काठमाडौँ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थालेको छ । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि कामचलाउ सरकार बनाउन गठबन्धनले राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।
प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक मानिएको छ । कांग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने हुन्छ । जबकि सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रदेश सरकारमा अस्थिरता नहोस् भन्नेमा दलहरु सचेत भएकोले संघीय गठबन्धनअनुसार सरकार बनाउन पहल गर्ने शुक्रबार बेलुका कान्तिपुरसँग बताए । ‘संघीय गठबन्धनअनुसार सरकार बनाउने गृहकार्य छिट्टै सुरु गर्छौं,’ उनले भने, ‘कांग्रेस, माओवादी, राप्रपा र जसपासहित सरकार बनाउने प्रदेशस्तरमा छिट्टै छलफल सुरु हुन्छ ।’
एमाले सचिव योगेश भट्टराईले एमाले(राप्रपा गठबन्धन सरकार बनाउन एक सिटमात्र अपुग भएकाले एक सिट भएको जसपासँग फेरि सरकार बनाउने पहल गर्ने प्रतिक्रिया दिए । ‘हामी ठूलो दलको हैसियतले संविधानले गरेको व्यवस्थाअनुसार सरकारको दाबी गर्छौं । जसपासँग कुराकानी गरेर पहल हुनेछ,’ उनको भनाइ छ ।
एमाले(राप्रपाको सरकारले विश्वासको मत लिन नसकेपछि प्रदेशसभाको राजनीतिक स्थिति फेरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बताउँछन् । ‘संघको सत्ता गठबन्धन दलबाट कोशी प्रदेश सरकारबाट केही प्रस्ताव आएको छैन । हामी अहिले नै कुनै टुंगोमा पुगेका छैनौं,’ उनले भने, ‘हाम्रो पार्टीमा विभिन्न विकल्पमा छलफल गर्छौं ।’ उनले कुनै पनि सरकारले बहुमत पाउन नसकेको अवस्थामा मध्यावधिको विकल्प पनि खुला रहेको उल्लेख गर्दै त्यसबारे सोचिनसकेको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेशसभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री कार्कीले आफ्नो सरकारलाई बजेट र नीति तथा कार्यक्रमसमेत ल्याउन नदिई गठबन्धनले ‘अराजनीतिक’ कदम चालेको आरोप लगाए । सरकारले विश्वासको मत पाउन नसकेपछि गृहजिल्ला झापा पुगेका उनले शुक्रबार बेलुका कान्तिपुरसँग कुरा गर्दै हाल एमाले र राप्रपा एक ठाउँमा रहेको बताए ।
‘हामी अझै पर्ख र हेरको नीतिमा छौं,’ उनको प्रतिक्रिया थियो, ‘मैले संघीय सत्ता गठबन्धन दललाई बहुमतको सरकार बनाउन शुमकामना दिएको छु । कहाँबाट मत ल्याएर सरकार बनाउनुहुन्छ ती दलले जानुन् ।’
माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपालको संविधान धारा १६८ ९२० अनुसार दुईभन्दा बढी दलको बहुमत सरकार बनाउने दाबी गरे । ‘गठबन्धनले प्रदेश सरकार बनाउन राप्रपासँग शनिबारदेखि वार्ता गर्छौं,’ उनले भने, ‘राप्रपा प्रदेशमा मध्यावधि निर्वाचनको पक्षमा नभएको संकेत पाएका छौं । गठबन्धनमा राप्रपा आउने विश्वास छ ।’
संघीय गठबन्धन दलको दबाब नभएको भए कोशीमा एमाले, माओवादी, राप्रपा र जसपाको सरकारले निरन्तरता पाउने थियो । कोशीमा माओवादी र जसपाले संघमा एमाले, माओवादी गठबन्धन भत्किए पनि थप तीन महिना सहकार्य गरेका थिए । मुख्यमन्त्री कार्कीको नेतृत्वको सरकारमा माओवादीका दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
प्रदेश प्रमुखले कुनै पनि एकल दलको बहुमत नपुगे संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार दाबी गर्न आह्वान गर्ने प्रावधान छ । संविधानको १६८ को उपधारा २ मा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ भन्ने उल्लेख छ ।
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा कार्की पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए । संघमा एमालेसँग गठबन्धन भत्केको तीन महिनापछि जेठ २३ मा सत्तारुढ माओवादी र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

