वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
महिलालाई उपचारमा पनि विभेद
Prabhu Bank AD

काठमाडौँ । एक संस्थामा जागिर गरिरहेकी २३ वर्षीया युवतीलाई टाउको दुख्ने समस्या छ । स्कुल पढ्दाताका नै जँचाउन अस्पताल लैजाँदा चिकित्सकले दृष्टि कमजोर भएकाले चस्मा लगाउन सुझाएका थिए । सुरुका केही वर्ष चस्माले काम गर्‍यो तर उनको टाउको दुखाइ निको भएन ।

उनलाई आफन्तले काठमाडौं बोलाएर सिभिल अस्पतालमा जँचाउन लगे । टाउकाको एमआरआई गरे । चिकित्सकले माइग्रेन भएको बताए । औषधि लेखिदिए । केही समय औषधिले काम गर्‍यो ।

उनलाई स–साना भावनात्मक कुराहरूले पेच पर्थ्यो । ‘ज्यान हेर्दा बलियो देखिने तर जतिबेलै टाउको दुख्यो भन्ने भएपछि परिवारले गाली गर्न थाले, यसले झन् टाउको दुखाउन थाल्यो,’ उनले सुनाइन् । यसपछि उनलाई आफन्तले काठमाडौं बोलाएर मनोचिकित्सककामा उपचार गराउन लगे । मनोचिकित्सकका अनुसार उनी मानसिक रूपले निकै संवेदनशील भावना भएकी छन् । औषधि लेखिदिए । बेला–बेला फलोअपमा बोलाए । उनको टाउको दुखाइ पनि केही हदसम्म निको हुने गर्थ्यो तर धनकुटाको पहाडी विकट गाउँबाट काठमाडौं धाइरहन सहज हुन्नथ्यो । यत्तिकैमा पढाउन थालिन् । खानपिन नमिल्दा र अरूले रुखो बोलिदिँदा टाउको दुख्ने भइरहन्छ ।

एक दिन उनका बाआमाले मोरङ घर भएका आफन्तसँग कुराकानीका क्रममा आफ्नी छोरीको बारम्बार टाउको दुख्ने समस्या सुनाए । ती आफन्तले स्थानीय रेडियोमार्फत झापाको धुलाबारीस्थित जडीबुटी उपचार केन्द्रमा उपचार गराउँदा आफ्नो चिनजानका मान्छेहरूको व्यथा निको भएको सुनाएछन् । आफन्तमार्फत केन्द्रका वैद्यकोमा पुर्‍याए । वैद्य भनिनेले उनलाई नराम्रो छुवाइ र असहज खालको गतिविधि देखाउन थाले । ‘आफन्तको विश्वासमा परेर मलाई बुबाले पठाउनुभयो तर त्यसको चालचलन मलाई मन परेन, १६र१७ वर्षका केटीहरूको योनीमा खै के–के बिबिरा आएको हुन्छ भन्थ्यो, निको पारेको छु भन्थ्यो,’ उनले सुनाइन्, ‘मेरो टाउकाको दुखाइ हो तर त्यसले मेरो लुगाभित्र हात लान खोज्यो, छातीभित्र हात घुसार्न खोज्यो, मैले अस्वीकार गरें ।’

अनि पिनास भएको भन्दै प्लास्टिकमा कालो पदार्थ दिएर पठायो । एक हजार रुपैयाँ तिरायो । आफन्तको घरदेखि उक्त जडीबुटी केन्द्रसम्म ओहोरदोहोर गर्दा अटोमा मात्रै २५ सय रुपैयाँ खर्च भयो । अटोवालाले ती व्यक्तिले जडीबुटीबाट उपचारका नाममा केटीहरूलाई दुर्व्यवहार गर्ने गरेको सुनाएपछि उनी झन् डराइन् । उनले यो कुरा परिवारमा सुनाइन् तर बुबाले गाली गर्दै वैद्यले औषधि भनेर दिएको कालो पदार्थ खान लगाए । तर, उनले मानिनन् ।

बेलाबखत आँखाको उपचारका लागि फलोअप गरिरहन्छिन् । टाउको दुख्ने समस्या छँदै छ । यत्तिकैमा एक दिन उनका अभिभावकले अचानक विवाह गरिदिने प्रस्ताव राखे । उनले आफू अहिले विवाह गर्ने मनस्थितिमा नरहेको बताइन् तर अभिभावकले थर्काए । उनले काठमाडौं गएर राम्रो अस्पतालमा उपचार गर्ने सोच बनाएको अढाई वर्ष भइसक्यो । उपचार गर्न जान पाएकी छैनन् ।

‘मैले काठमाडौं उपचार गर्न जान्छु भन्दा बाटो टाढा छ, एक्लै छोरी मान्छे जान गाह्रो हुन्छ, पछि उता जाने साथीहरू पाएका बेला जानु भनेर बुबाले भन्नुभएको यत्रो वर्ष भइसक्यो,’ उनले भनिन्, ‘भाइले काठमाडौं जान्छु भन्यो भने उसलाई चाहिँ विराटनगरबाट जहाजको टिकटै काटेर पठाइदिनुहुन्छ ।’

बुबाले दोस्रो विवाह गरेपछि ३० वर्षीया प्राची घिमिरेका दु:खका जिन्दगी सुरु भए । उनले सात कक्षा मात्रै पढ्न पाइन् । जोरपाटीस्थित घरमा बस्न नसक्ने भइन् । उनी होटल, रेस्टुराँमा भाँडा माझ्दै जीविका चलाउन थालिन् । सोह्राखुट्टेमा साथीहरूसँग डेरामा बस्थिन् । उनीहरू मजदुरी गरेर डेरा भाडा तिर्थे । बेला–बेला घर आउजाउ गर्थिन् । घरमा बा, आमा र कान्छीआमा छन् । भाइ महांकालतिर बस्छन् ।

साथीहरू बिस्तारै आफ्नै बाटो लागे । कोही विवाह गरे । कोही विदेश गए । उनमा गत वर्ष फागुनदेखि फोक्सोको समस्या देखियो । काम गरेर खान नसक्ने भइन् । लाजिम्पाटका चिनेका दाइहरूले मानव सेवा आश्रममा खबर गरिदिए । आश्रमले बलम्बु अस्पताल लगेर उपचार गरिदियो । फोक्सोमा जमेको पानी निकालियो तर बेला–बेला दुखिरह्यो । केही समय राखेपछि आश्रमले प्राचीलाई जोरपाटीस्थित परिवारसँग पुनर्मिलन गराइदियो । ‘आश्रममा सही गर्ने बेला राख्छौं भने तर घरमा राखेनन् अनि दिदीहरूकोमा बसें, त्यताबाट यहाँ आएर बसिरहेको छु,’ रविभवनस्थित आमाको घरमा आश्रय लिइरहेकी उनले भनिन्, ‘पहिले काम गरिखान सक्ने हुँदा बरु घरमा आउजाउ हुन्थ्यो, अचेल छैन ।’

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार हरेक १० महिलामा ८ भन्दा बढी ९८३ प्रतिशत० महिलाले स्वास्थ्य सेवाको पहुँचमा कम्तीमा एउटा समस्या भोग्दै आएका छन् । स्वास्थ्य संस्थामा पर्याप्त महिला स्वास्थ्यकर्मी नहुने हुँदा ६८ प्रतिशत महिला स्वास्थ्य संस्थामा एक्लै जान चाहँदैनन् । ५ प्रतिशत महिलाले उपचारका लागि पैसा अभाव भएको, ५३ प्रतिशतले स्वास्थ्य संस्था टाढा भएको र एक तिहाइभन्दा कमले उपचारका लागि घरबाट अनुमति लिनुपर्नेजस्ता समस्या बताउने गर्छन् ।

नेपालमा स्वास्थ्य र लैंगिकतासम्बन्धी विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार गरिबी, अशिक्षा, बेरोजगारी र भौतिक सुरक्षाजस्ता स्वास्थ्य क्षेत्रभन्दा बाहिरका सामाजिक, आर्थिक र वातावरणीय कारकहरूले स्वास्थ्य उपचार सेवाको पहुँचलाई निर्धारण गरेको हुन्छ । महिला–पुरुषबीचको विभेदकारी भूमिका र असमानतालगायत सामाजिक संरचना उपचार सेवामा चुनौती बनेको छ । राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन ०७८र०७९ मा स्वास्थ्यको अधिकारसम्बन्धी समीक्षामा पनि सांस्कृतिक, लैंगिक, आर्थिक र सामाजिक व्यवधानहरूले गर्दा उपलब्ध स्वास्थ्य सेवाहरू समतामूलक रूपमा प्रवाह हुन नसकेको उल्लेख छ ।

काठमाडौंबाहिरकै जिल्लाको एक परिवारमा पत्नीलाई स्तन क्यान्सर भयो । पतिले उपचार गर्न काठमाडौं ल्याए । क्यान्सर लागेपछि उपचार गरे पनि बिरामी बाँच्दैनन् भन्ने भ्रम आममानिसमा छ । उनी पनि बाँच्लिन् भन्नेमा परिवारले आस मार्न थाले । पत्नीको उपचार हुँदाहुँदै एक गैरसरकारी संस्थामा काम गर्ने पति अरू नै महिलासँग प्रेम सम्बन्धमा जोडिए ।

‘मौसमी रुघाको क्लिनिकमा उपचार गरेजस्तो होइन क्यान्सरजस्ता दीर्घरोगहरूको उपचार, कतिपय अवस्थामा डाइग्नोसिस गर्नै पनि काठमाडौं पुग्नुपर्छ, ग्रामीण समाजमा पुरुषको ‘मोबिलिटी’ जति सजिलो छ, महिलालाई छैन,’ क्यान्सर रोग विशेषज्ञ डा.अजयकुमार झाले भने । काठमाडौंमा सरकारी क्यान्सर अस्पतालमा उपचार गर्दा दुईदेखि तीन लाख खर्च हुने उनी बताउँछन् तर उपचार गर्न ७.८ महिना काठमाडौं बस्नुपर्छ । कोठा भाडा लिएर बस्दा खर्चिलो हुने गर्छ ।

जटिल रोग लागेको खण्डमा परिवारमा पुरुषको तुलनामा महिलालाई उति धेरै वास्ता नगरिने जनस्वास्थ्यविद् डा। अरुणा उप्रेतीले बताइन् । ‘रोग लाग्दाखेरि पुरुषको उपचारका लागि घरबारी नै बेच्न तयार हुन्छन्, पोषण पुन:स्थापना केन्द्रहरू कुपोषणको उपचार गर्न ल्याइने बालकको संख्या बालिकाको तुलनामा बढी हुन्छ,’ उनले भनिन्, ‘यसको अर्थ महिलाको ज्यानै होइन, बालिकालाई कुपोषण नै लाग्दैन भन्ने होइन । धेरै छोरी छन् भने एउटी मरी भने अरु छँदै छन्, छोरो बितिहाल्यो भने वंश मासिन्छ भन्ने पुरातन सोच छ । सामाजिक संरचनाले थोपरिदिएको विभेदले यस्तो भएको हो ।’

 

Prabhu Bank AD

सम्बन्धित खवर