काठमाडौँ । नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले ४०० विद्यार्थीहरूलाई दीक्षित गरेको छ । शनिवार हात रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले स्नातक र स्नातकोत्तर तहका हालै उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।
दीक्षान्त समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीहरू अब आत्मनिर्भर हुन सक्ने बताए । अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार गर्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो ।
‘अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार गर्नुपर्दैन । उनीहरूले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि उनीहरूलाई आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ,’ कार्यक्रममा उनले भने ।
त्यस्तै उनले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै समस्याहरूमा नै अवसर पाउन सकिने बताए । सफ्टवेरिका कलेज पनि समस्याहरूको समाधान गर्ने क्रममा स्थापना भएको उनको भनाइ थियो । साथै विदेश गएता पनि विद्यार्थीहरूलाई नेपालमा फर्केर देशका लागि योगदान गर्न उनले आग्रह गरे ।
यसैगरी कोभेन्ट्री विश्वविद्यालयका उपप्रमुख डा।रेडा अल बोडुरले दीक्षान्त समारोहको महत्व र यसपछिको यात्राबारे बताए । उनले विद्यार्थीहरूले सबै कठिनाइहरू पार गर्दै यहाँसम्म आइपुगेको तथ्यलाई उजागर गरे । ‘दीक्षान्त समारोह भनेको विद्यार्थीहरूले आफ्नो सम्पूर्ण समस्याहरूलाई पराजित गरेको प्रमाण हो । यो यात्रा अभिभावक र संरक्षकहरूको सहयोग बिना पूरा हुँदैन थियो

