वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
लैंगिक समानताको अझै अपुरो यात्रा
Prabhu Bank AD

यसपालिको अन्तर्राष्ट्रिय महिला दिवस ‘लैंगिक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइयो । नेपालमा महिलाका मुद्दा लैंगिक अधिकार, राजनीतिमा प्रतिनिधित्व, सम्पत्तिमा पहुँच लगायत विषयमा केन्द्रित छन् ।

संविधानले राज्यका निकायमा महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी विभिन्न व्यवस्था गरे पनि कार्यकारी भूमिकामा उपस्थिति अत्यन्त न्यून छ ।

राजनीतिक दलहरूका प्रमुख पदमा एक जना पनि महिला छैनन् । राजनीतिक अन्योल, अस्थिरता र दलीय दबाबका कारण संसद् र सरकारमा महिलाको एकतिहाइ प्रतिनिधित्व हुन सकेको छैन । स्थानीय तहको प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि प्रमुखभन्दा उपमै महिलाहरू सीमित छन् । उनीहरूलाई निर्णायक भूमिकामा ल्याउन अझै सकिएको छैन । विगतमा समानुपातिकबाट प्रतिनिधित्व गरेकालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा अवसर दिए मात्र महिलाको आत्मबल बढ्नुका साथै नेतृत्व क्षमतासमेत विकास हुँदै जाने हो । तर, यसो गर्नमा राजनीतिक दलहरू उदासीन छन् । समानुपातिक निर्वाचन र प्रत्यक्ष निर्वाचन प्रणाली दुवैतर्फ महिला र पुरुषमध्ये ५०–५० प्रतिशत उम्मेदवार हुने व्यवस्था गरे मात्र संवैधानिक मर्मअनुकूल महिला प्रतिनिधित्व माथिल्लो निकायमा सन्तोषजनक बन्न सक्छ । माथिल्लो तहमा प्रवेश पाएका केही महिलाबाट पनि महिला हकहितका क्षेत्रमा उल्लेख्य प्रगति हुन नसक्नु अर्को विडम्बना हो । महिला नेतृत्वको विकासका लागि सरकारले कति पनि लगानी गरेको छैन । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीबाट अधिकांश महिला वञ्चित छन् । यस्तोमा उनीहरूले समाजमा सम्मानजनक उपस्थिति देखाउन सक्दैनन् ।

सन् १९४५ मै संयुक्त राष्ट्रसंघले महिला पुरुषमा समानता कायम हुनुपर्छ भनी बडापत्र पारित गरेको थियो । महिला हिंसाबाट प्रताडितहरूलाई न्यायप्राप्तिको सहज वातावरण बन्न सकेको छैन । पीडित महिलाले न्याय नपाएर कष्टकर जीवन बिताउनुपरेका र आत्महत्या नै गर्ने गरेका घटना कैयौं छन् । नागरिकताकै सवालमा महिलाहरू स्वअस्तित्वरहित र पहिचानविहीन जीवन बाँचिरहेका छन् । तिनले आफ्नो पहिचान खुलाउन पुरुषको तीनपुस्ते नाम झुन्ड्याउनुपर्छ । आज पनि महिला भएकै कारण राज्यबाटै प्रताडित छन्, तिनले आफ्ना सन्तानलाई सहजै नागरिकता दिन सकिरहेका छैनन् । लैंगिक विभेदजन्य प्रताडना भोगिरहेका हजारौं महिलाका जीवनयापन, पारिवारिक र सामाजिक समस्या निराकरणतर्फ सरकारको गम्भीर ध्यानाकर्षण खोइ रु समाज र सस्कारसँगै सरकारले समेत महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा कहिलेसम्म उभ्याइरहने रु पछौटेपन, शोषण र उत्पीडनमा महिलाहरू कहिलेसम्म पिल्सिइरहने रु

अमेरिकाको न्युयोर्क सहरबाट मजदुर महिलाहरूले महिला हकहित र अधिकारका लागि संघर्ष गर्दै सडकमा निस्किएको दिनलाई अन्तरर्राष्ट्रिय नारी दिवसका रूपमा विश्वभरि मनाउने गरिन्छ । वास्तवमा आज पनि हामीकहाँ नेपाली मजदुर महिलाको हकअधिकार दयनीय नै छ । मजदुर महिलाहरूले एउटै प्रकृतिको काममा पनि पुरुषसरह ज्याला नपाउने अवस्था छँदैछ । खास गरी निजी क्षेत्रमा काम गर्ने महिलाहरूको हालत अझ दयनीय छ । अन्य क्षेत्रमा पनि महिला कर्मचारी वा कामदारलाई पुरुषको तुलनामा कम तलब वा ज्याला दिने प्रवृत्ति जताततै छ । यो चरम लैंगिक विभेद र महिलामाथिको अन्यायविरुद्ध न सरकार संवेदनशील छ न त सम्बन्धित निकाय नै । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने महिला कामदार सबैभन्दा बढी थिचोमिचो र लैंगिक विभेदमा छन् । सरकारी क्षेत्रको तुलनामा एकतिहाइ पनि पारिश्रमिक वा ज्याला नपाई महिलाहरू कठोर श्रम गर्न बाध्य छन् ।

 

समाजलाई बालबालिकालाई र आम नागरिकलाई मानवाधिकारका विषयमा सचेत र जागरुक बनाउने शैक्षिक संस्थाका महिला शिक्षक र आफ्नो ज्यानको परवाह नगरी नागरिकका ज्यान बचाउन दिलोज्यानले काम गर्ने स्वास्थ्य संस्थाका नर्स, डाक्टर लगायत महिला स्वास्थकर्मीको पारिश्रमिकमा लैंगिक विभेद अझ चर्को छ । नर्सहरूले न्यूनतम तलब पनि नपाएको गुनासा बेलाबखत बाहिरिने गरेका छन् । यस्तै लैंगिक विभेदकै कारण अधिकांश नर्स तथा डाक्टर विदेश जान थालेका छन्, यो लस्कर दिनप्रतिदिन बढ्दो छ । यस्तोमा आम महिलाको जीवनस्तर उकास्न र मानवाधिकार सुनिश्चित गर्न तथा ज्याला र पारिश्रमिकमा समानता कायम गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने हो ।

नारी दिवसको अवसरमा अघिल्लो कार्यकालमा सार्वजनिक बिदा दिने व्यवस्थाको सुरुआत गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले हाल पाठेघर तथा स्तन क्यान्सरको नि:शुल्क उपचारको व्यवस्था मिलाउने उद्घोष गरेका छन् । यो आम महिलाका लागि खुसीको खबर हो । तर नेपालको भौगोलिक विकटता र स्वास्थ्य सेवाको चुनौतीपूर्ण अवस्थाको गम्भीर मनन गरी देशभरिका महिलालाई ध्यानमा राखी नि:शुल्क क्यान्सरको पहिचान तथा उपचारको व्यवस्था मिलाउनुपर्छ । यसका लागि ग्रामीण र विकट क्षेत्रमा समेत सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउनुपर्छ ताकि सबै क्षेत्र र वर्गका महिलाले सहजै यो सेवा पाऊन् । सेवा दिएकै छ भनेर देशभरिका दुर्गम बस्तीका बासिन्दाले पनि नि:शुल्क उपचारका नाममा वीर अस्पताल नै धाउनुपर्ने विषम परिस्थितिको अत्य हुने गरी अब स्वास्थ्य सेवा सुधार र विस्तार गर्नुपर्छ ।

आम महिलाको जीवनस्तर उकास्न ग्रामीण तथा विपन्न महिलाहरूका कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी सीप र श्रमको उचित मूल्य पाउने व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्छ । महिला हकहित, अधिकार तथा न्याय प्राप्तिका लागि रणनीति अपनाउनुपर्नेमा सरोकारवालाले संसद् र सरकारमा महिलाको प्रतिनिधित्वलाई मात्र नारी दिवसमा जोडतोडले उठाउने गरेका छन् । अधिकांश महिलाले घरदेखि सार्वजनिक क्षेत्रसम्म लैंगिक समानताको अनुभूति गर्ने वातावारण बनिसकेको छैन । आजका नारीले मूलत: लैंगिक न्याय खोजेका छन् । परिवारदेखि राज्यसम्मको व्यवहारमा लैंगिक समानता र सम्मान खोजेका छन् । यससँगै जैविक अधिकारसमेत महिलाले खोज्नु उसको मानवाधिकारभित्रै पर्छ । जैविक संरचना हेर्ने हो भने पुरुषको तुलनामा महिलालाई थप विशेषाधिकार आवश्यक हुन्छ । विशेषत: समान व्यवहार र समान अवसरको रणनीति अँगाल्दै शिक्षा, स्वास्थ्य र रोजगारमा आम महिलाको पहुँच विस्तार गरी तिनमा चेतना र आत्मनिर्भरता बढाउन सक्नु नै लैंगिक समानताको पहिलो खुट्किलो हो ।

Prabhu Bank AD

सम्बन्धित खवर