साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा मालोर्कालाई हराउँदै रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो ।
रियलले मालोर्कालाई ३-० गोलअन्तरले हरायो । रियलका लागि जुड बेलिङहाम र रोड्रिगोले एक(एक गोल गरे भने एक गोल आत्मघाती भयो । सबै गोल दोस्रो हाफमा हुँदा अन्तिम दुई गोल भने इन्जुरी समयका थिए ।
६३औं मिनेटमा बेलिङहामले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा भालेन्टबाट आत्मघाती गोल भयो । इन्जुरी समयको पाँचौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको ३-० को जित पक्का गरे ।
सुपर कपको उपाधिका लागि अब क्लासिक भिडन्त हुनेछ । बार्सिलोना र रियल मड्रिडले उपाधिका लागि जनवरी १३ मा खेल्ने छन् ।

