वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
४० किमि दुरी पार गर्दै धरान आइपुग्यो शुद्ध कोकाहाको पानी
Prabhu Bank AD

 

सुनसरी । सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी । जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ ।

स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई ‘सम्झेर’ स्वदेश र विदेशका हजारौं दाताहरू र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि पठाइसकेका छन् । खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँका पाइपसमेत खरिद गरेर दिएका छन् ।

धरान आसपासका खोलाखोल्सीहरू पकुवा, निसाने र भालुखोला छान मारेर पाइपलाइनसमेत विस्तार भएका छन् । विभिन्न ठाउँमा पानी संकलनका लागि इन्टेक ट्यांकी पनि निर्माण भएका छन् । धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ । संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ ।

खानेपानीका लागि दाताबाट संकलन भएको करिब ४ करोड रुपैयाँले तीन साना खोलाखोल्सीबाट पानी ल्याइएको र दुई अर्ब रुपैयाँभन्दा बढी लागतको धरान खानेपानी आयोजना पनि सञ्चालनमा रहेको भनिएको बेला धरानमा पानीको चरम अभाव हुनु प्राविधिक कमजोरीमात्र नभएर जनप्रतिनिधिको बेवास्ताका कारण भएको आरोप लाग्न थालेको छ । बोर्ड, प्रमुख हर्कराज राई, उपमहानगरपालिका र जनप्रतिनिधिमाथि नै प्रश्न गर्न थालेका छन् स्थानीय उपभोक्ताहरू

खानेपानी बोर्डले स्थानीय उपभोक्तालाई आफ्नै ट्यांकरबाट पानी आपूर्ति गर्न सबैलाई नसकेपछि यतिबेला धरानमा निजीस्तरमा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी ट्यांकर व्यवसायीहरूलाई समेत भ्याइनभ्याई भएको छ ।

खानेपानी अभाव भएपछि धरानभरिमा स्थानीय उपभोक्ता, होटल व्यवसायी, रेस्टुरा सञ्चालकहरूले दैनिक १२ लाख लिटरदेखि १५ लाख लिटर किनेर प्रयोग गरिरहेको खानेपानीको ट्यांकर व्यवसायी जयन्त गौतमले बताए । उनका अनुसार धरानमा सुख्खायाममा दैनिक ६० वटा ठूला–साना ट्यांकरले खानेपानीको ढुवानी गर्ने गरेका छन् ।

उनका अनुसार ठूला ट्यांकर व्यवसायीले प्रतिलिटर ६० पैसामा बिक्री गरिरहेका छन् भने पिकअपमा ड्रम राखेर ल्याउनेहरूले १ रुपैयाँ लिटरमा बिक्री गरिरहेका छन् । गत वर्ष ५० पैसा प्रतिलिटरमा बिक्री भएको थियो । गौतमले भने, ‘धरानबाट करिब १२ किलोमिटरको दुरीमा रहेको इटहरीको हलगडामा तीनवटा डिप ट््युबेल छन् । त्यहाँ ट्याङ्करमा पानी भर्न पनि पालो पर्खिनुपर्छ । डिप ट्युबेल सञ्चालकले ७ हजार लिटर पानीको पाँच सय रुपैयाँ लिन्छ । म दैनिक ५६ हजार लिटर पानी बिक्री गरिरहेको छु ।’ विगत चार महिनादेखि धरानमा दैनिक सरदर ८ लाख देखि १० लाख रुपैयाँको पानी बिक्री भइरहेको छ

खानेपानीको अभावले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययनरअध्यापन एक साताका लागि स्थगित भएको छ । विद्यार्थीहरूलाई घर जाने बिदा दिइएको छ । पानीको अभावका कारण धरानमा कोठा भाडामा लिएर स्कुल–कलेज पढ्ने विद्यार्थी, सानोतिनो व्यापार व्यवसाय गर्ने परिवारसमेत तत्कालका लागि आफ्नो घरमा फर्किएका छन् ।

खानेपानीको अभाव भएपछि पानी माग्दै उपमहानगरपालिका धाउने स्थानीय उपभोक्ताहरूलाई नगर प्रमुख राईले खडेरीले सर्दु–खर्दुको सतहको मुहान सुकेको, चारकोसे जंगलको भूमिगत स्रोतमा पनि पानीको लेबल घटेको, लोडसेडिङले पम्प चलाउन नपाएको भन्दै सम्झाएर फर्काउने गरेका छन् ।

पानीको अभावपछि धरानमा नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठको टोलीले खानेपानी संस्थानले ९हाल बोर्डमा० प्रयोग गर्दै आएको चारकोसे जंगलको भूमिगत पानीको स्रोतको लेबल घटेरै पानी आपूर्ति हुन नसकेको हो कि बेवास्ता हो भन्नेमा शंका उत्पन्न भएपछि तीन दिनअघि अवलोकन गरेको थियो ।

भूमिगत पानी उत्पादन गर्ने दर्जन डिप ट्युबेलको अवस्था अवलोकन गरेपछि भिडियो रिपोर्ट तयार गर्दै सबै डिप ट्युबेलमा भूमिगत पानीको अवस्था राम्रो रहे पनि बेवास्ता गरिएकाले पानी आपूर्ति हुन नसकेको र त्यसैको नतिजा धरानमा खानेपानीको हाहाकार भएको निष्कर्ष निकालेको छ ।

श्रेष्ठले भने, ‘तत्कालीन संस्था नहुँदा २४ वर्षसम्म सेवा दिएको एउटा बेल ६र७ वर्षदेखि नचलाई राखिएको रहेछ । उक्त बेलले पनि दैनिक २० देखि २२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएको थियो । २० लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने अर्को बेल पनि चलाएको छैन रहेछ । सामान्य कनेक्टर बिग्रे भन्दै १७ लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने अर्को बेल त्यतिकै रहेछ । हामीले अध्ययन गर्दा दैनिक ८० लाख लिटरभन्दा बढी पानी उत्पादन गर्ने बेलहरू बेवास्ताकै कारणले धरानमा खानेपानीको हाहाकार भएको बुझियो ।’

उनले चारकोसे जंगलमा रहेका बेलबाट उत्पादित पानी पम्प गरेर ल्याउँदा प्रयोग गरिएका ट्रंकलाइन फुटेर पानी बगिरहेको भए पनि मर्मत नगरेको पाइएको बताए । उनले भने, ‘भूमिगत पानीको लेबल कम भएर पानी सुक्यो भन्नु गलत सावित भएको छ । बेलमा टर्च लगाएर हेरेरमा पानी देखिन्छ । अर्को एउटा बेल पनि चलाउँदा पानी उत्पादन गर्छ तर किन नचलाइएको हो बुझ्नै सकिएन । योभन्दा ठूलो बेवास्ता र लापर्बाही अरु के हुन सक्छ रु’

उनका अनुसार डिप ट्युबेल जडान गरिएका स्थानमा रहेका कर्मचारीहरूले हालको संख्यामा रहेको बेलले नपुगे थप तीनरचारवटा डिप ट्युबेल निर्माण गरेमा पनि धरानका लागि खानेपानी प्रशस्त पुग्ने जानकारी दिएका थिए ।

कोकोहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अन्ततः पानी ल्याउन सफल देखिएका छन् । करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी मंगलबार मध्यराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्टमा झार्न सफल भएका हुन् । उनी आइतबार रातिदेखि पटनालीक्षेत्रमै पाइप जोड्न र तान्नमै व्यस्त थिए । श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि भावुक भए, रोए अनि स्वदेश र विदेशका दाता, संघसंस्था, श्रम अभियानमा संलग्नहरूलाई हार्दिक आभार व्यक्त गरेका थिए । उक्त पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने विश्वास लिएको प्रमुख राईले बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर