वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
हेर्दाहेर्दै एकादेशको कथा बनेको नेपालको पिएलएको व्यथा
Prabhu Bank AD

मिडियामा संसार चकित पार्ने चीनको विकास र प्रगतिका उदाहरणहरू देख्नेहरूले यसको कारण वा आधार खोज्दै जाँदा त्यसको केन्द्रमा जनमुक्ति सेनाको समर्पण, लगनशीलता, कठोर मेहनत जस्ता कुरासम्म पुग्छन होला । त्यस्तै उनीहरू ‘नेपालमा पनि कुनै बेला पिएलए भन्ने शक्ति अस्तित्वमा त थियो तर आज एकाएक किन र कता हरायो ?’ भनी एकछिन घोत्लिन्छन् होला ।

केही दशक मात्रै पहिलेसम्म अस्तित्व रक्षाको लागि अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा परनिर्भर हुनु परेको उत्तरी छिमेकी चीनले आज सं.रा. अमेरिकालाई आर्थिक, प्राविधिक, सैन्य लगायत हरेक दृष्टिले पछि पार्दे, संसारमै सर्वशक्तिमान देश बन्दैछ, प्रकृतिका प्रतिकुलताहरूलाई अनुकुलतामा बदल्दैछ । मात्र एक तिहाई खेतियोग्य र बसोवासयुक्त अनि बाँकी दुई तिहाई भिमकाय पर्वतीय क्षेत्र तथा मरुभूमी हुनको बाबजुत संसारमै सबैभन्दा धेरै जनसंख्यालाई स्तरीय जीवन प्रदान गर्दैछ । पर्वतीय क्षेत्रहरूलाई रोमाञ्चकारी पर्यटकीय क्षेत्रमा बदल्दै र मरुभूमिलाई पुनः हराभरा पार्दैछ ।

त्यसो त इतिहासमा केही देश वा सम्राज्यहरू पिएलए अर्थात जनमुक्ति सेना नहुँदा पनि सम्पन्नता र उन्नतिको चरम चुलीमा पुगेको देखिन्छ । सो सम्बन्धमा हाम्रा सामू मूलत तीनवटा तरिकाहरू ईतिहासमा देख्न पाईन्छः क) पहिलो हो– प्राचीन रोमी सम्राज्य लगायत पश्चिम युरोपेली देशका समुद्रपारका साम्राज्य आदि अर्को देश वा भूमिमा आफ्ना सेनाको बलमा मच्चाएको लुटपाट । ख) दोस्रो हो– हालको अमेरिका जस्तो आफू अन्तरसाम्राज्यवादी युद्धमा समेल नहुने तर सामेल हुनेहरूलाई हतियार लगायतका आवश्यक सामग्री विक्री गरी मनग्य नाफा आर्जन गर्ने । ग) र तेस्रो हो आफ्नै बलबुतामा, आफ्नै प्राकृतिक श्रोत–साधानको अधिकत्तम उपयोग लगायत समर्पणका साथ समुन्नति र सभ्यताको उचाई चुम्ने । कथित मानव अधिकार तथा लोकतन्त्रको दुहाई दिदै जत्तिसुकै आलोचना गरेपनि उपरोक्तहरू मध्य जनताको सैनिकिकरण अर्थात जनमुक्ति सेनाको निर्माणकै तरिका वा पद्दति लाई बाँकी संसारको लागि उपयुक्त हुने कुरामा दुईमत हुन सक्दैन । तर त्यही नाम गरेको संस्था चीन जस्तो देशमा सय वर्षसम्म पनि समाजको नेतृत्व दिईरहन सफल हुने तर नेपाल जस्तो अर्को समाजमा पानीको फोका हराए जस्तै हराउने कारण के होला ?
शाब्दिक रूपमा भन्नु पर्दा पिएलएको सिधा नेपाली अनुवाद हुन्छ— जन मुक्ति सेना । नेपालीमा ‘जन’को अर्थ हुन्छ— ‘जनताको’÷ अँग्रजीमा ‘पिपुल्स’ । हाम्रो सामाजिक मनोविज्ञान सामन्तवादी हुनुको कारण पनि होला– नेपालीमा ‘जनता’ भन्ने वित्तिकै नेता होइन जनता अर्थात कता कता परम्परागत राजाको प्रजा वा सामन्तको रैती जस्तै नेताको जनता भनी बुझ्ने गरिन्छ । हुन पनि, निर्वाचनको बेलामा बाहेक अन्य समयमा नेताको जीवनशैली सोचाई आदि र जनताको स्थिति बीचको आकाश–जमीनको फरक देख्दा यो सम्बन्ध ईतिहासमा सामान्त र रैति वा राजा र प्रजाको भन्दा फरक पनि देखिदैन ।
दुःखको कुरा एक्काइशौ शताब्दिको पहिलो क्रान्तिकारी नेपालको माओवादी सशस्त्र आन्दोलन पनि यो सामाजिक मनोविज्ञान भन्दा पृथक रहन सकेन । अस्तित्वमा रहेका जनमुक्ति सेना लगायत, जनसरकार, जनअदालत जस्ता सामाजिक एकाईहरू पनि नेतृत्वको सामू प्रजा वा रैतिभन्दा बढी केही रहेनन्, नेता वा नेतृत्वको चाहना वा निर्देशनमा पानीको फोका हराएजस्तै हराए पनि । न त नेतृत्वले उनीहरूलाई आफ्ना रैति वा प्रजा भन्दा बढी केही ठान्यो, न त उनीहरू स्वयंले आफैलाई । देशभित्र लगायत संसारभरीका जनताको अपेक्षाको चुचुरोबाट माओवादी सशस्त्र विद्रोह धुलिसात भएर झर्दा पनि यसको नेतृत्व हामी नेता हौं जनता त होइनौ नि भन्ने सामन्तवादी मनोविज्ञानबाट मुक्त, हुन सकेका छैनन । ‘म’ को ‘हामी’ भए जस्तै सामान्य अँग्रेजी व्याकरणको सच्चाई ‘पर्सन’को बहुबचन ‘पिपुल’ हुने भएकोले नेता वा नेतृत्व जनता भन्दा माथिल्लो वा फरक कुरा होइन, जनतामध्य एक व्यक्ति मात्रै हो भनी बुझ्नु÷बुझाउने कुराको अभावमा समाजले अपेक्षित प्रगति गर्न नसकेकोमा आश्चर्य लाग्छ ।


त्यस प्रकारको संस्कृतिबाट मुक्त भएर जनता वा पिपुल भनेको त समानता, भातृत्व वा कमरेडसिप वा सामुहिक नेतृत्व पो रहेछ । कुनै पनि निर्णय लिनुभन्दा पहिले आम जनता वा कार्यकर्ताबीचको गहन अध्ययन, चिन्तन मनन, छलफल आदिबाट मात्रै हुने पद्दतिको संस्कारको विकास हुन सकेको भए ? अर्थात त्यहाँ यो देशको मुक्ति र प्रगतिको लागि वैज्ञानिक समाजवादको लागि मरिमेटने हामी माओवादी लडाकुहरू भन्ने भाव मनमा लिईदिएको भए, के आज जन जोडिएका जन मुक्ति सेना, जन अदालत, जन सरकार यसरी पानीका फोका हराए झै हराउँदा हुन त ? कुनै बेला त्याग र बलिदानमा संसार नै कम्पायमान पार्न सक्ने नाम ‘प्रचण्ड’ले के अहिले परिवारवादको पगरी गुथेर हिँडिरहनु पथ्र्यो होला त ? शासक र शासित बीचको अन्याय–अत्याचारपूर्ण सम्बन्धको अन्त्यको लागि भएको बीसौ हजारको बलिदानपूर्ण सशस्त्र विद्रोह पनि अर्थहिन भयो नेता र जनताको अर्थ बीचको फरकको कारणले ।
त्यस्तै यहाँ अर्को शब्द ‘लिबरेसन’ वा ‘मुक्ति’ शब्दप्रति पनि मनन गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा परम्परागत वा धार्मिक मान्यता भन्छ– मुक्ति भनेको मृतुपछि मिल्ने कुरा अर्थात मोक्ष हो र जीवनलाई जस्तो छ, त्यस्तै ग्रहण वा सहन गर्नु पर्दछ । यस सम्बन्धमा एक शब्द पनि खर्चगर्नु आवश्यक छैन । त्यस्तै दोस्रो अर्थको रूपमा लिनुपर्दा अराजकता अर्थात व्यक्ति कुनै पनि सामाजिक नियम वा सम्बन्धबाट अलग वा मुक्त वा बाहिर हुनुलाई पनि मुक्ति भनी अथ्र्याएको पाईन्छ । यसको पछिल्लो उदाहरणको रूपमा नेपालको पश्चिम तराईमा भएको कमैया मुक्ति । देशैभरीका कमैयाहरू काठमाडौ आएर आन्दोलन गरे, सरकारले विना कुनै वैकल्पिक व्यवस्था घोषणाको लागि घोषणा त गरिदियो मुक्त भएका कमैयाहरूले बर्षाको झरीमा पाउँदै आएको ओत पनि गुमाए, गास पनि गुमाए, जीवन आधार पनि गुमाए ।
जँगली जनावर तथा पंक्षी आदिको लागि पिजडा खोर आदिमा कैद गर्नु गलत हो उनीहरूलाई जङ्गलमै लगेर छोडिदिनु वास्तविक अर्थमा मुक्ति हुन्छ । त्यसको ठीक विपरित मानिसले रत्याएका वा पाल्नु पशु पंक्षीहरूलाई समेत जङ्गलमा छोडिदिनु मुक्ति हुँदैन, उनीहरू एकैक्षण पनि त्यहाँ अडिन सक्दैनन, फेरी गोठमा फर्किएर आइहाल्छन । त्यस्तै मानव जीवन र मानव अस्तित्वको सम्बन्धमा यदि कुनै व्यक्ति वा समूह केही हप्ता जङ्गलमा हराउने वित्तिकै मुक्ति के रहेछ स्पष्ट हुनेछः ईतिहासमा एक पछि अर्को बन्दै आएका र बन्दै जाने सम्पुर्ण मानवीय व्यवस्था र कानुनहरू प्राकृतिक नियमहरूको दासत्वबाट मावन जातिको मुक्तिको लागि रहेछ । यस अर्थमा हामी मानवीय कानुनहरूप्रति जत्ति सक्यो सचेत रहन सक्छौ, जत्ति सक्यो सभ्य र व्यवहारिक कानुनहरू निर्माण गर्न सक्दछौ प्रकृतिको दासत्वबाट त्यत्ति नै बढी मुक्ति पाउँदै जान्छौं ।
त्यस अर्थमा, यहाँ जनमुक्ति वा जनताको मुक्तिको अर्थ प्राकृतिक विपत्ति, चुनौति वा कठिनाई वा प्रतिकुलताको लागि साधन वा गोरेटोको रूपमा थप अझ विकशित मानवीय कानुन वा व्यवस्थापन भन्ने अर्थ रहन्छ । अर्को शब्दमा पूँजीवादी समाजमा सम्पन्न व्यक्तिहरूको जीवन सहज भएपनि विपन्नहरूको जीवन निकै असहज र कठिनाईपूर्ण हुने गर्दछ । सम्पन्नको आँखा वा भोगाईबाट समाजमा जे जस्ता नियम–कानुन वा व्यवस्थापन अस्तित्वमा छन् यिनीहरू प्रयाप्त छन, स्वाश्वत छन । तर विपन्नहरूको भोगाई र आवश्यकताबाट हेर्दा न यी प्रयाप्त छन, न त जायज वा स्वाश्वत नै । त्यसैले विपन्न श्रमिक किसान तथा मजदुरहरूलाई केन्द्रमा राखेर हेर्दा समाज वा राज्यको चरित्र वा स्थितिमा ठूलो फेर बदलको आवशयकता देखिन्छ ।
यो काम सामान्य प्रयाशले संभव नहुने भएको कारण आम जनता वा जनताको एउटा प्रतिनिधि अँगलाई स्पाती र लडाकु बनाईराख्नको लागि सैन्यकरण गर्नु आवश्यक पर्ने हुँदा, जनमुक्ति सेनाको आवश्यकता र उपादेयताको सम्बन्धमा जनवादी गणतन्त्र चीनको उदाहरण तेस्रो विश्वका देशहरूले अवलम्बन गर्नु आवश्यक देखिन्छ र त्यहाँका क्रान्तिकारीहरूले त्यसैलाई माओवादी अभियान भनी आफूलाई राजनीतिमा समर्पित गर्ने गर्दछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर