वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भारतीय दबाबका कारण चीनबाट मगाएको ९० टन विस्फोटक पदार्थ भन्सारमा रोकियो
Prabhu Bank AD

काठमाडौँ — सडक तथा जलविद्युत् आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयातमा व्यवधान गरेको भारतले नेपालमा सञ्चालित आयोजनाबीच सापटी लिन–दिनसमेत अवरोध गरेको छ । भारतले जेठ तेस्रो साता सरकारलाई पठाएको पत्रमा आफ्नो देशबाट पैठारी हुने विस्फोटक पदार्थ जुन आयोजनाका लागि माग गरिएको हो, त्यसबाहेकमा प्रयोग गर्न नपाउने सर्त राखिएको छ ।

विस्फोटक पदार्थ आयातमा भारतले पटक–पटक व्यवधान खडा गरेपछि मन्त्रिपरिषद्ले गत वैशाख २६ मा विस्फोटक पदार्थ नियम–२०२० संशोधन गरी नेपालमा सञ्चालित अर्को परियोजनाबाट ‘सापटी लिएर पनि काम चलाउन सकिने’ व्यवस्था गरेको थियो । संशोधित नियम राजपत्रमा प्रकाशित भइसकेपछि पर्याप्त विस्फोटक पदार्थ रहेका आयोजनाबाट सापटीमा काम चलाउने प्रयास गरिएको थियो । त्यसमा आपत्ति जनाउँदै भारतले पत्राचार गरेर रोकिदिएको हो ।

परराष्ट्र मन्त्रालयका अधिकारीले विस्फोटक पदार्थ आयातका विषयमा भारतले सर्त राखेर पत्र पठाएको पुष्टि गरे । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला भारतबाट नेपाल सरकारलाई विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा पत्र आएको बताए । उक्त पत्रमा भारतले ‘अन्तर्राष्ट्रिय कानुन र प्रचलनअनुसार विस्फोटक पदार्थ प्रयोग हुनुपर्ने’ भन्दै सहज आयातमा व्यवधान गर्न खोजेको छ ।

भारतले विस्फोटक पदार्थ आयातको अनुमति (नो अब्जेक्सन सर्टिफिकेट) ६ महिनादेखि ठप्प पारेपछि विकल्पमा चीन गएका लगानीकर्ता पनि सरकारको नीतिका कारण समस्यामा परेका छन् । सरकारको असहयोगका कारण चीनबाट ल्याइएको विस्फोटक पदार्थ अहिले रसुवागढी भन्सारमा अलपत्र छ ।

सरकारले विस्फोटक पदार्थ सरसापटी गर्न पाउने व्यवस्थासहितको विस्फोटक दोस्रो संशोधन नियम गत वैशाखमा ल्याएपछि लगानीकर्ताले चीनबाट विस्फोटक पदार्थ मगाएका थिए । तर सरकारले कार्यविधि कार्यान्वयन नगर्दा व्यापारीले चीनबाट मगाएको विस्फोटक पदार्थ भन्सारमा रोकिएको हो । चीनबाट मगाएको करिब १४० टन विस्फोटक पदार्थमध्ये ९० टन भन्सारमा रोकिएको आयातकर्ता आनन्द चौधरीले बताए ।

इप्पानका उपाध्यक्षसमेत रहेका चौधरी भारतबाट ल्याउन अनेक प्रयास गर्दा पनि नसकेपछि विकल्पमा चीन गएका थिए । भन्सारमा रहेको विस्फोटक पदार्थ कसले र कहाँ लैजाने खुलाएपछि मात्रै भन्सार पास हुने र त्यसका लागि गृह मन्त्रालयले सरसापटी कार्यविधि कार्यान्वयन गर्नुपर्ने चौधरी बताउँछन् । यसअघि चौधरीले नै चीनबाट ल्याएको ९० टन विस्फोटक पदार्थ होङ्सी सिमेन्ट, सान्जेनलगायतले प्रयोग गरेका थिए ।

एक सचिवका अनुसार भारतीय लगानी र निर्माण कम्पनी जोडिएका बाहेक थुप्रै परियोजनामा विस्फोटक पदार्थ अभाव छ, जसका कारण आयोजनाको लागत बढ्नेदेखि विकास निर्माण तोकिएकै समयमा पूरा नहुने स्थिति छ । नेपालले रक्षा र गृह मन्त्रालयको पूर्वस्वीकृति र निगरानीमा विस्फोटक पदार्थ ल्याउने गरेको थियो ।

विस्फोटक पदार्थ प्रयोगमा पनि सेनासँग समन्वय भइरहेको थियो । भारतले नेपाली सेनाद्वारा सञ्चालित इमल्सन प्लान्टका लागि चाहिने कच्चा पदार्थमा पनि बारम्बार अवरोध गर्दै आएको छ ।

भारतीय लगानी र निर्माण कम्पनीमार्फत सञ्चालित जलविद्युत्का लागि भने विस्फोटक पदार्थ आयातमा अवरोध छैन । नेपालका ४ हजार ६ सय ३९ मेगावाटका सातवटा जलविद्युत् आयोजनामा भारतीय लगानी छ  । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगमको लगानीमा निर्माणाधीन छ । ४ सय ९० मेगावाटको अरुण चौथो, ६ सय ६९ मेगावाटको तल्लो अरुण, ७ सय ५० मेगावाटको पश्चिम सेती, ४ सय ८० मेगावाटको फुकोट कर्णाली, ९ सय मेगावाटको माथिल्लो कर्णाली र ४ सय ५० मेगावाटको सेती नदी–६ को ठेक्का पनि भारतीय कम्पनीले पाएका छन् । यी आयोजनामा भारतीय अवरोध छैन । नेपाल र अरू देशका लगानीकर्ता जोडिएका आयोजनालाई भने भारतले सर्त र उल्झन तेर्स्याएर अवरोध गरेको हो ।

नेपाली लगानीमा निर्माणाधीन तनहुँ जलविद्युत्, खिम्ती दोस्रो, नपुचे लिखु, मध्य तमोर, काबेली, लामटाङ, तल्लो इखुवा खोला, सान्जेनलगायतका आयोजनाको काम महिनौंदेखि प्रभावित छन् । यसको मूल कारण विस्फोटक पदार्थमा भारतीय अवरोध रहेको ऊर्जा प्रवर्द्धक कृष्ण आचार्य बताउँछन् । विस्फोटक पदार्थ अभावले ४८।८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत् आयोजनामा सुरुङमार्गका सबै काम रोकिएका छन् ।

सरसापटीले भरथेग गर्न पाउने कार्यविधि ल्याएपछि सोलुखोला जलविद्युत्, तनहुँ जलविद्युत्, काठमाडौं तराई द्रुतमार्ग, मध्यतमोर, काबेली ए, सान्जेनलगायतका आयोजनाले सापटी प्रयोग गर्न पाऊँ भन्दै गृहमा निवेदन दिएका थिए । भारतको पत्र आएपछि गृहले ती फाइल अगाडि नबढाएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इपान० का भरत पराजुली बताउँछन् ।

जुन मुलुकका लागि भनेर झिकाइएको छ त्यो बाहेकको आयोजनामा विस्फोटक पदार्थको प्रयोग बर्जित भन्ने प्रावधान चीन लक्षित रहेको पराजुली बताउँछन् । ‘चीनलाई सिधै नभनेर तेस्रो राष्ट्र भनिएको छ,’ उनले भने । विस्फोटक पदार्थसम्बन्धी कार्यविधि संशोधनपछि चिनियाँ लगानी र ठेकेदारले काम गरेका आयोजनाले समेत सापटी लिने

अड्कलमा भारतले पत्रचार गरेको अर्का एक ऊर्जा प्रवर्द्धकले बताए । सन् २०१८ मा भारतको जयपुरमा भएको सुरक्षा संयन्त्र बैठकमै भारतले एक आयोजनाका लागि दिइएको विस्फोटक पदार्थ अन्यले प्रयोग गर्न नपाउने समझदारीको सर्त राखेको थियो ।

नपुचे लिखु जलविद्युत् आयोजनाका प्रवर्द्धक टीएन आचार्य भने सरसापटी कार्यविधिले आयोजनामा झन् समस्या थपेको बताउँछन् । ‘सरकारले के–के न ल्याएजसरी ल्यायो तर कुनै पनि आयोजनाले सापटी पाएनन् । उल्टो भारतले अनेक बखेडा खडा गर्न थाल्यो,’ उनले भने, ‘विस्फोटक पदार्थका लागि तीनपुस्ते मागेर झन् दुःख दिइयो । प्रविधि र सीपमा चिनियाँ ठेकेदार तथा कामदार सस्तो र सजिलोका कारण विश्वभर फैलिएका छन् । नेपालमा भने तिनै चिनियाँले काम गर्दा भारतलाई टाउको दुखेको छ ।’

मकवानपुरको सुनाचरीमा भारतले उपकरण जडान गर्न प्रस्ताव राखेको, त्यसका लागि निरीक्षणको अनुमति पनि मागेको तर अति संवेदनशील र राष्ट्रिय सुरक्षासँग जोडिएकाले त्यसमा सहमति नदिएपछि कच्चा पदार्थ आयातमा असर परेको अवकाशप्राप्त एक जर्नेलले बताए । सुनाचरीमा चीनबाट उपकरण खरिद गरेर डबलबेस प्लान्ट सञ्चालनको काम अघि बढेपछि त्यसमा चाहिने कच्चा पदार्थ आयात असहज बनेको ती पूर्वजर्नेलको भनाइ छ ।

नेपालमा सरदर ५ हजार मेट्रिक टन विस्फोटक पदार्थ चाहिनेमा सेनाका इमल्सन प्लान्टबाट ३ हजार मेट्रिक टनभन्दा बढी उत्पादन गर्न सकिने आकलन छ । तर कच्चा पदार्थ पर्याप्त नहुँदा ती प्लान्ट पूर्ण क्षमतामा चल्न पाएका छैनन् । डबलबेस प्रोपेलेन्ट प्लान्ट, अटोमेटिक कार्टिजिङ एन्ड फिलिङ मेसिनलगायत उपकरण पूर्ण क्षमतामा सञ्चालन गर्न सके ६ गुणासम्म उत्पादन बढ्न सक्छ ।

चीनबाट ल्याउँदा नेपाली सीमासम्म थप सुरक्षा शुल्क तिर्नुपर्छ । ‘विस्फोटक पदार्थकै अभावमा पूर्वाधार निर्माण गर्न समस्या भएपछि महँगो परे पनि चीनबाट ल्याउन खोज्दा सरकारकै कारण भन्सार पास हुन सकेको छैन,’ इप्पानका उपाध्यक्ष आनन्द चौधरीले भने । चीनबाट विस्फोटक पदार्थ ल्याउन सहज वातावरण बनाइदिन निजी क्षेत्रले आग्रह गर्दै आए पनि सरकारले नसुनेको इप्पान अध्यक्ष गणेश कार्की बताउँछन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर