काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार मतान्तरले हराउँदै यादव विजयी भएका हुन्।
अन्तिम मतपरिणामअनुसार विजयी यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने पराजित जनमत पार्टीका उम्मेदवार कुशवाहालाई २३ हजार ३ सय ३४ मत प्राप्त भएको छ। विजयी यादव र निकटतम प्रतिद्वन्द्वी कुशवाहाबीचको मतान्तर ५ हजार ८ छ।
यो क्षेत्रमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल निकै ठूलो मतान्तरका साथ तेस्रो स्थानमा पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले पनि निकै कमजोर प्रदर्शन गरेका छन्। एमालेका पौडेललाई १० हजार २ सय १६ मत प्राप्त हुँदा खरेललाई २ हजार ८ सय २९ मत मात्र प्राप्त भएको छ।
आम जनता पार्टीका अरुण ज्ञवालीले पनि खरेलसँग प्रतिस्पर्धी मत पाएका छन्। आम निर्वाचनपछि स्थापित आम जनता पार्टीका ज्ञवालीलाई २ हजार ७ सय ३८ मत प्राप्त भएको छ। यो दल एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रुपमा रौतहट–३ बाट निर्वाचित पूर्व माओवादी नेता प्रभु साहले स्थापना गरेका हुन्।
जसपा नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यो निर्वाचन क्षेत्र खालि भएको हो। जसपाले कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी लगायत सत्तागठबन्धनमा आवद्ध दलहरुको सहयोगमा यो क्षेत्र सुरक्षित गर्न सफल भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको परम्परागत निर्वाचन क्षेत्र तनहुँ– १ मा भने कांग्रेस उम्मेदवार गोविन्द्र भट्टराईलाई १४ हजार बढी मतान्तरले पराजित गर्दै रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी भइसकेका छन्। चितवन २ मा सबैभन्दा फराकिलो मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शान्दार जित हात पारेका छन् ।

