यवेक्षकहरूले देशको असी प्रतिशत भूभागमा माओवादीको प्रभाव र बर्चस्व रहेको स्वीकारेका थिए । त्यस्तो परिवेशमा पठाएको हाम्रो पत्रलाई कसैले पनि औपचारिक रूपमा स्वीकारेका थिएनन्। किनकि उनीहरू सबैका नजरमा माओवादी ‘आतंककारी’ संगठन थियो।
भारतीय सत्तापक्षको नजरमा त्यहाॅका माओवादीहरू समेत देशको सुरक्षामा ‘एक नम्बर’ खतरा थिए। जहाॅसम्म भारतलाई उसको ‘हित विपरित नजाने’ भनी दोश्रो पत्र लेखिएको कुरा छ, त्यो पटक्कै सत्य हैन। अर्धसत्य चाहिं यो हो कि निकै पछि ( सम्भवतः २०६१/६२ सालतिर) विश्वभर माओवादीवारे चर्चा र चासो बढ्न थालेपछि र ज्ञानेन्द्रप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा तीब्र वितृष्णा बढेर राजनीतिक शक्तिसन्तुलन हाम्रो पक्षमा फेरिन थालेपछि आफ्नो लोकतान्त्रिक प्रतिबद्धता विश्वलाई बुझाउनुपर्छ भनेर अर्को त्यस्तो व्यहोराको एउटा अंग्रेजी प्रस्ताव तयार पारिएको थियो! जसलाई हामीले The Woker मा छापेका थियौं र त्यही कपि भारत लगायत सबैलाई पठाइएको थियो। यसैलाई तिलको ताड बनाएर उफ्रनेहरूलाई त के भन्नू र! बरू त्यसले नै पार्टीभित्र नयाॅ लोकतान्त्रिक बाटोमा जाने र संसदवादी दलहरूसंग १२-बुॅदे समझदारी गर्ने अनुकूल वातावरण बनाएको थियो। अनि अर्को कुरा – माओवादीले भन्दैमा भारतले राजतन्त्र छाडेर गणतन्त्रको पक्षमा जान सक्दैनथ्यो र गएको हैन भन्ने प्रमाण त २०६२ मंसीरमा भएको माओवादी र सात दल वीचको १२- बुॅदे समझदारी पश्चातको २०६२-०६३ को जनआन्दोलनको उत्कर्षसम्म भारत ‘दुइ-खम्बे नीति’ ( अर्थात् राजतन्त्र र संसद) मा दृढ रहनु हैन र? २०६३ बैशाख ८ गते करण सिॅह मार्फत त्यही नीति लागू गर्न खोजिएको र मुख्यतः माओवादी र सडकमा उत्रेका आन्दोलनकारीले नमाने पछि बैशाख ११ गते ज्ञानेन्द्रले घुॅडा टेक्नुपरेको हैन र ? त्यसैले दिउॅसै रात पार्ने कोशिश कसैले पनि नगर्ने कि?”

