वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
आमाको गर्भदेखि संसद्‌सम्म छोरीविरुद्ध विभेद छ : डा.चन्दा कार्की
Prabhu Bank AD

काठमार्डौं । मान्छेले तक्दिरमा विश्वास गर्दैनन् तर म विश्वास गर्छु,’ उनी भन्छिन्।

चार दशक भयो स्वास्थ्य क्षेत्रमा सक्रिय रहेको। उनी एक अब्बल डाक्टरका रुपमा परिचित छिन्। उमेरले ६० नाघिसकिन् र भर्खरै अझै मुलुकलाई दसपन्ध्र वर्ष योगदान दिने भन्दै राजनीतिमा प्रवेश गरेकी छन्। उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय सांसद छिन्।

६२ वर्षअगाडि महोत्तरी जिल्लाको मध्यमवर्गीय परिवारमा जन्मिएकी डा .कार्कीले पढ्दादेखि नै संर्घष गर्नु पर्‍यो। त्यसैले उनी जीवनलाई एउटा संघर्ष मान्छिन्।

नेपालमा पुरुषलाई भन्दा महिलालाई अघि बढ्न निकै कठिनाइ हुने उनको भोगाइ छ।

उनले महोत्तरीमै कक्षा ८ सम्म पढिन्। आमा बिरामी भइरहेपछि लामो समय उपचार गर्नुपर्ने भयो। उनी आमासँगै मामाघर काठमाडौं आइन्।

आमाको स्याहार गर्दै मामा घर बस्दा पनि उनी कोर्स बाहिरका किताब पढिरहन्थिन। त्यही देखेर मामाले उनलाई काठमाडौंमै कक्षा नौ मा भर्ना गरिदिन खोजे। भान्जीलाई भर्ना गर्न धेरै विद्यालय धाए, तर मधेशकी केटी भनेर कुनैले लिन मानेनन्।

डा.कार्कीका मामा आजित भएर पद्मकन्या स्कुलमा पुगे। त्यहाँ उनले अनेक आग्रह गर्दै भान्जीले पढ्न नसके आफैँ स्कुलबाट निकालेर लैजाने सर्तमा भर्ना गराए।

मामाले निकै कष्ट गरेर भर्ना गराएको बुझेकी उनले पढाइमा अझ मेहनत गरिन् र एसएलसीमा स्कुलबाट गोल्ड मेडल जितिन्।

आमाको प्रेरणाले डाक्टर
एसएलसीपछि के पढने उनीसँग कुनै योजना थिएन। तर आमा सधैँ बिरामी भइरहने र उपचारमा ल्याउने लग्ने सबै काम उनले नै गर्ने भएकाले डाक्टर, नर्सलाई पहिलो पटक नजिकबाट बुझ्ने मौका पाएकी थिइन।

अनि उनले अठोट लिइन्, चिकित्सा पेसामै जाने। सके डाक्टर बन्ने नसके नर्स बन्ने।

त्यो समयमा छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता थियो तर उनकी आमाले भने छोरीले झन् पढ्नु पर्छ, सक्षम हुनु पर्छ भनेर हौसला दिरहन्थिइन्।

उनी भान्छामा खाना बनाउन जान्थिन्। आमा भन्थिन्, ‘यो काम जसले पनि गर्छ अरु छोरीले गर्न नसकेको काम गरेर देखाऊ।’ आमाका हरेक शब्दले उनको मनमा छुन्थ्यो।

जब उनले आफूलाई डाक्टर बन्ने इच्छा रहेको सुनाइन्, परिवारका सबै खुसी भए। डाक्टर पढाउन सक्ने क्षमता थिएन। उनी छात्रवृत्तिका लागि तयारी गर्न थालिन् र त्यसमा सफल पनि भइन्।

नाम निकलेपछि पढ्नका लागि भारत गइन्। पढ्नका एक पैसा खर्च नभए पनि खान, बस्न र किताबकापी सबैको जोहो गर्न पर्थ्यो। त्यसका लागि बुबाले बुबाले खेतीकिसानी गरेर जम्मा गरेको पैसाबाट हरेक महिना भारु तीन सय पठाइ दिन्थे। त्यसैबाट उनले सबै खर्च पुर्याउँथिन्।

राम्रो अंक ल्याएर कोलकाताबाट सन् १९८३ मा उनले एमबीबीएस पास गरिन्।

केही वर्ष उतै काम गर्ने उनको योजना थियो। तर, आमाले बिहे गरिदिने भनेर बोलाएपछि उनले नकार्न सकिनन् र नेपाल फर्किन्।

नेपाल फर्किएपछि उनले परिवारले खोजिदिएकै केटासँग बिहे गरिन्।

१५ वर्ष सरकारी सेवा
श्रीमान पनि डाक्टर भएको र परिवार पनि बुझ्ने भएकाले उनी स्त्री रोगमा विशेषज्ञता लिन उनी पुन: बाहिर गइन् र स्त्री रोग विशेषज्ञ बनेर नेपाल फर्किन्।

त्यसपछि उनी लोकसेवा पास गरेर सरकारी सेवामा आबद्ध भइन। उनको पहिलो पोस्टिङ भोजपुर थियो। त्यो बेला भोजपुर अस्पतालमा कुनै सेवा सुविधा थिएन। जनताले उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था थियो।

उनका लागि त्यो ठूलो चुनौती बन्यो। आफ्नै पहलमा स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई चाहिने स्वास्थ्य सामग्री जुटाएर दुई वर्षसम्म त्यहाँ सेवा दिइन्।

त्यो अवधिमा उनले अन्यत्र उपचारका लागि जान नसक्ने सयौं बिरामीको ज्यान जोगाइन्। त्यसैले त अहिलेसम्म पनि उनलाई भोजपुरवासीले सम्झिरहन्छन्।

उनले भोजपुर अस्पताल, पोखरा, धरान र काठमाडौं उपत्यकाको पाटन अस्पताल गरेर १५ वर्ष स्थायी भएर काम गरिन्।

तर श्रीमान्, श्रीमती दुवै जना स्थायी अस्पतालमा काम गरेर छोर छोरी पनि पाल्न नसक्ने भएपछि डा। कार्कीले सरकारी सेवालाई त्यहीँ बिट मारिन्।

मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला
पढाउन इच्छा भएकाले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उनी सन् २००० मा आबद्ध भइन्।

उनी काठमाडौं मेडिकल कलेजको प्रोफेसर, प्रिन्सिपल, सीईओ हुँदै दुई पटक मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत भइन्।

नेपालकै इतिहासमा मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला डा . कार्की बनिन्। तर उनलाई त्यो स्थानसम्म पुग्नका लागि धेरै चुनौतीहरुको सामना गर्नु पर्‍यो।

उनी भन्छिन्, ‘महिला डाक्टरलाई अहिलेको समयमा त पुरुषको तुलनामा विश्वास र भर गरिँदैन भने त्यो बेला त निकै समस्याहरु थिए। तर म पछाडि हटिनँ। र, २१ वर्षसम्म त्यही मेडिकल कलेजमा काम गरेँ।’

सफल चिकित्सकपछि राजनीतितिर मोडिएको यात्रा
३९ वर्ष स्वास्थ्यकर्मीको रुपामा उनले हजारौंको उपचार गरिन्। तर त्यतिले मात्र उनलाई शान्ति मिलेन।

आफ्नो समाज र देशलाई अझै १०र१५ वर्षसम्म केही योगदान गर्न सकिन्छ कि भनेर उनी राजनीतिमा लाग्ने निधो गरिन्।

‘पढेलेखेका इमान्दार मानिस राजनीतिमा नजाने अनि यस्तो भयो त्यस्तो भयो भनेर कोठामा बसेर कुरा मात्र काट्ने, गाली मात्र गर्ने भन्ने लाग्यो,’ उनले भनिन्।

राजनीतिमा होइन, घरलाई बढी समय दिए हुन्थ्यो भन्ने परिवारको चाहना भए पनि उनी स्वास्थ्य, शिक्षा र सिंगो देशलाई सक्दासम्म केही योगदान गर्न सकिन्छ कि भनेर राजनीतिमा लागेको उनले सुनाइन्।

उनी भन्छिन्, ‘एउटा सफल छोरी, श्रीमती, आमा, सबैले माया गर्ने चिकित्सक त म बनेँ। मैले मेडिकल काउन्सिल र विश्व विद्यालयमा बसेर पनि योगदान गरेँ तर त्यतिले मात्र पुग्दैन। केही विधि, विधान र जनतालाई छुने खालको केही योगदान गर्न सक्छु कि भनेर म राजनीतिमा लागेको हो।’

उनको जन्मथलो महोत्तरीमा ६२ वर्षअगाडि र अहिलेमा कुनै फरक नदेखिएको डा . कार्कीको भनाइ छ।

यत्रो राजनीतिले पनि त्यो महोत्तरी, त्यो सुदूरपश्चिमलाई किन छुन सकेनरु उनी प्रश्न गर्छिन्, ‘त्यो क्षेत्रमा थोरै केही परिर्वतन भएको छ भने पनि त्यो सबै वैदेशिक रोजगारीले ल्याएको परिर्वतन हो।’

यस्तै हुटहुटीले नै उनलाई लामो समयदेखि सताइरेको थियो। उनी एक्लैले पनि केही गर्न सक्न अवस्था नभएकाले त्यही बेला नयाँ पार्टी र फरक विचारको पार्टी रास्वपा आएपछि उनी त्यसमा आबद्ध भइन्।

‘यो मेरो इमान्दार प्रयास हो। यसमा म कति सफल हुन्छु थाहा छैन, तर जनताको साथ पाएँ भने केही न केही बदलाव अवश्य आउँछ,’ उनले भनिन्।

एउटा चिकित्सकले बिरामीको सेवा गरेजस्तै राजनीति गर्ने व्यक्तिले देशको सेवा गर्नु पर्ने उनको तर्क छ। राजनीतिमा जोडिएका मान्छेले दैनिकी चलाउनलाई अरु कुनै पेसामा जोडिन र राजनीतिलाई कमाइखाने भाँडो नबनाउन उनले अनुरोध गरिन्।

संसद् पसेपछिको निराशा
प्रसूति तथा स्त्री रोगकी चिकित्सक कार्की चार महिना भयो संसद् पसेको। जुन सोच र विचार लिएर उनी राजनीतिमा लागेकी थिइन्, त्यस अनुसार काम गर्ने माहौल संसदमा नदेखिएको उनले सुनाइन्।

‘संसद् गएर म त्यति खुसी छैन। म एउटा त्यस्तो संसद् चाहन्छु, जहाँ सबै बसेर जनतालाई छुने कार्यक्रमका बारेमा रातदिन बहस होस्। त्यसबाट केही निक्र्योल निस्कनु पर्ने ठाउँ हो भन्ने सोचेर म गएको थिएँ तर त्यो छैन,’ उनले भनिन्, ‘हामी त्यहाँ पार्टीगत, व्यक्तिगत झगडामा अड्किएका छौं। हामी व्यक्ति ठूला भयौं। कार्यकर्ताले केही फाइदा पाए तर जनता जहाँको त्यहीँ छन्।’

संसदमा पुगेकाहरु सत्तामोह र व्यक्तिगत स्वार्थ केन्द्रित हुँदा जनताले राजनीतिबाट लाभ नपाएको उनी बताउँछिन्।

‘राजनीतिमा जाने मान्छेले त्यसलाई नै आफ्नो जागिर सम्झिएको जस्तो लाग्यो,’ उनले भनिन्, ‘तर हामी जनताको सेवा गर्न गएको हो। संसदमा बस्दा जनतालाई अहिलेसम्म किन यो राजनीतिले छोएनरु उनीहरुको दु:ख जहाको त्यहीँ किन रह्यो भनेर छलफल नै हुँदैन। हामी अन्य कुरामै गोलमोटल भइरहेका छौँ।’

‘मान्छेले काम चाहिँ यस्तो गर्नु पर्छ जसले राति निद्रा लागोस्,’ उनी भन्छिन्।

छोरीलाई गर्भैदेखि विभेद
परापूर्व कालदेखि आजसम्म पनि छोरीलाई गर्भदेखि नै विभेद रहेको डा. कार्की बताउँछिन्।

‘स्वानीमान्छे पनि एउटा मनुष्यको रुपमा जन्मिएको हुन्छ र त्यो पनि पुरुष सरह बराबरीको हिस्सेदार हुनु पर्ने हो तर त्यो छैन,’ उनी भन्छिन्।

आज पनि पढेलेखेका शिक्षित व्यक्तिले लिङ्ग पहिचान गरेर गर्भपतन गरिहेको उनी बताउँछिन्। यो कानुनी रुपमा नै अपराध भएको उनले बताइन्।

प्रसूति डाक्टरका रुपमा काम गर्दा पनि छोरा र छोरी पाउँदा गरिने विभेदले मन निकै अमिलो हुने गरेको उनी सुनाउँछिन्।

उनी भन्छिन्, ‘सुत्केरी हुन अस्पताल आउने परिवारले पेटमा छोरा हुँदा र छोरी हुँदा गर्ने व्यवहार नै फरक हुन्छन्। म पहिला त्यो व्यवहार छुट्याउन सक्दिनँ थिएँ तर अहिले उनीहरुको व्यवहारले छोरा छ वा छोरी छ भनेर प्रष्ट देखाउँछ।’

राजनीति गर्ने ठाउँ होस् वा संसद्, त्यहाँ पनि महिला बराबर नभएको उनी बताउँछिन्।

‘महिला किन ३३ प्रतिशत हुनु पर्‍योरु’ उनी भन्छिन्, ‘३३ प्रतिशत पुरुष भए पनि हुन्थ्यो। ३३ प्रतिशत महिलाको ठाउँमा पुरुष भइदिएको म आज समाजमा जति पनि समस्या छन् ती केही हदसम्म भए पनि कम हुन्थे।

‘जहाँ महिलाको शैक्षिक योग्यता, आयस्रोत सुध्रिँदैन त्यो देश कहिल्यै सुध्रिँदैन,’ उनले भनिन्, ‘जहाँ महिलाको विकास हुँदैन त्यो देशको विकास, परिवारको विकास कहिल्यै हुँदैन।

Prabhu Bank AD

सम्बन्धित खवर