राजविराज । सप्तरीको खडक नगरपालिका ३, गरुराहामा बिन्दी रामको घरमा गाउँकै स्थापित जमिनदारले आफ्नो जग्गामा घर निर्माण गरेको भन्दै डोजर लगाएर उठिबास पारेको छ ।
गाउँको सबैभन्दा ठूलो जमिनदार रहेको भुलाई चौधरीको छोराले बिना जानकारी प्रहरी सहितको टोली प्रयोग गरेर आफ्नो घरमा बुधबार कोही नभएको बेला डोजर लगाएर उठिबास पारेको र घरमा रहेको नगद गरगहना समेत लुटेर लगेको पीडितको भनाइ छ । तर डोजर पक्षकाले आफ्नो नम्बरी जग्गामा घर निर्माण गरेको र आफूले अदालतको फैसला अनुसार घर तोडेको बताएको छ ।
बिन्दी रामले निर्माण गरेको ४० वर्ष अगाडि त्यो ठाउँमा गाउँभरको सिनो फाल्ने सार्वजनिक खाल्डो थियो । दलित वस्तीमा जनसंख्या बढेपछि उनीहरु सय घर जति मानिसहरू त्यो फोहोर खाल्डो पुरेर दलितहरु झुपडी बनाएर बसेका थिए । छेउमा जमिनदारको थुप्रै जग्गा थियो । उतिबेला कसैलाई वास्ता भएन अहिले नगरपालिका बनेपछि जग्गाको मूल्य बढ्यो । अहिले जमिनदारले आफ्नो जमिन अपुग भएको भन्दै खोजे । खोजेपछि जमिनदारको केही जमिन खाल्डोको कारण पहिरो गएर वस्तीमा छिरेको एक स्थानीयले बताए । अदालतमा मुद्दा चलेको थियो । तारिख चलिरहेको थियो । बिना जानकारी वडा, नगरपालिका र प्रहरीलाई घुस खुवाएर डोजर लगाएको रामपुकार रामले बताए । उनले थपे, धेरै दुख गरेर विदेश खटेर घर बनाएँ तर अब त्यो घर पनि रहेन । यो देशमा गरिब दलितको न्याय छैन् । सामन्त जमिनदारकै न्याय छ । अदालत पुलिस प्रशासन पनि उनीहरुकै लठैट रहेको दुखेसो गरे ।

